खेल


क्यान केन्द्रीय निर्वाचनमा ‘भारइस’को त्रास

क्यान केन्द्रीय निर्वाचनमा ‘भारइस’को त्रास

नेपालखबर
साउन २६, २०७६ आइतबार ८:२७,

शनिबार(साउन २५) एकैदिन नेपाल क्रिकेट संघ(क्यान)को प्रदेश १ र पर्सा जिल्लाको निर्वाचन सम्पन्न भयो। प्रदेश १ को अध्यक्षमा मिङ्मा डेन्डु शेर्पा र पर्सा जिल्लामा दाउद अन्सारी निर्वाचित भए।

योसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)बाट निलम्बित क्यानको ३ प्रदेशमा र ३७ जिल्लामा चुनाव सकिएको छ। अब बाँकी ४ वटा प्रदेश र २ जिल्लामा चुनाव भए क्यानको केन्द्रीय चुनाव प्रक्रिया अघि बढ्नेछ। केन्द्रको चुनावपछि आइसीसीले क्यानको निलम्बन फुकुवा गर्ने रोडम्याप भएकाले पनि यो चुनाबलाइ महत्वका साथ हेरिएको छ।

जिल्लाहरूमा अब काठमाडौं र बाँकेको चुनाव बाँकी हो। काठमाडौंको चुनाव यही साउन २८ गतेका लागि तय भएको आइसीसीले गठन गरेको अनुगमन समितिका सदस्य अधिवक्ता राजेश्वर श्रेष्ठले बताए। बाँकेमा भने अदालतमा मुद्दा विचाराधीन छ। निर्वाचनमा सहभागी हुन पाउनुपर्ने माग राख्दै मुद्दा दायर गर्ने उपेद्र पौडेललाई सहमतिमा ल्याउने प्रयास भइरहेको छ।

can pradesh 1मिङ्मा डन्डु शेर्पाको अध्यक्षतामा क्यान प्रदेश १ को चुनाव शनिबार सम्पन्न भएको छ

प्रदेश १ मा शनिबार चुनाव हुनुअघि सुदूरपश्चिम र गण्डकी प्रदेशको यसअघि नै निर्वाचन भइसकेको थियो। त्यसबाहेक प्रदेश ५ र कर्णाली प्रदेशको भदौ ७ गते तथा प्रदेश २ को भदौ १४ गते निर्वाचनका लागि मिति तय भएको श्रेष्ठले बताए।

बाँकी रहने अन्तिम प्रदेश ३ को भने साउन २८ गते काठमाडौं जिल्लाको चुनाव भइसकेपछि मिति हुनेछ। त्यसपछि केन्द्रको चुनावी मिति तोकिनेछ।

‘सेप्टेम्बर अन्तिमसम्म (असोज दोस्रो साता) केन्द्रको चुनाव आयोजना गर्ने लक्ष्य हो,’ अनुगमन समितिका सदस्य तथा अधिवक्ता श्रेष्ठ भन्छन्, ‘अहिलेसम्मका भएका सबै निर्वाचनमा आइसीसीका प्रतिनिधिहरु सन्तुष्ट हुनुहुन्छ। बीचमा कुनै बाधा नआए केन्द्रको चुनाव लगत्तै क्यानको निलम्बन फुकुवा प्रक्रिया सुरु हुनेछ।’

सरकारी हस्तक्षेप र क्यानभित्रको राजनीतिको आरोपमा २०७३ बैशाख १३ गते आइसीसीले क्यानलाई निलम्बन गरेको थियो। विवाद समाधान गर्न र नयाँ विधान बनाउँन आइसीसीले सोही वर्ष कार्तिकमा सल्लाहकार समिति गठन गर्यो।

monitaring commiteeआइसीसीले बनाएको अनुगमन समितिले अहिले जिल्ला, संघको चुनाव गरिरहेको छ

उक्त समितिले बनाएको विधानलाई संशोधन गर्दै क्यानको निर्वाचित समितिले विभिन्न जिल्लाको चुनाव गरायो। तर आइसीसीले उक्त संशोधित विधान नमानेपछि पुनः निर्वाचित क्यानले साधारणसभा मार्फत हुबहु सल्लाहकार समितिले बनाएको विधान पारित गर्यो। संशोधित विधानमार्फत भएका जिल्ला चुनावलाई अनुगमन गर्न पुनः बनेको अनुगमन समितिले अहिले जिल्ला, प्रादेशिक र केन्द्रीय समितिको चुनाव गर्ने जिम्मेवारी पाएको हो।

‘भारइसले बिथोल्न सक्छन्
क्यानका पूर्व उपाध्यक्ष रहिसकेका राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले केही भाइरसहरुले आफ्ना पालामा चुनाव हुन नदिन आइसीसीलाई पत्र पठाएको बताउँदै आएका छन्।

संघबाट बढीभन्दा बढी लाभ लिएका, आर्थिक अनियमिततामा मुछिएका, जमानादेखि पेश्की लिएर फर्छौट नगरेका र विवाद रुचाउने व्यक्तिहरुलाइ उनले भाइरसको रूपमा चित्रण गर्ने गरेका छन्। अन्तिममा केही नलागे उनीहरूको नामै सार्वजनिक गर्ने सिलवालको तयारी छ।

‘संघबाट बढीभन्दा बढी लाभ लिएका, आर्थिक अनियमिततामा मुछिएका, जमानादेखि पेश्की लिएर बसेका र अनियमितताका सहयोगीहरु सबै क्यानका भाइरस हुन्,’ यसअघि क्यानका पदाधिकारीहरुलाई संकेत गर्दै उनले भने, ‘काम नगर्ने, अनावश्यक विवाद सिर्जना गर्न खोज्ने, आर्थिक हिनामिना गर्न खोज्ने, संघको रकम कहाँ गयो जिम्मेवारी नलिने, ७–७ जनासम्म बिना कारण संघको पैसामा विदेश घुम्न जाने नै क्यानका भाइरस हुन्। यस्ता मान्छेहरुबाट विकास हुन्छ भनेर सोच्नु पनि हुन्न। नामै भन्नुपरे समय आएपछि भनौला।’

ramesh silwalllllसदस्यसचिव रमेश सिलवाल क्यान फुकुवा हुन नदिन चलखेल भइरहेको बताउँछन्

सदस्यसचिव सिलवालले अनुगमन समितिबाट अगाडि बढ्ने सहमति भएकाले त्यसैलाई आफूले कुरिरहेको र चाँडै क्यान निलम्बन फुकुवा हुने विश्वास व्यक्त गरे।

तर जिल्ला तथा प्रदेशको चुनावबाट आएका मानिसहरु भिजिनबिहीन भएको सदस्यसचिवको आरोप छ। ‘अहिले विभिन्न ठाउँमा चुनाव भइरहेको छ। निर्वाचित मान्छेहरु योजनाबद्ध रुपमा क्रिकेटलाई यहाँ लैजान्छु भनेर ‘भिजनवाइज’ रुपमा आएको मैले पाएको छैन्,’ उनले भने, ‘संघमा बस्ने मानिसहरु अबको ५ वर्षमा कहाँ पुर्याउँने, दशवर्षमा कहाँ पुर्याउँने भनेर त्यसको विश्वासका साथ आउँनुपर्छ। तर, जो जो मान्छे चलमलाइरहेको देख्छु। तिनीहरुमा विश्वास गर्ने आधार नै छैन।’

‘विश्वास गर्ने आधार भएको मान्छे चाहियो। कति खेलाडी उत्पादन गर्‍यो। उसँग कुनै टिम छ कि छैन्। कुनै प्रतियोगिता आयोजना गरेको छ कि छैन? ती पक्ष चाहिँ गौण छन,’ सदस्यसचिव सिलवालले थपे, ‘कतिपय क्रिकेटलाई ध्वस्त बनाउने मान्छेहरु नै सक्रिय भएको देखिरहेको छु। आगामी दिनमा राम्रा असल मान्छेहरु आउनुपर्छ।’

क्यानको विवाद टाइमलाइन– 
२०६८ पुस – माओवादी नेता टंक आङबुहाङको नेतृत्वमा क्यानको निर्वाचन
२०७२ पुस – टंक आङबुहाङको नेतृत्वको क्यानको कार्यकाल सकिदैँ।
२०७२ मंसिर– टंक आङबुहाङ पक्षले असन्तुष्टिका साथ मंसिर २९ गते भएको साधारण सभा बिथोल्ने प्रयास। मध्यराति सम्पन्न साधारण सभाबाट चतुरबहादुर चन्द अध्यक्ष, महासचिवमा अशोकनाथ प्याकुरेल चयन। 
२०७२ पुस २४– राखेपले उक्त निर्वाचित क्यानलाई आफ्नो अनुमति नभएको भन्दै रमेशकुमार सिलवालको अध्यक्षमा तदर्थसमिति गठन। 
२०७३ बैशाख १३ गते– सरकारी हस्तक्षेत्र र अनियमितताको आरोपमा आइसीसीद्धारा क्यानमाथि प्रतिबन्ध।
२०७३ कार्तिक– विवाद समाधान र नयाँ विधान बनाउँन विनयराज पाण्डेको अध्यक्षतामा सल्लाहकार समिति गठन। निर्वाचित क्यानको असन्तुष्टि। सल्लाहकार समितिमा असहभागिता।
२०७३ फागुन– निर्वाचित समुहका चतुरबहादुर चन्द र अशोकनाथ प्याकुरेल सल्लाहकार समितिमा सहभागी। 
२०७४ भदौ ६ गते– सल्लाहकार समितिले बनाएको नयाँ विधान, काठमाडौंमा भएको क्यानको विशेष साधारण सभाले संशोधन सहित पारित। सोही विधान अनुरुप ३७ जिल्लामा निर्वाचन। तर, आइसीसीले साधारण सभाले गरेको संशोधन मानेन्। 
२०७५ बैशाख ५ गतेः  क्यानको विशेष साधारण सभाले सल्लाहकार समितिले बनाएको विधान हुबहु पारित। 
२०७५ जेठ २४– पारित विधानअनुसार जिल्लामा चुनाव भए नभएको हेर्न र विधानअनुसार नभएको ठाउँमा पुनः चुनाव गर्न, संघ र केन्द्रको चुनावको जिम्मासहित अनुगमन समिति गठन। हाल उक्त स्वतन्त्र समूहको सक्रियतामा जिल्ला र संघीय चुनाव भइरहेको।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .