खेल


नवीन र पार्वती वर्ष खेलाडी

नवीन र पार्वती वर्ष खेलाडी

वाशुदेव मिश्र
असार १८, २०७८ शुक्रबार २०:१२,

कराँतेका नवीन रसाइली र तेक्वान्दोकी पार्वती गुरुङ पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६–२०७७ का वर्ष खेलाडी घोषित भएका छन्।

अवार्डसँगै उनीहरुले जनही २ लाख रुपैयाँ नगद पनि प्राप्त गरेका छन्। विजेतालाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पुरस्कार दिए।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अवार्डको आयोजक हो। सो अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट केशव रञ्जित (आनन्द) लाई सम्मान गरियो।

पोखराको फुटबल विकासमा दिएको योगदानको कदर गर्दै उनलाई सो अवार्ड दिइएको हो। कोरोना महामारीबीच पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल रुपमा आयोजना गरिएको समारोहमा वर्ष उत्कृष्ट खेलाडी बन्न सफल नवीन रसाइली नेपाल प्रहरीमा कार्यरत छन्।

२३ वर्षीय रसाइली १३ औं सागका स्वर्णधारी हुन्। सो विधामा टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल थिए।

यस्तै, वर्ष उत्कृष्ट महिला विधामा उपाधि विजेता पार्वती गुरुङको जन्म लमजुङमा भएको हो। २६ वर्षीया पार्वतीले १३ औं सागमा एक स्वर्ण र १ कास्य पदक जितेकी थिइन्। सो विधामा साइक्लिङकी जमुना थापा र तेक्वान्दोकी प्रशंसा क्षेत्री प्रतिष्पर्धामा थिए।

१४ वर्षीया दुवाना लामा (पौडी) उदीयमान खेलाडी घोषित भइन्। सो विधामा लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्रीसमेत थिए। साथै वर्ष उत्कृष्ट प्रशिक्षक सुरेश मल्ल ठकुरी (बक्सिङ) घोषित भए। उनी २२ वर्षदेखि निरन्तर प्रशिक्षणमा छन्।

प्रशिक्षकतर्फ उत्कृष्ट ३ मनोनयनमा पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठ थिए। उत्कृष्ट उदीयमान र प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरियो।

मञ्चले प्रदान गर्ने वर्ष उत्कृष्ट पत्रकार अवार्डतर्फ नागरिक दैनिकका सन्देश श्रेष्ठ (वर्ष २०७६) र पोखरा स्पोर्टस् डटकमका केशव पाठक (वर्ष २०७७) सम्मानित भए। उनीहरुलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरियो।

यस्तै, वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला आर्चरी संघ कास्की सम्मानित भयो। सो वापतको पुरस्कार संघ अध्यक्ष योगेन्द्र शेरचनलाई हस्तान्तरण गरियो। मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सो समारोह सम्पन्न भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .