ad ad

खेल


त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घुँडा–घुँडा घाँस

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घुँडा–घुँडा घाँस

प्रविन कोइराला
साउन १७, २०७६ शुक्रबार १०:५६,

अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना गर्ने मैदान भन्नासाथ सबैको दिमागमा आउँछ, चिटिक्क काँटछाँट गरिएको घाँससहितको गोलाकार आकार संरचाना, बीचमा सलक्क परेका पीच, बाहिर दर्शक बस्ने प्याराफिट।

तर नेपालको एक मात्रै अन्तर्राष्ट्रिय खेल आयोजना गर्न मिल्ने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवस्था अहिले योभन्दा ठिक उल्टो भएको छ। पिचको कुनै हेरचाह छैन। मैदानभरि घुँडाघुँडा घाँस छ। बाहिर दर्शक बस्ने ठाउँ झाडी बनेको छ। अहिले त्रिवि मैदानमा आँखा लगाउने कसैले पनि एकदिवसीय (ओडिआई)मान्यता पाएको देशको क्रिकेट रंगशाला भनेर पत्याउँने अवस्था छैन। 

tu 2बेरुप त्रिवि मैदान (तस्बिर: प्रविन कोइराला)

 पछिल्लोपटक २०७६ जेठमा यसै मैदानमा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता भएको थियो। त्यस लगत्तै राष्ट्रिय टोलीको विश्व टी–२० एसिया छनौटको बन्द प्रशिक्षण भयो। त्यसपछि भने पुरानो घाँस काट्ने मेसिन बिग्रियो। पानी तान्ने पम्प समेत बिग्रियो। सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि चासो नदिएकाले मैदानको यो अवस्था भएको ग्राउण्ड इन्चार्ज मधु तामाङ बताउँछन्।

भिडियो:

‘घाँस काट्ने, पानी तान्ने मेसिन छैन। पीचमा पानी पनि हाल्न पाएको छैन। कसलाई भन्न जाने, के भन्ने जस्तो भएको छ,’ तामाङले नेपालखबरसँग भने, ‘नयाँ मेसिन राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले दुईचार दिनमा ल्याइदिन्छु भनेको थियो। तर अहिलेसम्म ल्याएको छैन। कतिपय मेसिनहरु बिग्रेर बन्न सक्ने अवस्थामा छन्। त्यो मेसिन कसले बनाइदिने? बनाएको पैसा कसले दिने? केही छैन्।’

गत शनिबार (साउन ११) राखेपका नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले कीर्तिपुर मैदानका नीरिक्षण गरेका थिए। सिलवालले पभेलियन, पिच, प्याराफिट, भीआईपी कक्ष, प्रेस कक्षलगायतका विषयमा जानकारी लिँदै समस्या लिखित रुपमा पेश भए आफूले तिनलाइ सम्बोधन गर्ने जनाएका थिए।

tu 3

राखेपमा क्रिकेट हेर्ने जिम्मेवारी पाएका शैलेश कर्माचार्य आफूहरुले आवश्यक सामाग्रीहरुको सूचि बनाएर लिखित रुपमा बुझाइसकेको र त्यो प्रक्रियामा रहेको बताउँछन्।

‘हामीले आवश्यक सामाग्रीहरुको लिस्टहरु पेश गरिसक्यौं। मेसिनहरु, इन्डोरको कार्पेटहरु, जिम हल मेन्टेनेन्स तथा रोलरहरु गरी झण्डै ४० लाखको सामाग्रीहरु तत्काल आवश्यक पर्ने देखिन्छ,’ उनले नेपालखबरसँग भने, ‘सदस्यसचिव क्रिकेट बुझेको मान्छे भएकाले तत्काल प्रक्रिया अघि बढाउँनोस् भन्नुभएको छ। प्रक्रियाबाट ल्याउँदा १०–१५ दिन लाग्ला।’

राखेपले बेलाबेलामा यो मैदानमा निजी क्षेत्रलाई खेलहरु आयोजना गर्न भाडामा दिन्छ। त्यस बापत दिनको २५ हजार असुल्छ तर बजेट अभावकै कारण नियमित मर्मतसम्भारमा हुन नसकेको कर्माचार्य बताउँछन्।

tu 4

‘निजी क्षेत्रबाट आएको पैसाले बलिङ मेसिन, ग्रास कटर लगायतका इक्युम्पमेन्टहरु किनेका थियौं तर त्यसले मात्रै ग्राउण्ड मेन्टेनेन्स नपुग्ने भयो,’ राखेपका कोषाध्यक्ष समेत रहेका कर्माचार्यले भने, ‘मैले र जगत (टमटा) ले तारम्तार ताकेता गरिरहेकौ थियौं। सबैकुरा पैसा हो। पैसा माग्दा कहिले के भन्ने कहिले के भनेर आनाकानी भइरह्यो। हामी नै थाकेको अवस्था छ।’

राष्ट्रिय टोलीका पूर्व कप्तान तथा यू–१९ टोलीका प्रशिक्षक विनोद दास ग्राउण्डबाट राखेपले पैसा उठाउँछ भने त्यसको रेखदेखको जिम्मा उसैको हुने बताउँछन्।

tu 5

‘यदि त्यहाँ खेल्न शुल्क राखेपलाई तिर्छौ भने त्यो ठाउँको रेखदेख भरण पोषणको जिम्मा उसैले लिनुपर्ने हो,’ दासले नेपालखबरसँग भने, 'प्रक्रिया नपुगेर हो या के भएर हो, उनीहरुले पहिले देखि नै यसको रेखदेखमा ध्यान नदिँदा अहिले अप्ठ्यारो आएको हो।’

तयारी प्रभावित
त्रिवि मैदानको बेहालका कारण नेपाली सिनियर र युवा टोलीको तयारी प्रभावित बनेको छ। डिसेम्बर १ बाट सुरु हुने दक्षिण एसियाली खेलकुद(साग)को तयारीमा रहेको नेपाली सिनियर टोलीको मैदानकै कारण तयारी सुरु गर्न सकिरहेको छैन।

tu 10 

सागमा नेपालले सहभागिता जनाउने २७ मध्ये २६ खेलको बन्द प्रशिक्षण सुरु हुँदा त्रिवि मैदानको खराब अवस्थाका कारण क्रिकेटको बन्द प्रशिक्षण शुरु हुन नसकेको हो। त्यही मैदानमा साग अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता समेत आयोजना गर्ने लक्ष्य सरकारको छ। तत्काल मैदानमा ध्यान नपुगे त्यसले सागलाई समेत प्रत्यक्ष प्रभावित पार्नेछ।

यो पनि: मैदानको दुरवस्थाले ५ दिन ढिलो क्याम्प सुरु हुने, एसिसीले भारत जान अनुमित दिएन 

यस्तै नेपाली यू–१९ टोलीको बन्द प्रशिक्षण समेत त्रिवि मैदानकै खराब अवस्थाका कारण प्रभावित बनेको छ। श्रीलंकामा सेप्टेम्बर ५ देखि हुने यू–१९ एसियाका लागि नेपालले बिहीबार देखि नै बन्द प्रशिक्षण राख्ने योजना बनाएको थियो। तर, मैदानको दुरावस्थाले बन्द प्रशिक्षण ५ दिनपर सार्नुपरेको यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताए।

tu 7

‘मैदानको खराब अवस्थाले गर्दा हामीले बिहीबारदेखि नै शुरु गर्ने भनेको बन्द प्रशिक्षण ५ दिन पर सार्नुपरेको छ,’ दासले भने, ‘ग्राउण्ड राम्रो भएको अवस्थामा आशा गरौं ६ तारिखदेखि क्याम्प सुरु हुन्छ होला।’

यो पनि: तीन वर्षदेखि क्यान निलम्बनः नेपाली क्रिकेटको लज्जास्पद हार 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .