खेल


सागको खर्च सार्वजनिक गर्न किन चुके सिलवाल? ब्याडमिन्टनमा अनियमितता गर्नेलाई होला कारबाही?

सागको खर्च सार्वजनिक गर्न किन चुके सिलवाल? ब्याडमिन्टनमा अनियमितता गर्नेलाई होला कारबाही?

लक्ष्मी जि.सी
असोज ३०, २०७७ शुक्रबार ७:२६,

नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेको १० महिना बितिसकेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले साग सकिएको ९० दिनभित्र साग आयोजनासम्बन्धी सम्पूर्ण हिसाब सार्वजनिक गर्ने घाेषणा गरेका थिए। तर आफ्नै वाचा पुरा गर्न भने उनी चुकिसकेका छन्।

सागअन्तर्गतकै एउटा खेल ब्याडमिन्टनका सामान खरिदमा अनियमितता भएको प्रतिवेदन समेत अहिले सिलवालकै टेबलमा पुगेको छ।

आफ्नै वाचाअनुसार खर्च सार्वजनिक गर्न नसकेका सदस्यसचिव यो बीचमा पदमुक्त भएर दोस्रो पटक सोही पदमा बहाली भइसकेका छन्।

खर्च सार्वजनिक गर्ने प्रतिबद्धता पूरा नगरेका सिलवालले ब्याडमिन्टनको सामान खरिदमा दोषी पाइएकाहरुमाथि कारबाही गर्छन् कि गर्दैनन् भन्ने गम्भीर प्रश्न उठेको छ।

राखेप बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा रहेको समितिले झन्डै डेढ महिना लगाएर अध्ययन गरी असोज २० गते राखेप सदस्यसचिव सिलवाल र उपाध्यक्ष शिव कोइरालालाई प्रतिवेदन बुझाएको थियो।

राखेपले प्रतिवेदन सार्वजनिक नगरेपछि सामान खरिदमा ठूलाे अनियमितता भएकै कारण ती गतिबिधि गाेप्य राख्न खाेजिएकाे आशङ्कामा बल पुगेकाे बताइएकाे छ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले ब्याडमिन्टनको सामान खरिदमा अनियमितता भएको गुनासोलाई आधार मानेर राखेपलाई छानबिनका लागि निर्देशन दिएका थिए।

नेपाल ब्याडमिन्टन संघकै उपाध्यक्ष समेत रहेका राखेप सदस्य सुवास श्रेष्ठले नै सागको सामान खरिदमा अनियमितता भएको आरोप लगाएका थिए। त्यसपछि मन्त्री विश्वकर्माको निर्देशनअनुसार छानबिन समिति बनाउन राखेप बाध्य भएको थियो।

RameshSilwal Badmintonराखेप बोर्ड सदस्य गोविन्द भट्टराईलाई छानविन समितिको संयोजक तोकेको पत्र बुझाउँदै सिलवाल (बायाँ)।

१३औ सागका २६ मध्ये ब्याडमिन्टनसहित ८ खेल पोखरामा, कुस्ती जनकपुर र बाँकी खेल काठमाडौं र ललितपुरमा गरिएका थिए।

सागमा प्रतिस्पर्धा गरेका नेपाली ब्याडमिन्टन खेलाडीले सागका लागि ल्याइएका जुत्ता अझै प्राप्त नगरेको भन्दै राखेपमै उजुरी दिएका थिए। त्यसकारण पनि छानबिन समिति बनाउन राखेपमाथि थप दबाब परेको थियो। सागमा नेपालका १० महिला र १० पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा नेपालले पाँच कास्य पदक जितेको थियो।

राखेप सदस्य भट्टराईको संयोजकत्वमा रहेको समितिले २३ जनासँग बयान लिएको जनाएको छ। बिभिन्न व्यक्तिसँगकाे बयान तथा स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार गरेको समितिले ४२ पृष्ठको प्रतिवेदन राखेप सदस्यसचिव सिलवाललाई बुझाएको थियो।

‘ब्याडमिन्टनसँग जोडिएका विभिन्न व्यक्ति, राखेप कर्मचारीलगायत २३ जनासँग बयान लियौं। पाँच जनासँग दोहोर्‍याएर पनि बयान लियौँ,’ छानविन समितिका संयोजक भट्टराईले भने, ‘संघका पदाधिकारीसँग पनि बयान लिएका छौं। खेलाडीले सामग्री नपाएको साँचो हो। प्रतियोगिताको समयमा खेलाडीले जुत्ता नपाएकै हुन्।’

केही सामान कम गुणस्तरको भएको पाइएको र केही सामान पोखरा पुग्दै नपुगेको उनले बताए।

राखेप कार्यकारी समितिका सचिव कुलबहादुर थापाले प्रतिवेदनको सिफारिसको आधारमा कारबाही हुने बताए।

प्रशासन विभागका प्रमुख समेत रहेका थापाले आफूले प्रतिवेदन भने नहेरेको बताए। प्रतिवेदनले दोषी देखाएका व्यक्तिलाई कारबाही हुनुपर्ने उनको भनाइ छ।

सागमा ब्याडमिन्टनका लागि करिब ५२ लाख रुपैयाँभन्दा बढी खर्च भएको देखाइएको छ।

सामान स्टोरबाट लगियो, तर पाएनन् खेलाडीले
स्टोरबाट सामान बाहिर लाने सबै प्रक्रिया पुरा गरेको भएपनि १०–११ लाख रुपैयाँको सामान नै सम्बन्धित ठाउँमा नपुगेको प्रतिवेदनमा उल्लेख छ।

स्रोतका अनुसार प्रतियोगिताका लाागि खरिद गरिएको म्याट पनि कम गुणस्तरको भएको छानविनका क्रममा पाइएको छ। छानविन समितिको प्रतिवदेनमा भनिएको छ, ‘खरिद भएका सामानको गुणस्तरमा ध्यान दिइएको छैन।’

समितिले अनियमितता भएको सामग्रीको मूल्य बराबरको रकम सम्बन्धित व्यक्तिहरुसँग असुल्नुपर्ने सिफारिस प्रतिवेदनमा गरेको छ।

अनियमिततामा राखेपका कर्मचारीकै संग्लग्नता रहेको पाइएको उल्लेख गर्दै समितिले भनेको छ, ‘संघ र राखेपबीच पनि समन्वयको अभाव देखियो।’

समितिकै एक सदस्यले कर्मचारी र संघका पदाधिकारीले व्यक्तिगत लाभका लागि काम गरेको प्रमाण प्राप्त भएकोले त्यसलाई आधार मान्दै कारबाहीका लागि सिफारिस गरिएको बताए।

‘हुलमुलमा जे गरेपनि हुन्छ भन्ने सोँचको परिणाम खेलाडीहरुले सामान पाएका छैनन् भने गुणस्तरहिन सामग्री खरिद गरिएको छ। राखेपका तत्कालीन अधिकृत समेत रहेका ब्याडमिन्टन संघका पूर्व–सहमहासचिव लवभक्त श्रेष्ठजीको पनि संग्लग्नता देखिएको छ,’ ती सदस्यले भने, ‘कागजीरुपमा उहाँको उपस्थिति देखिँदैन, तर छानविनका क्रममा भएको सोधपुछमा बयान लिदाँ उहाँको पनि कमजोरी देखिएको छ।’

समितिले आफ्नो काम टुङ्गाएको र अबको कारबाही प्रक्रिया अघि बढाउने जिम्मेवारी सदस्यसचिवको भएको समितिका ती सदस्य बताउँछन्।

उनले भने, समितिले खेलकुदमन्त्री र राखेप उपाध्यक्षलाई प्रतिवेदनको बोधार्थ दिएको छ। अब सदस्यसचिवले के गर्नुहुन्छ त्यो हेर्न बाँकी छ।’

मंसिर १५ देखि २४ सम्म नेपालमा आयोजना भएको १३औं सागमा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित २ सय ७ पदक जितेको थियो।

३६ वर्षे साग इतिहासमा नेपाल दोस्रो पटक पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो।

यसअघि सन् १९९९ मा काठमाडौंमै आयोजना भएको आठौं सागमा पनि नेपालले ३१ स्वर्ण पदकसहित पदक तालिकामा दोस्रो स्थान प्राप्त गरेको थियो।

छोटो समयकै तयारीमा सागको आयोजना गरेर ऐतिहासिक सफलता दिलाएकोमा त्यसको जस पाएका सदस्यसचिव सिलवाल अनियमितता गर्नेहरुमाथि कारबाही गर्न कति गम्भीर हुन्छन् भनी धेरैले चासोपूर्वक हेरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .