ad ad

खेल


कतार विश्वकपमा के के हुँदै छ नयाँ प्रयोग?

कतार विश्वकपमा के के हुँदै छ नयाँ प्रयोग?

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार ११:५६, काठमाडौँ

कतारमा मंसिर ४ गतेदेखि विश्व फुटबलको महाकुम्भ सुरु हुँदै छ। पहिलोपटक खाडी क्षेत्रमा हुन लागेको विश्वकपमा केही नयाँ प्रविधिको प्रयोग हुनेछ।

विश्व फुटबलको नियामक निकाय फिफाले कतारलाई १२ वर्षअघि विश्वकप आयोजनाको अनुमति दिने घोषणा गरेको थियो। त्यहीबेलादेखि कतारले विश्वकप तयारी थालेको हो। 

३२ मुलुक सहभागी हुने यो प्रतियोगिताका लागि विश्वभरका करिब १२ लाख मानिस कतार पुग्ने अपेक्षा गरिएको छ।

खाडी मुलुकमा हुन लागेको यो प्रतियोगितामा कतारले प्रविधिका अनेक नयाँ प्रयोग गर्दैछ। ४० डिग्री आसपासको गर्मीमाझ विश्वकप खेलाइने सबै रंगशालालाई खेल्न उचित तापक्रम युक्त बनाइँदै छ। यस्ता अनेक प्रयोग कतारले गर्न लाग्दै छ। 

कतार विश्वकपमा के के नयाँ प्रयोग हुँदै छन् त?

१. अफसाइट प्रविधि 
गत जुलाईमा फिफाले अर्धस्वचालित अफसाइट प्रणाली विश्वकप फुटबलमा नयाँ प्रयोगको घोषणा गरेको थियो। यसबाट अफसाइट छिटो र एकिन गर्न सकिन्छ।

फिफाको नियमअनुसार कुनै पनि खेलाडी अफसाइट हुन पहिला ऊ हाफ लाइनभन्दा अघि विपक्षीको क्षेत्रमा पुगेको हुनुपर्छ।

त्यसका साथै गोल लाइनबाट दोस्रो विपक्षी खेलाडी र बलभन्दा नजिक पुगेको अवस्थामा खेलाडी अफसाइट हुने नियम छ।

नयाँ प्रविधिले बल र ट्र्याकिङ क्यामेरा प्रयोग गरी खेलाडी अफसाइट भए-नभएको पत्ता लगाउन सक्छ। दर्शकले रेफ्रीको निर्णय राम्रोसँग बुझ्न सकुन् भनेर स्टेडियमको स्क्रिनमा थ्रीडी तस्बिर देखाइनेछ। 

२. सब्स्टिच्युसन 
यसपटकको विश्वकपमा एक खेलमा पाँच खेलाडी सब्स्टिच्युट गर्न पाइन्छ। सन् २०१८ को रुस विश्वकपमा केवल तीन खेलाडी मात्रै सब्स्टिच्युट गर्न पाउने नियम थियो। 

यो नियम सन् २०२० मा अन्तर्राष्ट्रिय फुटबल महासंघ बोर्डले बनाएको हो। यदि विश्वकपको कुनै पनि खेल अतिरिक्त समयतर्फ धकेलिन्छ भने अर्को एक खेलाडी पनि सब्स्टिच्युट गर्न पाइन्छ। स्पेनिस ला लिगा र अमेरिकाका प्रमुख फुटबल लिगले पनि पछिल्लो दुई वर्षमा यो नियम लागू गर्दै आएका छन्। 

३. समय 
यसपटक विश्वकप प्रतियोगिता पहिलोपटक नोभेम्बर र डिसेम्बरमा हुँदैछ। यसअघि विश्वकप सधैँजसो उत्तरी गोलार्द्धको गर्मीयाममा हुँदै आएको थियो।

विशेषगरी जुन र जुलाई महिनामा यो प्रतियोगिता हुँदै आएको थियो। कतारमा अत्यधिक गर्मीबाट बच्न जाडोयाममा यो प्रतियोगिता आयोजना हुन लागेको हो।

गर्मीयाममा कतारको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। जाडो मौसममा आयोजना गर्दा पनि कतारको तापक्रम १४ देखि ३१ डिग्री सेल्सियसबीच रहने अनुमान छ। 

४. स्क्वाड सूची 
यो विश्वकपको लागि आफ्नो टोली घोषणा गर्ने मुलुकले अधिकतम २६ जनालाई समावेश गर्न सक्छ। यसअघिको विश्वकपमा बढीमा २३ जनाको टोली घोषणा गर्न सकिन्थ्यो।

फिफाले यो परिवर्तन परिस्थितिलाई मध्यनजर गर्दै गरिएको जनाएको छ। फिफाले कोभिड–१९ महामारीका कारण खेल क्षेत्र प्रभावित बनेपछिको प्रतियोगिता भएकाले पनि त्यसलाई ध्यानमा राखिएको जनाएको छ।

यसअघि विश्वकपको प्रारम्भिक टोलीमा पनि ३५ को सट्टामा ५५ जनासम्मलाई समावेश गर्न सकिने नियम ल्याइएको थियो। 

५. महिला रेफ्री 
यसपटकको विश्वकपमा तीन महिला रेफ्री पनि सहभागी हुनेछन्। फिफाले छानेका ३६ रेफ्रीमा तीनजना महिला परेका छन्। जसमध्ये एकजन फ्रान्सकी, एकजना जापानकी र अर्की एक रेफ्री रुवान्डाकी छिन्। त्यस्तै ६९ जना सहायक रेफ्रीमा पनि तीनजना महिला छन्। 

६. सानो ठाउँ 
कतार विश्वकप आयोजना गर्ने सबैभन्दा सानो मुलुक हो। ११ हजार ५ सय वर्ग किलोमिटर र करिब २९ लाख जनसंख्या भएको यो मुलुकले फिफाको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो। 

यसपटकको विश्वकप फरक आठ स्टेडियममा हुनेछ। यी स्टेडियमहरु कतारको राजधानी सहर दोहाबाट ५० किलोमिटर वरपर छन्। समूह चरणमा धेरैजसो बढीमा चार खेलसम्म हुनेछन्। 

कतार र फिफाका अधिकारीले भने विश्वकप प्रतियोगिता दोहाबाट नजिकै हुने भएकाले मानिसहरुले एकैदिन एकभन्दा धेरै खेल पाउने विश्वास व्यक्त गरेका छन्।

तर, १२ लाखभन्दा धेरै मानिसको भिडले कतारको सडकमा थेगिनसक्नुको भीड हुने आशंका छ। त्यसले मानिसहरुलाई कतार भ्रमणमा समस्या हुन सक्ने आशंका व्यक्त गरेका छन्। 

भीडलाई मध्यनजर गर्दै कतारले विश्वकप अवधिभर विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यस्तै सरकारी र गैरसरकारी कार्यालय समय पनि घटाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .