सुदूरपश्चिम


बाँठपाला विद्यालय : जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

बाँठपाला विद्यालय : जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

बाँठपाला आधारभूत विद्यालय।


भूमिराज पिठातोली
पुस २८, २०७९ बिहिबार १८:४१, बझाङ

बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ। खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ। त्यसै गाउँमा अवस्थित छ - बाँठपाला आधारभूत विद्यालय। 

बाँठपाला विद्यालय ३५ वर्षअघि स्थापना भएको हो। स्थापना कालमा कखरा सिक्ने १० जनामध्ये दुई जनाले मात्रै एसएलसी पास गरे। बाँकी तीन, चार, पाँच कक्षा हुँदै छात्रा बिहेवारीतिर लागे भने छात्र मजदुरीका लागि भारततर्फ गए। परिवारको आर्थिक स्थिति कमजोरकै कारण उनीहरूले विदेशिनुपरेको थियो। घरमै बसेर जसोतसो गर्दै पढेका दुई जना छन् - वीरबहादुर सार्की र उनकै सहपाठी मोती सार्की। 

बाँठपालाका पहिलो विद्यार्थी सार्कीद्वय अहिले सरकारी सेवामा आबद्ध छन्। वीरबहादुर तलकोट गाउँपालिकाका कृषि प्राविधिकको रूपमा कार्यरत छन् भने मोती प्रावि तहमा स्थायी शिक्षक भएर ताप्लेजुङमा पढाइरहेका छन्। विद्यालयमा सुरुआती शिक्षकलाई तलबस्वरूप घरायसी अन्न दिइन्थ्यो। संस्थापक शिक्षक भिकुले सार्की थिए। पाँच कक्षासम्म अध्ययन गरेका भिकुलेकै कारण विद्यालय स्थापना भएको थियो। 

पहिलो वर्ष १० जनालाई अध्ययन गराएका भिकुलेले तीन वर्ष लगातार पढाए। पछि गाउँमा केही विवाद आएपछि विद्यालय नै दुई वर्ष सञ्चालन भएन। त्यस बखत दुर्गा भवानी मावि खौला पढ्न पठाइएका बालबालिका निकै हेपिन/कुटिन थालेपछि भिकुलेकै नेतृत्वमा बाँठपाला फेरि सञ्चालनमा आयो। 

बीस वर्षसम्म तीन कक्षासम्मै चलेको विद्यालय २०६४ सालपछि दुई कक्षा थपिएर ५ कक्षासम्म भयो। साठी वर्ष पुग्नै लागेका भिकुले दुर्गा भवानीमै अध्ययन गरेका हुन्। दलित समुदायको शून्य उपस्थिति हुने उक्त विद्यालयमा भिकुले गएसँगै गाउँबाट अन्य विद्यार्थी पढ्न गएका थिए। बाल्यकालमा पढ्न अब्बल उनी शिक्षकको प्रिय बन्दै गए। 

बाहिरबाट आएका शिक्षकबाट पढाइको महत्त्व बुझेका उनले २०४४ सालमा गाउँमै विद्यालय स्थापना गरे र एसएलसी पास गरेर उनी सोही विद्यालयको एकल शिक्षक बने। बाँठपाला विद्यालयमा २०६४ सालदेखि कक्षा ५ सम्म पढाइ हुन थालेको हो। स्थापनाकालदेखि २६ वर्षसम्म दलित समुदायका कोही पनि विद्यालय भर्ना भएनन्। विसं २०७० यता मात्र दलित समुदायका बालबालिका विद्यालय जान थालेका हुन्। 

पाँच कक्षाको पठनपाठन हुन थालेपछि विद्यालयले कार्यालय सहयोगी राख्यो। अहिलेका प्रधानाध्यापक बोटी कामी पनि २०६२ सालदेखि सो विद्यालयमा शिक्षक भएका हुन्। उनी २०७० सालदेखि प्रधानाध्यापक छन्। भिकुलेपछि भुवन सार्की, अम्बे सार्की र अहिले बोटी प्रधानाध्यापकका रूपमा काम गरिरहेका छन्। विकको सक्रियतापछि विद्यालयले मुहार फेरेको हो। 

विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन

दलित समुदायको जात जोडेर अहिले पनि फलानो टोल भन्ने चलन अन्त्य भएको छैन। हरेक ठाउँका गैरदलित समुदायले दलित समुदायलाई चिनाउन अपहेलित नाम राखेको पुस्तौँ बितिसकेको छ। त्यसैमध्येका दुई गाउँ हुन् - भक्तपुर र ललितपुर। 

गैरदलित समुदायले सहनै नसक्ने गरी विभेद गर्न थालेपछि गाउँको नामै फेर्नुपरेको स्थानीय गोरख कामी बताउँछन्। उनका अनुसार भक्तपुरका स्थानीय अगुवाले भुलवाडा (टोल) लाई ‘भक्तपुर’ र लुहारवाडाको नाम ‘ललितपुर’ राखे। नजिकै सार्की समुदायको टोल सार्कीवाडा पनि भक्तपुरमै गाभियो। ‘बाटोमा हिँड्दादेखि सबैले अनेक तरिकाले हेला गर्न थालेपछि सात/आठ वर्षअगाडि नै बस्तीको नाम फेरेका हौँ’, उनले भने। 

सामाजिक रूपमा बाध्य भएर विभेद कम गरे पनि मानसिक रूपमा भने गैरदलित समुदायको अहंकार नटुटेको कामीले बताए। ‘यहाँका कतिपय गैरदलितलाई अहिले पनि अपहेलित शब्द सामान्य नै लाग्छ’, उनी भन्छन्, ‘दलित समुदायका कसैको नाम पनि बङ्ग्याएर बोलाउने धेरै छन्। त्यस्तो सुन्दा आफूलाई लाज लाग्छ तर, भन्नेलाई केही लाग्दैन।’

यता विद्यालयले भने विभेद मुक्तिका लागि निकै फड्को मारेको छ। प्रअ कामीले भने, ‘हाम्रो विद्यालयमा आइसकेपछि विभेद भन्ने न शिक्षकलाई थाहा छ, न विद्यार्थीलाई। यहाँ पढ्ने सबै बालबालिका, कार्यालय सहयोगी, शिक्षक सबै सँगै बसेर खान्छौँ। तर, समुदायमा भने यो शिक्षा सबैको कानकानमा फुक्नुपर्ने अझै देखिन्छ।’

दुर्गा भवानी माविमा २०४३ सालमा प्रधानाध्यापकको जिम्मेवारीमा आएका थिए - सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुनबहादुर थापा। उनी त्यस विद्यालयमा आउँदा दलित समुदायको उपस्थिति शून्यजस्तै थियो। ‘नजिकैको गाउँ धेरै ठूलो तर, विद्यार्थी छँदै थिएनन्’, थापाले भने, ‘त्यस गाउँमा धेरै पटक धायौँ। सामुदायिक विद्यालयमा सबैले पढ्नुपर्छ। घर नजिकको स्कुल, मौकाको फाइदा उठाउनुस् भन्ने अभियान नै चलायौँ। त्यसपछि विद्यार्थी आउन थाले।’

थापा शिक्षा सबैका लागि हुनुपर्छ भन्ने सोच राख्थे।

उनले भने, ‘मैले सकेजति बालबालिका घरमा नरोकिउन् भन्दै विद्यालय पढाउन अभिभावकलाई आग्रह गरेँ, उहाँहरूले पनि स्वीकार्नुभयो र विद्यार्थीको सङ्ख्या बढ्दै गयो।’

उनका अनुसार आफ्नै सल्लाहमा भक्तपुरमा विद्यालय स्थापना भयो। ‘त्यस बेलामा पढाइलाई महत्त्व कसैले दिँदैनथे, हामीले हाम्रै विद्यार्थी भिकुलेलाई शिक्षक बनाउन र गाउँमा विद्यालय खोल्न सल्लाह दियौँ। शिक्षाको महत्व बुझाउँदै गयौँ। पछि विद्यालय फस्टाउँदै गएको हो’, उनले थपे। 

पालिकाकै नमुना विद्यालय 

अहिले बाँठपाला ५ कक्षासम्म सञ्चालन भइरहेको छ। सानो ठाउँमा स्थापना भएको विद्यालयमा खुला चौरको भने अभाव छ। पालिका, सङ्घसंस्था, स्थानीयको प्रत्यक्ष सहयोग भइरहेको हुँदा शैक्षिक गुणस्तर बढ्दै गएको छ। शिक्षक भरतबहादुर सार्कीले भने, ‘पालिकाभरि हाजिरीजवाफलगायतका कार्यक्रममा सहभागी भएर हरेक पटक राम्रो नतिजा ल्याउँदै आएको छ।’

विद्यालयमा सबै निकायले मिहेनत गरे पनि शिक्षकको भने अभाव छ। ‘बाल कक्षादेखि पाँचसम्म छ पिरियड हुन्छन्। पाँच शिक्षकले सबै पिरियड मुस्किलले पढाउनुपरेको छ’, उनले भने। विद्यालयको भौतिक संरचनाका लागि पनि प्रदेश र स्थानीय तहको सहयोगमा भवन निर्माण गरिएको हो। ‘विद्यालयको घेरबार प्रदेश सरकारबाट परेको थियो’, प्रधानाध्यापक बोटीले भने, ‘घेरबारको कार्यक्रम रु १५ लाख आउने भनेकामा रु पाँच लाख मात्रै आएको हुँदा विद्यालय घाटामा गएको हो।’ भौतिक संरचनाभन्दा पनि विद्यालयको शैक्षिक गुणस्तर कसरी अझै माथि उठाउन सक्छौँ भन्ने  सल्लाह गरिरहेको उनले बताए।

‘बाँठपालालाई दलित मात्रै पढ्ने भनेर बुझ्ने गरिन्थ्यो’, उनले भने, ‘तलकोट गापाबाट, विश्व खाद्य, सङ्घसंस्थाबाट सहयोग भएपछि अहिले खौलाबाट पनि विद्यार्थी आइरहनुभएको छ। बाँठपालामा एक कार्यालय सहयोगीबाहेक सबै दलित समुदायकै शिक्षक शिक्षिकाले अध्यापन गरिरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad