ad ad

खेल


मेस्सीले विश्वकप जित्दा किन मौन छन् रोनाल्डो?

मेस्सीले विश्वकप जित्दा किन मौन छन् रोनाल्डो?

नेपालखबर
पुस ४, २०७९ सोमबार १७:४४, काठमाडौँ

आइतवार मध्यराति अहिलेसम्मकै रोचक विश्वकपको फाइलनमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले उपाधि जितेको छ। 

अत्यन्त प्रतिस्पर्धात्मक उक्त भिडन्तमा लियोनेल मेस्सीले आफ्नो कप्तानीमा ३६ वर्षपछि देशलाई विश्वकप दिलाउन सफल भए। 

मेस्सीले विश्वकप उपाधि जितिरहँदा अहिले सामाजिक सञ्जालमा उनका समकालीन प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको खोजी भइरहेको छ।

गत मंसिर २५ गते अफ्रिकन टोली मोरक्कोसँग १–० ले पराजित भएपछि रुँदै मैदान छाडेका रोनाल्डोले त्यसको भोलिपल्ट देशका लागि आफू अझै खेल्न तयार रहेको भनाइ सार्वजनिक गरेका थिए। 

तर त्यसयता रोनाल्डो मौन छन्। कतार विश्वकपमा अप्रत्यासित पराजयपछि रुँदै मैदान छाडेका उनी स्पेन पुगेर रियल मड्रिडसँग केही दिन प्रशिक्षण गरे।

रोनाल्डो र मेस्सी स्पेनमा रहँदा चिरप्रतिद्वन्द्वीको परिचय बनेको थियो। रोनाल्डो रियल मड्रिडबाट खेल्थे भने मेस्सी बार्सिलोनाबाट।

यी दुई क्लबबीच हुने एल क्लासिको रोनाल्डो र मेस्सीकै कारण विश्व चर्चित थियो। तर अहिले रोनाल्डो क्लबविहीन छन् भने मेस्सी फ्रान्सेली क्लब पीएसजीबाट खेल्छन्।

रोनाल्डोलाई मोरक्कोविरुद्धको खेलमा प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफको सुरुमा रुबेन नाभासको स्थानमा मैदान छिराएका थिए। 

पोर्चुगल १-० ले पराजित भएको उक्त खेलमा रोनाल्डोलाई बेन्चमा राखेको भन्दै सान्तोसको आलोचना भएको थियो। पोर्चुगलको पराजय र रोनाल्डोसँगको विवादपछि उनले प्रशिक्षकबाट राजीनामा दिइसकेका छन्। 

त्यसपछि उनी साउदी अरबको क्लबमा जाने चर्चा चलेको थियो। यसबीचमा आइतवार राति विश्वभरका फुटबल फ्यानले उनीसँग तुलना गर्दै आएका मेस्सीले विश्वकप जित्दै पेले र म्याराडोनाको उचाइ लिइसकेका छन्। 

मेस्सीले विश्वकप उपाधि चुमेसँगै अब उनी र रोनाल्डो को महान् भन्ने कुरा टुंगिएको विश्लेषण खेल पण्डितहरु गरिरहेका छन्। 

विश्वकप जितेसँगै मेस्सी सर्वकालीन महान् फुटबल भएको चर्चा चलिरहँदा रोनाल्डोले भने अहिलेसम्म बधाईका कुनै शब्द खर्चिएका छैनन्। 

सामाजिक सञ्जालमा विश्वकै सबैभन्दा धेरै फलोअर रहेका उनी मेस्सीले विश्वकप चुमेको एक दिन बित्न लाग्दा पनि चुपचाप छन्। 

मेस्सीलाई फ्रान्सेली क्लब पीएसजका उनका सहकर्मी एवम् ब्राजिलियन फुटबलर नेयमारले पनि बधाई दिइसकेका छन्। ब्राजिलका महान् फुटबल पेलेबाट पनि मेस्सीलाई बधाई आइसकेको छ।

तर, आफ्ना समकालीन प्रतिस्पर्धी मेस्सीले विश्वकप उचालेपछि रोनाल्डोले बधाईसमेत नदिएको भन्दै फ्यानहरुले प्रश्न गरिरहेका छन्। 

३७ वर्षीय रोनाल्डोसँग इन्स्टाग्राम, ट्वीट र फेसबुकसहित गरेर ७५० मिलियन फलोअर छन्। यी तीनै प्लाटफर्मममा उनी एक सातादेखि मौन बसेका छन्। उनले मेस्सीलाई सार्वजनिक रुपमा बधाई नदिएपछि फ्यानहरुले पनि प्रश्न उठाएका हुन्।

आठ दिनअघि एउटा फेसबुक पोस्ट लेखेका उनले त्यसपछि इन्स्टाग्राममा शारीरिक अभ्यास गरेको भिडिओ स्टोरी हालेका थिए। म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडिएपछि रोनाल्डो अहिले नयाँ क्लबको खोजीमा छन्। 

सन् २०१६ मा पोर्चुगलले फ्रान्सलाई नै पराजित गर्दै युरोकपको उपाधि चुमेको थियो। त्यसबेला आयोजक फ्रान्स नै थियो।

यस पटक अर्जेन्टिनाले फ्रान्सलाई नै हराउँदै विश्वकप जितेको छ। यसै वर्ष अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि पनि जितिसकेको छ।

फेसबुकमा रोनाल्डोको पछिल्लो पोस्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .