खेल


सनसनीपूर्ण फाइनलमा न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्ड विश्व विजेता

सनसनीपूर्ण फाइनलमा न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्ड विश्व विजेता

नेपालखबर
असार २९, २०७६ आइतबार १८:१७,

यसअघि ३ पटक फाइनल खेले पनि उपाधि जित्न नसकेको इंग्ल्यान्डले घरेलु मैदानमा आइतबार राति न्युजिल्यान्डलाई सुपर ओभरमा बराबर हुँदा बढी बाउन्ड्री प्रहार गरेको आधारमा जित निकाल्दै उपाधिमाथि कब्जा जमायो।  

हारसँगै न्युजिल्यान्ड भने लगातार दोस्रो पटक उपविजेतामा नै सीमीत बन्यो। यसअघि २०१५ मा भएको विश्वकपमा पनि न्युजिल्यान्ड फाइनलमा अस्ट्रेलियासँग  पराजित भएको थियो। 

निर्धारित ५० ओभरमा न्युजिल्यान्डले बनाएको २ सय ४१ रन पछ्याएको इंग्ल्याण्डले पनि त्यति नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा १६ रनको लक्ष्य पाएको न्युजिल्यान्ड १५ रनमै समेटियो। 

अन्तिम बलमा २ रन आवश्यक भए पनि मार्टिन गुप्टिल दोहोरो रन लिनेबेला रनआउट हुँदा न्युजिल्यान्ड १५ रनमै रोकिएको थियो।  

सुपर ओभरमा पनि दुबै टोलीले समान १५-१५ रन बनाएपछि नियमानुसार खेलको नतिजा बाउन्ड्रीबाट लिइएको हो। 

इंग्ल्यान्डले फाइनलमा २४ र न्युजिल्यान्डले १६ बाउन्ड्रीमात्रै हिर्काएकाले इंग्ल्यान्ड विश्व च्याम्पियन बन्यो।

सुपर ओभर (इंग्ल्यान्डका लागि बेन स्टोक्स र जस बटलर ब्याटिङमा, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट बलिङमा)
०.१ बोल्ट टू स्टोक्स, ३ रन

०.२ बोल्ट टू बटलर, १ रन

०.३ बोल्ट टू स्टोक्स, चौका

०.४ बोल्ट टू स्टोक्स, १ रन

०.५ बोल्ट टू बटलर, २ रन

०.६ बोल्ट टू बटलर, चौका

१६ रनको लक्ष्य पछ्याउने क्रममा न्यूजिल्याण्डका मार्टिन गुप्टिल र जेम्मी निसान ब्याटिङमा आए भने इंग्ल्याण्डका जेफ्रा आर्चर बलिङमा आए।

०.१ आर्चर टू निसान, वाइड

०.१ आर्चर टू निसान, दुई रन

०.२ आर्चर टू निसान, छक्का

०.३ आर्चर टू निसान,  २ रन

०.४ आर्चर टू निसान, २ रन 

०.५ आर्चर टू निसान, १ रन , (१ बलमा २ रन आवश्यक)

०.६ आर्चर टू गुप्टिल, १ रन, रनआउट, इंग्ल्याण्ड पहिलो पटक विश्व विजेता। न्यूजिल्याण्ड पुन: उपविजेतामै सिमीत।  

 न्यूजिल्याण्डले बनाएको २ सय ४१ रननै इंग्ल्याण्डले बनाएपछि नतिजा सुपर ओभरबाट लिइएको हो।

लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले राम्रो सुरुवात पाएन्। जोसन रोय र जोनी बरेस्ट्रोको ओपनिङ साझेदारी २८ रनमै टुटेको थियो। छैटौं ओभरको चौथो बलमा म्याट हेनरीले रोय(१७)लाई विकेटकिपर टम लाथनको हातबाट क्याच गराए।

यस्तै जोव रुटलाई लोक्की फर्गुन्सनले ७ रनमा र इयोन मोर्गन(९)लाई जेम्स निसानले फर्गुन्सनको हातबाट क्याच गराएपछि इंग्ल्याण्ड संकटमा परेको थियो।

२४ औं ओभरमा ८६ रन बनाउँदा ४ विकेट गुमाएको इंग्ल्याण्डको इनिङ बेन स्टोक्स र जस बटलरले पाँचौ विकेटका लागि ११० रनको साझेदारी गर्दै अघि बढाएका थिए।

४४ औं ओभरको दोस्रो ओभरमा बटलरले अर्धशतक पूरा गरेका थिए भने त्यसै ओभरको पाँचौ बलमा स्टोक्सले आफ्नो अर्धशतक पूरा गरेका थिए।

अर्को ओभरमा फर्गुसनले बटलरलाई टिम साउदीको हातबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए। ६० बल खेलेका उनले ४ चौकासहित ५९ रन जोडे।

स्टोक्सलाई साथ दिन आएका क्रिस वाक्स धेरैबेर क्रिजमा टिकेनन्। फर्गुन्सनको ४६.१ ओभरमा लामो सट हान्ने क्रममा बल माथि उठेपछि विकेटकिपर लाथनले क्याच समाते। वोक्सले ४ बल खेल्दै २ रनमात्रै बनाउँन सके।

अन्तिम ३ ओभर(१८ बल)मा इंग्ल्याण्डलाई जितका लागि ३४ रन आवश्यक थियो। टेन्ट्र बोल्टको ४८औं ओभरमा स्टोक्स र लियम प्लुकेंटले १२ रन जोडे।

अन्तिम २ ओभरमा इंग्ल्याण्डलाई २४ रन आवश्यक भयो। जेम्स निशानले ४९औं ओभरको तेस्रो बलमा प्लुकेंट(१०)लाई बाउन्ड्रीमा बोल्टबाट क्याच गराए।
चौथो बलमा क्रिजमा आएका क्रिजमा आएका स्टोक्सले छक्का प्रहार गरे। बोल्टले बाउन्ड्रीमा क्याच समातेपछि उनको खुट्टा बाउन्ड्री रोपमा लागेपछि अम्पायरले त्यसलाई छक्का दिएका थिए।

सोही ओभरको अन्तिम बलमा निसानले भर्खरै क्रिजमा आएका जेफ्रा आर्चरलाई खाता नै खोल्न नदिई बोल्ड पारेपछि इंग्ल्याण्डले ८ औं विकेट गुमायो।

अन्तिम ओभरमा इंग्ल्याण्डलाई जित्नका लागि १५ रन आवश्यक भयो। क्रिजमा ९२ बलमा ७० रन बनाएर खेलिरहेका बेन स्टोक्स थिए। बलमा कुनैपनि ९ ओभर फाल्दा कुनैपनि विकेट लिन नसकेका बोल्ट आए। 

बोल्टको पहिलो र दोस्रो बलमा कुनै रन नलिएका स्टोक्सले तेस्रो बलमा छक्का प्रहार गरे। त्योसँगै अन्तिम ३ बलमा ९ रन आवश्यक भयो। चौथो बलमा स्टोक्सले दुई रन लिए। तर गुप्टिलले फर्काएको बल स्टोक्सको ब्याटमा लाग्दै बाउन्ड्रीतर्फ गएपछि अम्पायरले बाउन्ड्रीसहित दौडेर लिएको दुई रनलाई मिलाएर ६ रन लिए।

त्योसँगै अन्तिम २ बलमा ३ रन आवश्यक पर्यो। पाँचौ बलमा दुई रन लिनेक्रममा रासिद खान रनआउट भए। त्योसँगै अन्तिम १ बलमा इंग्ल्याण्डलाई जितका लागि २ रन आवश्यक भयो।

अन्तिम बलमा स्टोक्सले १ रनमात्रै लिन सके। दोस्रो रन लिनेक्रममा स्टोक्स रनआउट भएपछि स्कोर बराबर भयो र खेल सुपर ओभरमा गयो।

त्यसअघि ओपनर हेनरी निकोलसको ५५ रनको अर्धशतकीय पारीको मद्दतमा टस जितेर ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४१ रन जोडेको थियो।

मार्टिन गुप्टिल(१९)एलबिडब्लुको सिकार भएपछि पहिलो विकेट २९ रनमै टुटेको न्यूजिल्याण्डको दोस्रो विकेटका लागि कप्तान केन विलियम्सनसँग मिलेर निकोलसले ७४ रनको साझेदारी गर्दै टोलीको इनिङ अघि बढाएका थिए।

तर, २३औं ओभरको चौथो बलमा लियम प्लुकेटले विलियम्सन(३०)लाई विकेटकिपर जस बटलरबाट क्याच गराएपछि उक्त साझेदारी टुटेको थियो।

लगत्तै निकोलसलाई पनि प्लुकेंटले नै बोल्ड पारे। ७७ बल खेलेका निकोलसले ४ चौकासहित ५५ रन जोडे। उनीसँगै रोज टेलर(१५)लाई मार्क उडले एलबिडब्लुको सिकार बनाएका थिए।

विकेटकिपर टम लाथनले ४७ रनको पारी खेल्दै न्यूजिल्याण्डलाई सो स्कोरमा पुर्याए। ५६ बलमा उनले २ चौका र एक छक्का प्रहार गरे। जेम्स निसानले १९ तथा कोलिन ग्रान्डहोमीले १६ रनको योगदान दिए।

इंग्ल्याण्डका लागि प्लुकेंटले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४२ रनमात्रै दिएर ३ विकेट लिए। यस्तै क्रिस वाक्सले ९ ओभरमा ३७ रनमात्रै दिएर ३ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .