नेपाल क्रिकेट संघ (क्यान)को पहिलो बैठकले चारवटा समितिहरु गठन गरेको छ। गत असोज ११ गते निर्वाचन भएपछि मुलपानीस्थित क्यान मुख्यालयमा आइतबार बसेको बैठकले पारस खड्काले राष्ट्रिय टोलीको कप्तानबाट दिएको राजीनामाबारे भने ध्यानाकर्षण मात्रै गरेको छ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले संघको पहिलो बैठकबाट प्रतियोगिता समिति, प्राविधिक समिति, मिडिया समिति र आर्थिक समिति गठन गरिएको जानकारी दिए।
प्राविधिक समितिको संयोजकमा सञ्जयराज सिंह, प्रतियोगिता समितिको संयोजकमा प्रशान्त मल्ल, सञ्चार समितिको संयोजकमा अशोकनाथ प्याकुरेल र आर्थिक समितिको संयोजकमा कोषाध्यक्ष रोशनबहादुर सिंहलाई नियुक्त गरिएको छ। प्रतियोगिता र प्राविधिक समिति ५–५ सदस्यीय र अन्य समितिमा २ वा ३ जना सदस्य रहने प्याकुरेलले बताए।
बैठकले गत मंगलबार राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका पारस खड्काको बारेमा भने ध्यानाकर्षण मात्रै गरेको छ। पारसको राजीनामाबारे बुझ्ने जिम्मा सचिव अशोकनाथ प्याकुरेललाई दिइएको छ।
‘पारसको राजिनामाबारे ध्यानाकर्षण भयो। राजीनामाको आधिकारिक पत्र क्यानलाई प्राप्त भएको छैन,’ प्याकुरेलले भने, ‘राजीनामा बारे तथ्य बुझ्ने काम हुनेछ।’
यसैगरि क्यान निलम्बन फुकुवाका लागि सहयोग गर्ने सम्पूर्णलाई बैठकले धन्यवाद दिएको छ। यस्तै आइसीसीका प्रतिनिधिहरु नेपाल आएपछि उनीहरुसँगको समन्वयनमा लेखा समिति तथा कर्मचारीहरु नियुक्त गरि कसरी बढ्ने भन्ने विषयमा छलफल गर्ने निर्णय गरिएको छ। आइसीसीका प्रतिनिधिहरु यसै साता नेपाल आउने तयारी रहेको बैठकमा सहभागी एक सदस्यले भने।
आइसीसीको गत अक्टोबर १४ तारिखमा बसेको बोर्ड बैठकले नेपाली क्रिकेटमाथि लगाएको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेपनि आधिकारिक पत्र भने पठाइसकेको छैन। उक्त पत्र आइसीसीले तयार पारिसकेको र ४–५ दिनमा नेपाल पठाउनेबारेमा जानकारी दिएको ती सदस्यले बताए।
यसैगरि आइसीसीले यसअघि नै नेपाली क्रिकेटको प्रोजेक्ट म्यानेजरका रुपमा नियुक्त गरेका रौनक मल्लसँग समन्वयन गरि अघि बढ्ने निर्णय बैठकले गरेको छ। गत असोज ११ गते क्यान चुनाव हुनुअघि नै रौनकलाई आइसीसीले प्रोजेक्ट म्यानेजरका रुपमा नियुक्त गरि सकेपनि क्यानलाई भने जानकारी गराएको थिएन।
उनीसँगको समन्वयनमा नेपाली यू–१९ टोलीको केहीदिनमा हुने भारत र चीन भ्रमणबारे तयारी थाल्ने बैठकले निर्णय गरेको हो। यस्तै आगामी कार्तिकमा नेपाल आउने मेरिलेबन क्रिकेट क्लब र नेपालबीच हुने शृंखला कसरी अघि बढाउने भन्ने विषयमा समेत छलफल भएको क्यान सदस्यले जनाएका छन्।
यस्तै जिल्ला र प्रदेश सञ्चालन सम्बन्धमा तत्काल उनीहरुले आ–आफ्नो स्थानमा अफिस सञ्चालन गर्न सोही क्षेत्रलाई जिम्मेवारी दिइएको छ। त्यसका लागि आवश्यक पर्ने रकम आइसीसीलाई माग्ने निर्णय समेत भएको एक सदस्यले बताए।
यो पनि: सीताको समर्पणः दुलही शृंगार नउत्रिँदै मैदानमा
यो पनि: सपना पूरा भएको दिन
यो पनि: रुविना क्षेत्री: आमाले हुर्काएकी स्टार
यो पनि: छायाँमा परेको एउटा प्रदर्शन
यो पनि: पारसले ट्विस्ट देलान्?
प्रतिक्रिया