भैरहवामा जारी स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई खेलमा गोर्खा वारियर्स क्रिकेट क्लब र मास्टर्स–११ विजयी भएका छन्।
गोर्खा वारियर्सले बुद्ध क्रिकेट क्लबलाई ५ विकेट र मास्टर्स–११ ले डीए स्पोट्र्सलाई ५ रनले पराजित गरेको हो।
सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले ८ विकेटको क्षतिमा ६२ रन बनायो। उसका लागि रुपेश कुर्मीले ३२ र जयप्रकाश शर्माले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्। बलिङमा गोर्खा वारियर्सका सुभाष विकले २, करण विक, शेषदत्त थारु, प्रदीप सुवेदी र सुमन पन्थीले समान १÷१ विकेट लिए।
जवाफी ब्याटिङ गरेको गोर्खा वारियर्सले ७ ओभर ३ बलमा २ विकेटको क्षतिमा ६३ रन बनाउँदै जित निकाल्यो। उसका लागि महेश रानाले अविजित ३१ र राहुलले २८ रन बनाए। बलिङमा बुद्धका रुपेश कुर्मी र सुरज गुरुङले १÷१ विकेट लिए। सुभाष विक म्यान अफ द म्याच भए।
दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मास्टर्स–११ ले ५ विकेटको क्षतिमा ७८ रन बनायो। उसका लागि रुपेश बास्तोलाले २७, आदित्य त्रिपाठीले १६ र सुजन मकाजुले १३ रन बनाए। बलिङमा डीए स्पोट्र्सका मुकेश प्रजापतीले २, रियाज उद्दिन खान र लक्ष्मण परियारले १÷१ विकेट लिए।
जवाफमा डीए स्पोट्र्सले ५ विकेटको क्षतिमा ७३ रन मात्रै बनायो। उसका लागि सुजन गौतमले २२, रियाज उद्दिन खानले १४ र अभिषेक पटवाले अविजित ११ रन जोडे। बलिङमा मास्टर्स–११ का अजय यादव, सामोद पौडेल र अनिल जैसवालले १÷१ विकेट लिए। सामोद पौडेल म्यान अफ द म्याच भए। शुक्रबार तिरुपति क्रिकेट क्बल र घिनाहा–११ तथा लुम्बिनी खुकुरी क्रिकेट क्लब र जीआर एकेडेमीबीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ।
प्रतियोगितामा विजेता टिमले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिम सहभागी छन्। प्रतियोगिता वैशाख १८ गतेसम्म चल्ने छ।

प्रतिक्रिया