खेल


नयाँ खेलकुदमन्त्री नियुक्त भएको एक महिनामै खेलाडीलाई प्रोत्साहन भत्ता

नयाँ खेलकुदमन्त्री नियुक्त भएको एक महिनामै खेलाडीलाई प्रोत्साहन भत्ता

नेपालखबर
माघ ९, २०७७ शुक्रबार १६:६,

ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीको प्रोत्साहन भत्ता निकासा भएको छ।

तर, गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागका स्वर्ण पदक विजेताले भने प्रोत्साहन भत्ताका लागि कुर्नुपर्ने भएको छ।

रोकिएको प्रोत्साहन भत्ताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पटक पटक आवाज उठाउँदै आएको थियो। नयाँ खेलकुदमन्त्री दावा लामाले आफ्नो वहालीको एक महिना नपुग्दै रोकिएको खेलाडीको प्रोत्साहन भत्ता निकासा भएको छ।

भत्ता उपलब्ध गराउने निर्णयलाई आंशिक सफलता भन्दै आवश्यक पहल र निर्देशन दिने खेलकुदमन्त्री लामा र राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सामाजिक सञ्जालमार्फत संघको तर्फबाट आभार व्यक्त गरेका छन्। श्रेष्ठले अघिल्लो आर्थिक वर्षसम्म भत्ता पाउने सबैको खातामा रकम शुक्रबार जम्मा भएको जानकारी दिएका छन्।

अघिल्लो आर्थिक वर्षसम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले प्रति पदक ६ हजार र सागका स्वर्ण पदक विजेताले प्रति पदक ६ हजार रुपैयाँ प्रोत्साहन प्राप्त प्राप्त गर्दै आएका थिए।

खेलाडी संघले पुस २२ गते बधाई तथा शुभकामना दिँदै खेलाडीहरुको भत्ता रोकिएको र चाडै निकासा गर्नका लागि आग्रह गरेको थियो।

चार वर्षदेखि सरकारले आफू मातहतको राखेप मार्फत ओलम्पियन, एसियाडका पदक विजेता र सागका स्वर्ण पदक विजेता खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको थियो।

१३ औं सागका ५१ स्वर्ण पदक विजेताले अहिलेसम्म प्रोत्साहन भत्ता पाएका छैनन्।

खेलाडी संघका अध्यक्ष श्रेष्ठले १३ औं सागका स्वर्ण पदक विजेतालाई निराश नहुन र आफ्नो प्रशिक्षणलाई निरन्तरता दिन आग्रह गर्दै भनेका छन्, ‘तपाईहरुले प्रोत्साहन भत्ता पाउने निश्चित नहुँदासम्म खेलाडी संघले आफ्नो अभियानलाई निरन्तर जारी राख्ने पनि हामी सम्बन्धित सबै पदक विजेता खेलाडीलाई आश्वस्त पार्न चाहन्छौं।’

१३ औं सागका विजेतालाई कार्यविधि तयार पछि उपलब्ध गराइने बताइएको छ।

प्रोत्साहन भत्ताका विषयमा कार्यविधिको मस्यौदा तयार गर्नका लागि मन्त्री लामाले आफ्नो पहिलो निर्णयका रुपमा ७ सदस्यीय समिति गठन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .