ad ad

खेल


डेभिसको फुटबल यात्रा : शरणार्थी शिविरदेखि कतार विश्वकपसम्म

डेभिसको फुटबल यात्रा : शरणार्थी शिविरदेखि कतार विश्वकपसम्म

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १४:४९, काठमाडौँ

कतार विश्वकपका लागि क्यानडाको टोलीमा परेपछि बार्यन म्युनिखका डिफेन्डर अल्फोन्सो डेभिसले ट्वीटरमा पोस्ट गर्दै भने, ‘कसैलाई नभन्नुस् कि तपाईंको सपना वास्तविक छैन भनेर। शरणार्थी शिविरमा जन्मेको बच्चाको यो भाग्य त थिएन तर हामी विश्वकपमा जाँदै छौँ।’

डेभिस चोटका बाबजुद पनि विश्वकप खेल्ने क्यानडाको टोलीमा परेका हुन्। बार्यनमा डिफेन्डरको पोजिसनमा खेल्दै आएका डेभिस राष्ट्रिय टोलीमा भने फरवार्डको भूमिका निभाउँछन्। 

२२ वर्षीय डेभिसको जन्म अफ्रिकाको शरणार्थी शिविर बुडुबुरममा भएको थियो। दोस्रो लाइबेरियन गृहयुद्धको समयमा उनका आमाबाबु त्यहाँबाट भागेका थिए। त्यो गृहयुद्धले ४ लाख ५० हजार मानिसलाई त्यहाँबाट विस्थापित गरेको थियो। 

लाइबेरियाको युद्धबाट भागेर घानामा शरणार्थी बन्ने आमाबाबुको निर्णयले बन्दुकको त्रास र लडाइँबाट जोगिएर डेभिस फुटबलमा फक्रिरहेका छन्।

उनले परिवार क्यानडामा पुर्नस्थापित हुनुअघि आफ्नो पाँच वर्ष घानामा बिताए। 

डेभिस राष्ट्रसंघको शरणार्थी आयोग यूएनएचसीआरका लागि राजदूत बन्ने पहिलो फुटबलर हुन्। 

डेभिसले आफ्नो बाल्यकाल सम्झिँदै भने, ‘मेरो आमा बुवाले मलाई लाइबेरियामा चलिरहेको युद्धबारे भन्नुभयो। त्यो बेला दुईवटा मात्रै विकल्प थियो, एउटा युद्धको हिस्सा बन्ने वा बाहिर निस्किने।’

उनले आफ्नो बाल्यकाल सम्झिँदै भने, ‘मेरो आमाबुबाको बन्दुक बोक्ने र चलाउने कुनै मनसाय थिएन। म उनीहरु युद्धको त्रासबाट बाहिर निस्किने प्रयासप्रति खुसी छु।’

डेभिस घानाको शिविरमा पानी र खाना खोज्न गर्नुपरेको संघर्ष चाहेर पनि बिर्सिन सक्दैनन्। 

त्यो कठिन बाटो थियो र अचम्म पनि कि उनीहरुलाई पुनर्वास कार्यक्रमको लागि स्वीकार गरियो। त्यसबेला लामो दुःख झेलेका उनीहरुको मुहारमा मुस्कान झल्किएको थियो। 

डेभिसले बाल्यकालमा मात्र होइन, एक फुटबल खेलाडी भइसक्दा पनि चुनौतीका ठूला चाङको सामना गर्नुपर्‍यो। उनले फुटबल खेलाडीकै रुपमा पनि रंगभेदको सामना गरेको लामो समय भएको छैन।

‘सेतो रंगको नभएकै कारण पनि स्थायित्व पाउनु निकै गाह्रो छ’, उनी भन्छन्, ‘यहाँ यस्तो कुराबारे सचेतना ल्याउनु जरुरी छ किनकी यहाँ केही मानिसहरु यस्ता छन् जसलाई यसबारे चासो नै छैन। उनीहरु आफूलाई जे मन लाग्यो त्यो भन्छन्। हामी त्यस्ता मानिसहरुको आँखा खोल्दै उनीहरुमा परिवर्तन ल्याउने प्रयास गरिरहेका छौं। जसको कारण उनीहरुले मान्छेलाई उनीहरु कहाँबाट आए र रंग कस्तो छ भन्ने कुराको मतलब नराखी मान्छेकै रुपमा व्यवहार गर्न सकून्।’

डेभिसले यसअघि नै  क्यानडा सरकारले अघि सारेको  शरणार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा सहयोग गरिसकेका छन्। साथै उनी आफू पाँच वर्ष बसेको शिविरको पनि भ्रमण गर्न चाहन्छन्। 

डेभिसले आफू कहाँबाट आएको हो भनेर कहिल्यै बिर्सन नहुने बताउँछन्। उनले थपे, ‘म कहाँबाट आएको हुँ भनेर कहिल्यै बिर्सने छैन किनकि म मेरो कथाले अन्य शरणार्थीलाई आशा र उत्साह दिन चाहन्छु।’

फुटबल यात्रा
डेभिस पाँच वर्षको हुँदा उनको परिवार क्यानाडाको विन्डसर शहरमा सर्यो र पछि एडमन्टनमा बसोबास गर्न थाल्यो। त्यो समय सम्झिँदै भन्छन्, ‘यो परिवारको लागि कठिन समय थियो। म खुसी पनि छु कि मेरा अभिभावक क्यानाडा जस्तो राम्रो देशमा आए, जहाँ हामी केही राम्रो गर्न सक्छौं।’

डेभिस जब मैदानमा निस्कन्छन्, परिवारलाई सम्झन्छन् र परिवारकै लागि खेल्छन्। डेभिसले आफ्नो शहरका स्थानीय क्लबहरू (एडमन्टन इन्टरनेजियोनाले, एडमन्टन स्ट्राइकर्स, सेन्ट निकोलस सकर एकेडेमी र एफसी एडमन्टन एकेडेमी) बाट आफ्नो करियर सुरु गरे।

परीक्षा दिएर ६ जुन २०१७ मा आफ्नो क्यानेडियन नागरिकता प्राप्त गर्नुअघि डेभिडले १३ वर्ष उनले पर्खनु परेको थियो। नागरिकताको लागि परीक्षा दिन जाँदा उनी निकै हतास थिए। उक्त परीक्षामा उनले एउटा मात्र प्रश्नको उत्तर दिन सकेनन्। 

‘मैले आमालाई फोन गरेँ र उहाँले तिम्रो कारण आज म निकै खुसी छु भन्नुभयो’, डेभिसले भने। त्यसपछिका दिन भने उनको लागि निकै उत्साहप्रद रहन थाल्यो। उनी अहिले आधिकारिकरुपमा क्यानडाका नागरिक भइसकेका छन्। 

‘अर्को फोन क्यानडाको राष्ट्रिय टोलीका प्रशिक्षकको थियो’, डेभिसले सुनाए। प्रशिक्षकले उनल उनलाई टोलीको हिस्सा बन्न आग्रह गरे।  त्यो दिन उनको मानसपटलमा अझै पनि ताजै छ र अहिले नै हो जस्तो लाग्छ। 

डेभिस सन् २०१६ मा उत्तरी अमेरिकाको सबैभन्दा ठूलो लिग मेजर लिग सकर (एमएलएस) मा व्यावसायिक टोली भ्यानकुभर ह्वाइटक्याप्स एफसीमा सामेल भए। 

उनले उक्त लिगमा २१ औँ शताब्दीमा जन्मिएर उक्त लिग खेल्ने पहिलो खेलाडीको रुपमा इतिहास रचे।

उक्त लिग खेल्दा डेभिस १५ वर्ष ८ महिना र १५ दिनको दिनका थिए। त्यसपछि उनी जून २०१७ मा क्यानाडाली पुरुष राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा कान्छो फुटबलर बने।

२०१७ मा नै कन्काकाफ गोल्डकप(उत्तर अमेरिका, मध्य अमेरिका र क्यारिबियनका राष्ट्रिय टोलीको लागि एक प्रमुख प्रतिस्पर्धा) मा फ्रान्सेली गुयानाविरुद्ध दुई गोल गर्दा उनी क्यानडाका लागि सबैभन्दा कान्छो पुरुष गोलकर्ता बने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .