चालु अंग्रेजी वर्ष २०२४को सेप्टेम्बरमा ९६ हजार ३ सय ५ विदेशी पर्यटक नेपाल आउँदा चिनियाँ पर्यटकको संख्या ५ हजार ३८ छ। अगस्टसम्म नेपाल भ्रमण गर्ने ७ लाख पर्यटकमध्ये चिनियाँको संख्या ६ हजार ६ सय १४ थियो।
विश्वकै दोस्रो धेरै जनसंख्या भएको चीनबाट धेरै पर्यटक नेपाल आइदिऊन् भन्ने चाहना पोखराका पर्यटन व्यवसायीको हुने नै भयो। तर, यहाँका व्यवसायीले सोचेजस्तो भएको छैन।
चिनियाँ पयर्टकलाई आकर्षित गर्न तथा चीनमै नेपाल प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना हुने क्रम भने रोकिएको छैन।
यही उपक्रममा आगामी कात्तिक २५ गते पोखरामा नेपाल–चीन क्रस कन्ट्री दौड प्रतियोगिता आयोजना हुँदैछ। हिमालयन टुरिजम फोरम नामक संस्थाले आयोजना गर्ने सो दौडको मुल नारा ‘समृद्धिको लागि साझा दौड’ तय गरिएको छ।
चीनको युनान प्रान्तकै परिकल्पनामा हुन लागेको सो प्रतियोगितालाई नेपालस्थित चिनियाँ राजदूताबास, युनान प्रान्तीय खेलकुद ब्यूरो, युनान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र सिल्क रोड सिटीज एलायन्सले सघाउने आयोजक संस्थाका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए।
उनका अनुसार प्रतियोगिताको समूहगत विधामा करिब ३० टिमको सहभागिता रहने छ। जसमा १० चिनियाँ र २० नेपाली टोली रहनेछन् । समूहको विजेताले नगद चार लाख ५८ हजार चार सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले तीन लाख ४३ हजार तीन सय, तेस्रोले दुई लाख २९ हजार दुई सय, चौथोले एक लाख ५२ हजार आठ सय र पाँचौं हुने टिमले ९५ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन्।
च्यालेन्ज इन्डिभिजुअल समूहको महिला र पुरुष विजेताले एक लाख ५२ हजार आठसय, दोस्रोले एक लाख १४ हजार ६ सय, तेस्रोले ७६ हजार चार सय, चौथोदेखि सातौं स्थान हासिल गर्नेले ३८ हजार दुई सय र आठौंदेखि दशौं स्थान हासिल गर्नेले १९ हजार एक सय रुपैयाँ प्राप्त गर्नेछन्।
उक्त प्रतिस्पर्धामा ८० चिनियाँ खेलाडी र १२० नेपाली खेलाडीको सहभागिता रहने अनुमान आयोजकको छ । टिम र व्यक्तिगत प्रतिस्पर्धाको कुल दूरी ५० किलोमिटर हुनेछ । जसमा ट्रेल दौड, साइक्लिङ र बोटिङ हुनेछ।
विद्यार्थी दौडतर्फ छात्र/छात्राको विजेताले ३० हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले २० हजार र चौथौदेखि छैठौं स्थान हासिल गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ५ किमी विद्यार्थी दौडमा करिब पाँच सय खेलाडीको सहभागिता रहनेछ । ह्याप्पी रन समूहमा सहभागी हुनेलाई प्रमाणपत्र प्राप्त गर्नेछन्।
उक्त विधामा करिब पाँच सय खेलाडी सहभागि हुनेछन् जसमा ४ सय ८० नेपाली र २० जना चिनियाँ सहभागी हुने अनुमान छ। चिनियाँ पक्षको सहयोगमा पोखरामा आयोजना हुन लागेको यो तेस्रो संस्करणको प्रतियोगिता हो। प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड ३६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको छ।
Shares

प्रतिक्रिया