ad ad

खेल


एसियन भलिबल च्याम्पियनसिप तयारी : उपाधि होइन अनुभव नै लक्ष्य

एसियन भलिबल च्याम्पियनसिप तयारी : उपाधि होइन अनुभव नै लक्ष्य

लक्ष्मी जि.सी
असार ११, २०७८ शुक्रबार ५:५६,

कोरोनाको दोस्रो लहरकै बीचमा राष्ट्रिय फुटबल टोली कुवेतमा विश्वकप र एसियन कप छनोट खेलेर फर्किसकेको छ।

यसबीचमै नेपालको राष्ट्रिय खेल भलिबलको महिला टोलीले आगामी प्रतियोगिताका लागि तयारी थालेको छ।

अर्को लोकप्रिय खेल क्रिकेटको पनि तयारी सुरु भए पनि प्रतियोगिता नै स्थगित भएको छ।

कोरोनाको पहिलो लहरमा झण्डै एक वर्ष ठप्प खेलकुद गत वर्षको पुसबाट आंशिक रुपमा सुरु भएको थियो।

दाङमा महिला क्रिकेटबाट सुरु भएको प्रतियोगिताको सिलसिलामा अन्य खेल पनि थपिए। चैतको अन्त्यसम्म आइपुग्दा देशव्यापी रुपमा फुटबल, भलिबललगायतका खेल आयोजना सुरु भइसकेका थिए।

तर फेरि कोरोनाको दोस्रो लहरले अन्य क्षेत्रजस्तै खेलकुद क्षेत्र पनि ठप्प भयो।

वैशाख १६ गतेबाट निषेधाज्ञा नै लाग्यो। त्यसपछि खेलकुद गतिविधि बन्दप्रायः भयो।

त्योबीचमा सरकारको स्वीकृति र स्वास्थ्य मापदण्ड अपनाएर देशको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग आयोजना भएको थियो। त्यसलगत्तै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु भयो।

volley ball practice front

अहिलेसम्मकै ठूलो प्रतियोगितामा जाँदै महिला भलिबल टोली
निषेधाज्ञाकै बीचमा महिला भलिबल टोलीको तयारी सुरु भएको छ।

महिला भलिबल टोली अहिलेसम्मकै ठूलो प्रतियोगिताको तयारीमा जुटेको छ। दक्षिण एसिया खेलकुद (साग) र एभीसी सेन्ट्रल जोनमा प्रतिस्पर्धा गर्दै आएको महिला टोली यसपटक एसियन महिला भलिबल च्याम्पियनसिपको मिसनमा जाँदै छ।

फिलिपिन्समा भदौ १३ देखि २० गतेसम्म हुने प्रतियोगितामा नेपालसहित १२ टोलीको सहभागिता रहनेछ। साग वा सेन्ट्रल जोनमा जस्तो एसियन च्याम्पियनसिपमा सफलताभन्दा पनि अनुभव नेपाली टोलीको मुख्य लक्ष्य हुनेछ।

किनकि त्यति ठूलो प्रतियोगिता नेपाली टोलीले पहिलोपटक खेल्दै छ। सुरुमा चीनमा हुने भनिए पनि च्याम्पिनसिपपछि फिलिपिन्सले आयोजना गर्ने भएको थियो।

सागमा अघिल्ला संस्करण (आठौँ, दशौँ र बाह्रौँ) मा ३ पटक कांस्य जितेको महिला टोलीका लागि वर्ष २०७६ भने ऐतिहासिक रहेको थियो।

एक महिनाको फरकमा नेपालले दुई ठूला सफलता हासिल गरेको थियो। कात्तिकमा बंगलादेशमा सेन्ट्रल जोनमा स्वर्णपदक जितेर फर्केको नेपाली टोलीले स्वदेशमा मंसिरमा आयोजना भएको १३औँ सागमा रजत पदक जितेको थियो।

volley ball practice 1

सागमा पहिलोपटक नेपालले रजत पदक जितेको थियो। त्यसअघि सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पिनयसिपमा नेपाली टोलीले रजत पदक जितेको थियो।

१३औँ सागपछि महिला टोली पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा छ। च्याम्पियनसिपबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएका छन्।

एसियाली भलिबल महासंघ (एभीसी) ले जुन १५ गतेसम्म सहभागिता पक्का गर्न वा नाम फिर्ता लिने समय दिएको थियो।

त्यो अवधिमा ५ देशले नाम फिर्ता लिए। अब नेपालसहित च्याम्पियनसिपमा आयोजक फिलिपिन्ससहित जापान, थाइल्यान्ड, दक्षिण कोरिया, काजकस्तान, ताइपे, इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान र हङकङले प्रतिस्पर्धा गर्नेछन्।

खेल तालिका सार्वजनिक हुन बाँकी छ।

प्रतिकूल अवस्थाका बाबजुद तयारी सुरु गरेको जनाउँदै नेपाल भलिबल संघका उपाध्यक्ष एवं महिला टोलीकी व्यवस्थापक निरोज मास्केले भनिन्, ‘प्रशिक्षण सुरु गर्नुअघि खेलाडीको पीसीआर टेष्टदेखि अन्य व्यवस्थापनका काम गर्न पनि निषेधाज्ञाका कारण कठिन भयो। सुरुमा तोकिएभन्दा झण्डै १० दिनपछि मात्र प्रशिक्षण सुरु गरेका हौँ।’

प्रशिक्षण सुरु भएपछि टोलीको सहभागिताको अन्य व्यवस्थापनको अझै टुंगो नलागिसकेको मास्केले बताइन्।

‘यो तयारी र सहभागितामा कति खर्च हुन्छ भन्ने अहिलेसम्म थाहा भइसकेको छैन’, उनले भनिन्, ‘त्यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग कस्तो रहने, संघले के गर्ने भन्ने विषयमा केहि दिनमा बैठक बस्दै छौँ।’

volley ball practice 3

चैतमा राखेपकै कभर्ड हलमा आयोजना गरेको आरबीबी भलिबल लिग प्रतियोगिताको प्रदर्शनका आधारमा ३० खेलाडीलाई पहिलो चरणमा प्रशिक्षणमा डाकेको थियो। जसमा त्रिभुवन आर्मी क्लबका सर्वाधिक ८, न्यू डायमण्ड, नेपाल पुलिस क्लब र एपीएफका समान ७ खेलाडी र भरतपुर मेट्रोकी सरस्वती कट्टेललाई प्रशिक्षणमा बोलाइएको थियो।

तर पुलिसले आफ्ना ३ खेलाडी कामना विष्ट, शान्तिकला तामाङ र पुनम चन्द प्रहरी जवानको आधारभूत तालिममा रहेकाले प्रशिक्षणमा पठाउन नसक्ने भन्दै संघलाई जानकारी गराएको थियो।

व्यवस्थापक मास्केले भनिन्, ‘संघले खेलाडी पठाउनका लागि पुनः क्लबसँग आग्रह गरेका थियौँ। तर नपठाउने भयो। अब २७ खेलाडी मात्र प्रशिक्षणमा सामेल रहनेछन्।’

नेपालले कात्तिक अन्तिम साता एभीसी सेन्ट्रल जोनमा स्वर्णपदक जितेर स्वदेश फर्किएको छोटो समयमा नै घरेलु मैदानमा पनि पदक जित्यो।

१३औँ दक्षिण एसियाली खेलकुद सागमा नेपालले पहिलोपटक भारतलाई एक सेट हराउँदै रजत पदक जित्यो। तर त्यसपछि सुरु भएको लकडाउनका कारण नेपाली टोलीले धेरै प्रतियोगिता खेल्न पाएन।

डेढ वर्षभन्दा लामो समयपछि राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किँदा खेलाडी उत्साहित रहेको कप्तान अरुण शाही बताउँछिन्।

‘अहिले टोलीमा नयाँ बहिनीहरु आएका छन्, हाइट पनि राम्रो छ। हाम्रो टोली राम्रो बन्छ होला जस्तो लाग्छ। एकपछि अर्को राम्रो नतिजा ल्याए पनि त्यसको परिवर्तन देख्न पाएनौँ। एसियन च्याम्पियनसिप खेल्न पाउनु राम्रो अवसर हो’, उनले भनिन्, ‘पहिलो पटक भाग लिन लागेका छौँ। हामी पदक ल्याउँछौँ भन्दा पनि नेपाल पनि छ है भन्ने खालको प्रदर्शन देखाउनेछौँ। देशको नाम राख्ने योजनामा छौँ।’

पहिलोपटक एसियालीस्तरको प्रतियोगितामा भाग लिँदा खेलाडीहरुले अनुभव बटुल्न पाउनेमा अरुणा आशावादी छिन्।

‘बलिया टोलीसँग खेल्दा सिक्ने र अनुभव बटुल्ने मौका पाउँछौँ। प्रशिक्षण ढिला सुरु भएकाले केही गाह्रो त हुन्छ’, उनले थपिन्, ‘सेट टिमले खेल्न पाएको भए राम्रो हुन्थ्यो। अब ढिलो भइसकेको छ। मैत्रीपूर्ण खेल खेल्न पाए राम्रो गर्न सकिन्थ्यो होला।’

volley ball practice 8

एभीसी सेन्ट्रल जोन र साग खेल्नुअघि भलिबल टोलीले झण्डै ७ साता थाइल्यान्डमा प्रशिक्षण गरेको थियो।

त्यही दौरान टोलीले ७ वटा मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसको प्रभाव टोलीले दुई प्रतियोगितामा देखाएको थियो।

कोरोना महामारीका कारण यसपटक मैत्रीपूर्ण खेलको सम्भावना नरहेको टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट बताउँछन्।

‘अहिले मैत्रीपूर्ण खेलको सम्भावना एकदमै कम छ। तर त्यसको लागि हामीले प्रयास गर्नेछौँ’, केही दिन ढिला गरी प्रशिक्षण सम्हालेका भट्टले भने, ‘प्रतियोगिता आयोजना स्थल पुगेपछि क्वारेन्टिन बस्नुपर्ने हुन्छ। हामीसँग समय पनि छैन। एसियन च्याम्पियनसिपकै सहभागी टोलीसँग मैत्रीपूर्ण खेलका लागि प्रयास गर्नेछौँ। हेरौँ के हुन्छ।’

यसपटकको प्रशिक्षणमा ९ नयाँ खेलाडीले समेटिएका छन्। नयाँ खेलाडीको प्रशिक्षणबाट मुख्य प्रशिक्षक भट्ट प्रभावित छन्।

कोरोनाले गर्दा तयारी गर्ने समय पर्याप्त नपाएकोले फिटनेसमा समस्या देखिनेमा उनी चिन्तित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .