ad ad

खेल


‘एसियाली पावरहाउस’ अस्ट्रेलियाविरुद्ध खेल्दै नेपाल, नयाँ खेलाडीको डेब्यु हुने

‘एसियाली पावरहाउस’ अस्ट्रेलियाविरुद्ध खेल्दै नेपाल, नयाँ खेलाडीको डेब्यु हुने

लक्ष्मी जि.सी
जेठ २७, २०७८ बिहिबार १६:५५,

समूह चरणको अन्तिम खेलमा नेपालले एसियाको पावरहाउस अस्ट्रेलियासँग शुक्रबार राति खेल्दै छ।

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेलको यात्रा नेपालले अस्ट्रेलियासँग खेलेर सक्नलागेको हो।

समूह बीमा रहेको नेपालको विश्वकप र एसियाली छनोटअन्तर्गतको दोस्रो चरणको अन्तिम भेट शुक्रबार अस्ट्रेलियासँग हुनलागेको हो।

खेल कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा राति पौने १० बजे हुनेछ। छनोट चरणको पहिलो खेलमा नेपाल अस्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको थियो। नेपालले अहिलेसम्म अस्ट्रेलियालाई हराउनसकेको छैन।

खेलअघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भने, ‘अस्ट्रेलियासँगको खेलमा नतिजाभन्दा पनि राम्रो खेल खेल्ले लक्ष्य राखेका छौँ। पहिला लामो पासमा धेरै खेलेको देखिन्थ्यो तर अहिले त्यसमा परिवर्तन भएको छ। खेल्ने शैली परिवर्तन गरेका छौँ जसको नतिजा पनि देखिएको छ।’

उनले केही युवा खेलाडीहरु डेब्युको प्रतीक्षामा रहेको समेत खुलाएका छन्।

‘उनीहरुको लागि पनि अवसर हुनसक्छ’, अल्मुताइरीले भने, ‘अस्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन तर उनीहरुले आफूलाई यस्तै परिस्थितिमा परीक्षण गर्न जरुरी छ।’

खेलमा नतिजा महत्वपूर्ण हुने बताउँदै उनले छोटो समयमा पनि समर्थकलाई खुसी दिनसकेको उल्लेख गरे।

‘आगामी दिनमा नतिजा पनि दिने संकेत दिएका छौँ’, उनको भनाइ छ, ‘आगामी जुलाईमा युरोपेली र अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ। त्यस्तै सेप्टेम्बरको साफ च्याम्पियनसिपका लागि हाम्रो मुख्य तयारी हो।’

जोर्डनसँको खेलमा केही रक्षात्मक देखिएको नेपाली टोली अस्ट्रेलियाविरुद्धको खेलमा आक्रामक फुटबल खेल्ने आशा छ।

सोही खेलमा केही युवा खेलाडीले डेब्यु समेत गर्नसक्ने संकेत प्रशिक्षकको माथिको भनाइले पनि गरेको छ।

पहिलो पटक राष्ट्रिय टोलीमा परेका ६ खेलाडीमध्ये कमल थापा, सुरज जिउ ठकुरी र आयुष घलानले डेब्यु गर्न बाँकी छ।

मनिष डाँगी, गौतम श्रेष्ठ र विशाल श्रेष्ठले सिनियर टोलीबाट यसअघि नै डेब्यु गरिसकेका छन्।

समूह चरणमा चाइनिज ताइपेईलाई मात्र हराएको नेपालले बाँकी सबै खेलमा हार व्यहोरेको थियो।

नेपालले समूह चरणका दुवै खेलमा चाइनिज ताइपेईलाई समान २–० गोल अन्तरले पाखा लगायो।

पहिलो खेलमा कुवेतसँग ७–० को फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेल १–० ले गुमाएको थियो भने जोर्डनसँगको दुवै खेलमा समान ३–० ले पराजित हुनपुग्यो।

नेपालले ७ खेलमा २ मा जित र ५ खेलमा हार भोग्दै ६ अंकका साथ चौथो स्थानमा छ। जितविहीन चाइनिज ताइपेई तालिकाको पुछारमा छ।

६ खेलमा शतप्रतिशत नतिजा निकालेको अस्ट्रेलिया १८ अंकमा समूह चरणको शीर्ष स्थानमा छ।

४ खेलमा जित, १ मा हार र १ खेलमा बराबरी गरेको जोर्डन १३ अंकमा दोस्रो स्थानमा छ भने ३ खेलमा जित, १ मा बराबरी र २ खेलमा हार भोगेको कुवेत १० अंकमा तेस्रो स्थानमा छ।

फिफा वरीयतामा अस्ट्रेलिया ४१औँ स्थानमा छ भने नेपाल १ सय ७१औंँ स्थानमा छ।

त्यसकारण पनि समूह चरणमा अस्ट्रेलिया बलियो टोली हो। छनोट चरणमा अपराजित रहेको अस्ट्रेलिया शतप्रतिशत नतिजा निकाल्दै १९ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

समूह चरणमा अस्ट्रेलियाले कुवेतसँगका दुवै खेलमा समान ३–०, चाइनिज ताइपेईलाई पहिलो लेगमा ७–१ तथा दोस्रो लेगमा ५–१ को गोल अन्तरले हराएको थियो।

जोर्डनसँगको पहिलो खेलमा १–० ले विजयी भएको अस्ट्रेलियाले समूह चरणको अन्तिम खेलमा जोर्डनसँग खेल्दै छनोट यात्रा सक्नेछ।

फिफा विश्वकप छनोटको तेस्रो चरण खेल्ने बाटो बन्द भएसँगै नेपालको एसियन कप छनोट यात्रा समेत कठिन बनेको छ।

नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन अस्ट्रेलियाविरुद्ध जित निकाल्नुपर्नेछ भने अन्य समूहको नतिजा समेत कुर्नुपर्ने हुन्छ।

तर शुक्रबारको खेलमा पनि नेपाललाई जित निकाल्न कठिन छ। यस्तोमा नेपाल प्लेअफको बाटो हुँदै एसियन कप छनोटमा स्थान बनाउन सक्नेछ।

प्लेअफमा नेपालले अन्य समूहमा चौथो वा पाँचौँ स्थानमा रहेको टोलीलाई दुई लेगको खेलमा पराजित गर्नुपर्ने हुन्छ।

यदि प्लेअफको पहिलो राउन्डमा पराजित भए पनि नेपालले अर्को राउन्डमा पराजितमध्येकै टोलीलाई दुई लेगको खेलमा हराउनुपर्नेछ।

प्ले अफको बाटो हुँदै एसियन कप छनोटको तेस्रो चरणमा पुगे नेपाल ४ टोली रहेको समूहमा पुग्नेछ। त्यो समूहको शीर्ष दुईमा रहे नेपालले पहिलो पटक एसियन कप खेल्नेछ।

हेड टु हेड
नेपाल र अस्ट्रेलियाबीच अहिलेसम्म एक पटक मात्र भेट भएको छ।

फिफा विश्वकप २०२२ को छनोट खेलकै दौरान यी दुई टोलीको भेट भएको हो।

१० अक्टुबर २०१९ मा भएको पहिलो भेटमा नेपाल अस्ट्रेलियासँग ५–० ले पराजित भएको थियो। घरेलु मैदानमा भएको खेलमा अस्ट्रेलियाले ७४ प्रतिशत बल पोजिसन राखेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .