आफ्ना परिवारलाई पनि आइतबार नेमारले आफूले अब पीएसजीमै बस्ने निर्णय लिएको बताएका थिए।
त्यसैले सोमबार मध्यरातसम्म कुनै चमत्कार नभए नेमारले पीएसजीबाटै खेल्नेछन्।
दुई महिनायता नेमार मुख्यगरी बार्सिलोना त्यसपछि रियल मड्रिड र युभेन्ट्समा अनुबन्ध हुने चर्चा चलेको थियो।
बार्सिलोना र रियल मड्रिडले त नेमारलाई अनुबन्ध गर्न निकै प्रयास पनि गरे तर असफल भए। नेमारले दुई महिना अगाडि आफूलाई पीएसजी छाडेर पुरानो घर फर्कन लागेको बताएका थिए।
पुरानो घर अर्थात् बार्सा। उनी बार्सा फर्कन चाहन्थे। नेमारले बार्सा फर्कन चाहेको अभिव्यक्ति दिएपछि त्यसको केही समयपछि नेमारले पीएसजी छाड्ने खुबै हल्ला चल्यो।
फ्रान्सको पत्रिका एल’ इक्वीपका अनुसार नेमारले पीएसजी छाडेर बार्सा अथवा अन्य क्लबमा अनुबन्ध हुने हल्ला चल्नुमा मेस्सी मुख्य कारण हुन्।
लियोनल मेस्सी बार्साका कप्तान हुन्। उनका भनाइहरु बार्सामा लागू हुने गर्दछ। नेमारको अभिव्यक्तिपछि मेस्सीले नेमारलाई सन्देश पठाएका थिए।
एल’ इक्वीपका अनुसार मेस्सीले नेमारलाई भनेका थिए,‘च्याम्पियन्स लिग फेरि जित्न हामीलाई तिम्रो खाँचो छ नेमार।’
जब मेस्सीले नेमारलाई बार्साले अनुबन्ध गर्ने आश्वासन दिए, नेमारले आफू फेरि बार्सामै अनुबन्ध हुने आशा छाडेनन्। उनले पीएसजी छाड्ने अभिव्यक्ति लगातार दिइरहे।
मेस्सीले बार्साका प्रमुखसँग नेमार अनुबन्ध गर्न आग्रह गरेको पनि स्पेनिस संचारमाध्यमहरु बताउँछन्।
यद्यपी स्टार खेलाडीहरु डि जोङ र एन्टोनी ग्रिजम्यान अनुबन्ध भएपछि नेमार बार्सा अनुबन्ध हुने संभावना लगभग टरेको थियो। त्यसबीचमा नेमार मड्रिड र युभेन्ट्समा अनुबन्ध हुने हल्ला चलेको थियो।
अन्तिम सयमसम्म आइपुग्दा बार्साले नेमार अनुबन्ध गर्ने प्रयास नगरेको पनि होइन। यद्यपी बार्साको केही बजेट र खेलाडी दिएर नेमार अनुबन्ध गर्ने प्रस्ताव र अर्को लोनमा नेमार अनुबन्ध गर्ने प्रस्ताव पीएसजीले अस्वीकार गरेको मार्काले उल्लेख गरेको छ।
नेमारले पीएसजी छाड्ने अभिव्यक्ति दिएपछि पीएसजीका समर्थक उनीसँग रुष्ट छन्। सिजनको पहिलो खेलमा नेमारविरुद्ध पीएसजीकै समर्थकले ‘हामीलाई नेमार चाहिँदैन’ भन्दै नारा लगाएका थिए।
तर नेमारले आइतबार आफू पीएसजीमै प्रतिवद्ध भएर खेल्ने बताएपछि पिएसजीले नेमारको छवीलाई संल्याउने अभियान संचालन गर्न लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया