ad ad

खेल


यी ५ राष्ट्र जो विश्वकपको फाइनलमा पुगे तर उपाधि जितेनन्

यी ५ राष्ट्र जो विश्वकपको फाइनलमा पुगे तर उपाधि जितेनन्

नेपालखबर
पुस २, २०७९ शनिबार १२:४६, काठमाडौँ

२२औं संस्करणको विश्वकप फुटबलको उपाधि भिडन्त आइतबार राति हुँदै छ। यो उपाधिका लागि साविक विजेता फ्रान्स र पूर्व विजेता अर्जेन्टिना भिड्दै छन्।

जसले उपाधि जिते पनि तेस्रोपटक विश्वकप उपाधि जित्नेछन्। अहिलेसम्म ८ राष्ट्रले मात्रै उपाधि जितेका छन्। जसमा ब्राजिल ५, जर्मनी र इटली ४/४, फ्रान्स, अर्जेन्टिना र उरुग्वे २/२, स्पेन र इंग्ल्यान्डले समान एकपटक उपाधि जितेका छन्। 

यो पटक पनि नयाँ टोलीले उपाधि पूर्वविजेताले नै उपाधि थप्नेछ। तर यसअघि नै फाइनल पुगेर पनि यी ५ देशले भने उपाधि जित्न सकेका छैनन्। 

क्रोएसिया 

साविक विजेता क्रोएसिया जारी विश्वकपमा सेमिफाइनलमै रोकियो। यो उसको दोस्रोपटक सेमिफाइनलमै यात्रा टुंगिएको हो। यसअघि पहिलोपटक विश्वकपमा सहभागी हुँदा १९९८ मा सेमिफाइनलमा पुगेको थियो। 

तर २०१८ मा विश्वकपको फाइनलमा पुगे पनि क्रोएसिया उपाधिविहीन भयो। फ्रान्ससँग ४–२ ले हार्दा विश्वविजेतामा क्रोएसियाले आफ्नो नाम लेखाउन पाएन। ६ पटक विश्वकपमा सहभागी भएको क्रोएसियाको ठूलो उपलब्धि नै उपविजेता हो।

नेदरल्यान्ड्स  

विश्व फुटबलमा अभागी टालीको छवि बनाएको छ नेदरल्यान्ड्सले। दोस्रो र तेस्रो विश्वकपमा सहभागी भएको उसले त्यसपछि ६ वटा विश्वकपमा सहभागिता जनाउन पाएन। सुरुका दुई विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको थियो।

६ वटा विश्वकपपछि फर्किएको नेदरल्यान्ड्स १९७४ र १९७८ मा फाइनलमा पुग्यो। तर दुवैपटक उपाधिविहीन बन्नुपर्‍यो। १९७४ मा जर्मनीसँग हार्दा उपाधिबाट टाढिएको नेदरल्यान्ड्सलाई दोस्रोपटक १९७८ मा अर्जेन्टिनाले निराश बनायो। 

१९७४ को फाइनल खेलमा नेदरल्यान्ड्सले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो। तर पहिलो हाफमै जर्मनीले २ गोल गर्दै उपाधि रक्षा गर्‍यो। 

१९७८ को फाइनलमा भने नेदरल्यान्ड्स र अर्जेन्टिनाको कडा टक्कर पर्‍यो। अन्ततः नेदरल्यान्ड्स निराश बन्नुपर्‍यो। खेलको ३८औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो। ८२औं मिनेटमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो। 

त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो अतिरिक्त समयको १०५ र ११६ मिनेटमा गोल गर्दै अर्जेन्टिनाले ३–१ को जित दर्ता गर्‍यो। 

२०१० मा तेस्रोपटक फाइनलमा पुग्दा पनि नेदरल्यान्ड्सले उपाधि जित्न सकेन। पहिलोपटक फाइनलमा पुगेको स्पेनले उपाधिमा आफ्नो नाम दर्ता गर्दा नेदरल्यान्ड्स तेस्रोपटक असफल भयो। निर्धारित समय गोलरहित भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको ११६औं निटेमा आन्द्रेस एनिएस्टाले गोल गर्दै स्पेनलाई पहिलोपटक उपाधि जिताए। 

त्यसपछि २०१४ मा सेमिफाइनलमा बाहिरिएको नेदरल्यान्ड्स यसपटक क्वार्टरफाइनलबाट माथि जान सकेन। 

स्विडेन 

जारी विश्वकपमा स्विडेन छनौट नै हुन सकेन। यसअघि स्विडेनले १३ पटक विश्वकप खेलिसकेको छ। जसमा एक पटक फाइनलमा पुगेको छ। तर उपाधि भने जित्न सकेको छैन। १९३४ मा पहिलो पटक सहभागीता जनाउँदा क्वार्टरफाइनलमा पुगेको स्विडेन १९३८र १९५० मा अन्तिम ४ मा पुग्यो।

१९५८ मा पहिलो पटक फाइनलमा पुगेको थियो। तर ब्राजिलसँग पराजित भयो। स्विडेनले खेलको चौथो मिनेटमै अग्रता लिएको थियो। सुरुमा पछि परेको ब्राजिलले लगातार ४ गोल गर्‍यो। ८० औं मिनेटमा खेल ४–२ को अवस्थामा पुगेको थियो। ९० औं मिनेटमा पेलेले दोस्रो गाल गर्दै टोलीलाई ५–२ को जित दिलाए। 

यसपछि भने स्विडेन उपाधि भिडन्तमा फर्किन सकेको छैन। 

हंगेरी 

युरोपियन राष्ट्र हंगेरी पछिल्ला ९ वटा विश्वकपमा लगातार छनोट हुन सकेको छैन। तर सुरुका तीन सहभागितामै हंगेरीले २ पटक फाइनल खेलेको थियो। दुवै पटक उपाधि भने जित्न सकेन। 

१९३४ मा पहिलोपटक सहभागी भएको हंगेरी क्वार्टरफाइनलबाट बाहिरिएको थियो। दोस्रोपटक सहभागी हुँदा १९३८ मा फाइनलमा पुग्यो। इटालीले हंगेरीलाई ४–२ ले हराउँदै लगातार दोस्रोपटक उपाधि जितेको थियो। 

१९५४ मा जर्मनीसँग फाइनलमा हारेको थियो। खेलको ८ मिनेटभित्रै २–० को अग्रता लिएको हंगेरीले त्यो जोगाउन नसक्दा उपाधिविहीन बन्नुपरेको थियो। 

हंगेरीले दोहोरो गोलको अग्रता लिएको १० मिनेटमा जर्मनीले दुई गोल गर्दै खेल बराबरी गर्‍यो। ८४औं मिनेटमा तेस्रो गोल गर्दा जर्मनीले उपाधि उचाल्यो। हंगेरी भने दोस्रोपटक फाइनलमा पुगेर पनि उपाधिविहीन बन्यो। 

तर ५६ वर्षयता हंगेरीले समूहचरण पार गर्न सकेको छैन। पछिल्ला ९ विश्वकपमा त छनोट नै हुन सकेको छैन।
 
चेक रिपब्लिका  

चेक रिपब्लिकाले पछिल्ला ३२ वर्षमा जम्मा एकपटक विश्वकप खेलेको छ। २००६ पछि त एकपटक पनि सहभागी हुन सकेको छैन। १९९० पछि एकै पटक २००६ मा छनौट भएको थियो। 

तत्कालीन चेक स्लोभाकियाले दोस्रो विश्वकपमा भने फाइनलसम्मको यात्रा तय गरेको थियो। इटालीले १९३४ मा पहिलोपटक विश्वकपको उपाधि जित्दा चेक स्लोभाकिया उपविजेता बनेको थियो। इटालीसँग २–१ ले पराजित हुँदा विश्वकप जित्ने सहपना त पूरा भएन त्यसपछि पनि फाइनलमा ऊ हारेको छ। 

१९६२ मा दोस्रोपटक फाइनलमा पुगेको थियो। तर त्यसपटक ब्राजिल उसको विश्वविजेता बन्ने सपनामा बाधक बन्यो। दुवैपटक फाइनलमा चेक रिपब्लिकले अग्रता लिएको थियो। पहिलो पटक अतिरिक्त समयमा इटालीले पछि पार्‍यो। 

दोस्रोपटक फाइनलमा पुग्दा खेलको १५औं मिनेटमा अग्रता लिएको चेकले दुई मिनेट पनि अग्रता जोगाउन सकेन। त्यसपछि ब्राजिलले ३ गोल गर्दै ३–१ ले उपाधि जित्यो। त्यही ब्राजिल अहिले सर्वाधिक विजेता बन्दा चेक भने छनोट हुनै सकसमा छ। अहिलेसम्म चेकले ९ पटक विश्वकप खेलेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .