सुदूरपश्चिम


व्यापारिक विरासत बोकेका पिताम्बरको राजनीतिमा छलाङ मार्ने योजना

व्यापारिक विरासत बोकेका पिताम्बरको राजनीतिमा छलाङ मार्ने योजना

गोकुल जोशी
कात्तिक २९, २०७९ मंगलबार ७:२७, कञ्चनपुर

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष हुन्, पिताम्बर जोशी। चुनावले उनको दैनिकी फेरिएको छ।

उनी अचेल दिनहुँ जसो गाउँ बस्तीमा डुलिरहेका हुन्छन्। मतदातालाई आफ्नो पक्षमा पार्न उनी घरदैलोमा पुगिरहेका छन्– अरुका लागि होइन, आफ्नै लागि मत माग्न।

कञ्चनपुर क्षेत्र नं. ३ को प्रदेश सभा (१) मा स्वतन्त्र उम्मेदवार छन्, जोशी। नेपाली कांग्रेसमा क्रियाशील सदस्य उनले पार्टी परित्याग गरेर स्वतन्त्रका हैसियतले चुनावमा होमिएका हुन्।

जोशीको व्यापारिक पृष्ठभूमि निकै रोचक छ। मध्यमस्तरीय परिवारमा जन्मिएका उनी स्कुले उमेरदेखि नै बुवाले सञ्चालन गरेको पसलमा सघाउँथे। 

उनमा ‘अर्काले उत्पादन गरेका सामान बिक्री गर्नुभन्दा आफैँ उद्योगी बन्नु राम्रो’ भन्ने सोच आयो। कलेजको पढाइ सक्काएपछि आफैँले व्यापार सुरु गरे। अहिले उनका दुई वटा उद्योग छन्। 

कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरी नगरपालिका–१० शिवनगरमा अमृत डिष्टिलरी र स्नेहा हर्बल जोशी सञ्चालन गरिरहेका छन्।
ती दुई उद्योगमा तीन सय भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। पश्चिमको अन्तिम जिल्ला कञ्चनपुरबाट उनको उत्पादन पूर्वको झापासम्म फैलिएको छ।

०३६ सालमा दार्चुलाको तत्कालीन उकु गाविसको श्रीपुरमा जन्मिएका जोशीले व्यापार, व्यवसायमा हात हालेपछि पछाडि फर्केर हेर्नुपरेको छैन। उनले सरकारलाई वार्षिक ७० करोड भन्दा बढी राजस्व तिरिरहेका छन्। 

उद्योग, व्यापारको क्षेत्रमा आँटिलो र जोखिम मोल्न सक्ने छवि बनाएका जोशी कञ्चनपुर उद्योग वाणिज्य संघको १७ औं कार्यकारिणी समितिको चुनावमा अध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि उनले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। 

जोशी सानो ठाउँबाट उठेर फराकिलो मैदान बनाउने उद्योगीमा दरिन्छन्।

‘म मध्यम वर्गीय परिवारमा जन्मिएँ, दार्चुलाको जौलजिबीमा बुवाले पसल गर्नुहुन्थ्यो, त्यही पसलबाट सुरुवातमा व्यापारको गणित सिकेँ,’ उनले भने, ‘अहिले जहाँ पुगेको छु, सबै व्यापारी, व्यवसायी साथीहरुको माया र ममताको कारणले हो।’

उनले ५ कक्षासम्म आफ्नै गाउँ श्रीपुरको विद्यालयमा अध्ययन गरे। माध्यमिक शिक्षा लिन उँकुस्थित सरस्वती माध्यमिक विद्यालय पुगे। त्यहाँबाट एसएलसी सक्काएपछि उनको गन्तव्य बन्यो, जुलाघाट। जहाँ उनका दाजु जगदीशचन्द्र जोशी फोरेन गुड्सको पसल चलाउँथे।

त्यो बेला पसलमा चिनियाँ सामानहरु बढी बिक्री हुन्थे। भारतीयहरु ती सामानका मुख्य ग्राहक थिए। 

‘दाइलाई सघाउँदै पारि झुलाघाटबाट मैले इन्टरमिडियटसम्म अध्ययन गरेँ,’ जोशीले पुराना दिन सम्झँदै भने, ‘त्यसपछि पिथौरागढ पुगेर स्नातकसम्मको अध्ययन गरेँ।’

अहिले बैतडीको दशरथचन्द नगरपालिकाका चर्चित मेयर पुष्करराज जोशी (लख्खाभाइ) उनकै ‘ब्याचमेट’ हुन्। लख्खाभाइ राजनीतिमा बढी भिजे। राजनीतिक चेत जोशीमा पनि थियो तर, उनले आर्थिक रुपमा सबल हुने बाटो पहिला रोज्नुपर्छ भन्ने ठाने। 

‘भारतमा मदिरा बिक्री, वितरण ठेक्कामा हुन्थ्यो, मलाई लाग्यो, कम्बल पट्याउने, ग्राहकलाई कन्भिन्स गर्नुपर्ने फोरेन गुड्सको पसलले केही हुँदैन, मदिरा बिक्रीको लाइसेन्स लिएर व्यापार गरेमा ग्राहक लाइन लागेर आउँछन्,’ जोशीले भने, ‘त्यसपछि दार्चुला सदरमुकाम गएर मदिराको डिलर खोलेँ।’

मदिरा पसल खोल्ने निर्णयले घरमा बबन्डर नै ल्यायो। उनका बुवा जौलजिबी क्षेत्रमा बहिदारका नामले चर्चित थिए। बाहिरकाले त भन्ने नै भए–‘बहिदारको छोरा भएर रक्सी बेच्न थाल्यो।’

बुवालाई पनि छोराको निर्णय फिटिक्कै मन परेन। उनले एक दिन छोरालाई बोलाएर भने–‘बाहुनको छोरा भएर रक्सी बेच्न हुँदैन, पसल बन्द गरिदेऊ।’

त्यसपछि परिवारमा एकखालको विद्रोह नै भयो। जोशीले त्यो निर्णय मानेनन्, व्यापार बढाउँदै गए भने बुवाले छोरासँग कुराकानी गर्न बन्द गरिदिए। 

‘त्यो मेरो संर्घषको थालनी थियो। बुवाले मात्र होइन, दाजुहरुले पनि मदिराको डिलर बन्द गर्न लामो समयसम्म सुझाइरहे,’ जोशीले स्मरण गरे, ‘तर म खुरुखुरु आफ्नो व्यापारमा लागिरहेँ, अवैध व्यापार गरेको थिइन, राज्यलाई कर तिरेर वैधानिक काम गरिरहेको थिएँ।’

०६० सालमा जोशी महेन्द्रनगर झरे, बीमा अभिकर्ताको तालिम लिनका लागि। उनी महेन्द्रनगरको एउटा होटलमा बास बसिरहेका थिए। सोही होटलको अर्को कोठामा बसिरहेका थिए, एउटा मदिरा उद्योगको मार्केटिङ गर्ने मानिस।

उक्त कम्पनीले भर्खरै बजारमा ल्याएको थियो, रोयल च्यालेन्ज बियर। 

‘कुराकानीको शिलशिलामा महेन्द्रनगरमा उक्त बियरको डिलर लिने कुरा भयो, यहाँ मेरा मानिस कोही थिएनन्, मलाइ त्यो बेलासम्म न त यहाँको लोकेसन थाहा थियो, न म साइकल नै चलाउन जान्दथेँ,’ जोशीले भने, ‘मसँग ४ लाख जति रुपैयाँ थियो। त्यो सानो पुँजीबाट महेन्द्रनगरमा व्यापार अगाडि बढाएँ।’

त्यसपछि जोशीले बिस्तारै महाकाली अञ्चलका प्रायः सबै जिल्लामा व्यापार विस्तार गरे। बजारको विश्वास जित्दै गएपछि उनमा थप काम गर्नुपर्ने आँट आउन थाल्यो। अन्य ब्रान्डेड सामानको पनि डिलर लिए। १० वर्षसम्म उनले यही व्यापारमा भाग्य अजमाए।

उनलाई फेरि लाग्यो–‘परम्परागत तरिकाको व्यापार कति गर्नु? राम्रो आम्दानीसँगै अरुलाई रोजगारी प्रदान गर्ने र आफ्नो नाम रहने उद्योग गर्न पाए हुन्थ्यो।’ 

एक जना साथीले सुझाइरहेका थिए, ‘अरुको कम्पनीको मदिरा बिक्री गर्नुभन्दा आफैँ उद्योग खोल्नु राम्रो।’

उनलाई पनि त्यो कुरा जच्यो। तर लगानीको समस्या भने थियो। उनीसँग बैंकमा ४० लाख जति रुपैयाँ थियो। 

‘पाँचथरको एक जना मानिसले अमृत डिष्टिलरीको नामबाट उद्योगको लाइसेन्स लिएका थिए,’ जोशीले भने, ‘३० लाख रुपैयाँमा त्यो किनेँ र उद्योग स्थापना गरेँ।’

अहिले त्यो उद्योगले स्थानीयलाई रोजगारी दिनुको साथै राज्यलाई वार्षिक करोडौं राजस्व तिर्छ। यो उद्योगको उत्पादन देशका लगभग सबै जिल्लामा पुग्ने गरेको जोशी बताउँछन्। 

‘पुर्ख्याैली सम्पत्तिले बनेको मानिस म होइन,’ उनले भने, ‘कलिलो उमेरदेखि संघर्ष गर्दागर्दै यो चरणसम्म आएको हुँ।’

व्यापारिक विरासत बोकेर उनै जोशी यसपटक प्रदेश सभाको दौडमा छन्। 

‘आज राजनीतिक दलप्रति जनता निराश छन्, विकासका गफ मात्रै गरे, काम गरेनन्,’ उनी भन्छन्, ‘विकासले आम नागरिकको जीवनमा समृद्धि आएन, २० वर्ष अगाडि जनताको जीवनस्तर जस्तो थियो, अहिले पनि त्यस्तै छ।’

त्यसैले जनताले राजनीतिक दलको विकल्पको रुपमा स्वतन्त्रलाई रोज्नेमा उनी विश्वस्त छन्। 

राजनीतिक दलहरुप्रति जनता निराश भएकाले स्वतन्त्रको हैसियतमा उम्मेदवारी दिएर समृद्ध सुदूरपश्चिम बनाउने अभियानमा लाग्ने जोशी बताउँछन्।

‘सुदूरपश्चिमबासी र देशकै लागि काम गर्नुपर्छ भनेर राजनीतिमा लागेको हुँ। जनताले मौका दिए भने ५ वर्षमा सुदूरपश्चिमलाई समृद्ध बनाउँछु’ उनले भने, ‘युवाहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण सिर्जना गर्छु।’

रोजगारी, कृषि र उद्योगमा आधुनिकीकरण, किसानका उत्पादनलाई बजारीकरण, जडिबुटी, पर्यटन लगायतका उनका मुख्य एजेण्डा छन्।

‘प्लानिङका साथ काम गर्यो भने धेरै गर्न सकिन्छ, आज राजनीतिक दलहरुले आफ्ना कार्यकर्ताहरुलाई पाल्ने काम मात्र गरिरहेका छन्,’ उनले प्रश्न गरे, ‘नेताहरुले विकासप्रेमी नेता हुँ भनेर आफ्नै प्रचार गरिरहेका छन्, उनीहरुले गरेको विकासले कुन नागरिकको जीवनस्तरमा सुधार भयो?’

राजनीतिक दलका नेताहरु कार्यकर्ता पाल्ने काममा लाग्ने गरेको उनले आरोप लगाए। 

‘सुकुमवासी बस्तीमा लालपूर्जा छैन, उनीहरुले राज्यबाट पाउने सुविधा पाएका छैनन्,’ उनले भने, ‘राज्यले नागरिकता दिएपछि बसोबासको व्यवस्था पनि मिलाउनु पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .