अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले बैंकिङ कसुर गरेको उच्च अदालत पोखराको संयुक्त इजलासले ठहर गरेको छ।
चेक बाउन्सको बैंकिङ कसुर मुद्दामा फैसला गर्दै उच्च अदालतले उनलाई १० दिनको कैदसजाय समेत हुने फैसलामा उल्लेख छ। तर उनले यसअघि नै १० दिन कैद भुक्तान गरेकाले सफाइ पाएका छन्।
उनीविरुद्ध पोखरा लेकसाइडमा रहेको ओम गौरा जोस्टेल प्राइभेट लिमिटेडका प्रोपाइटर हरीभक्त आचार्यले जाहेरी दिएका थिए।
गुरुङले राष्ट्रिय महिला फुटबल टोलीलाई आफ्नो होटलमा चार दिन राखेबापतको २ लाख १५ हजार रुपैयाँ सेवाशुल्क नतिरेको र सोबापत ०७६ असोज १३ मा दिएको २ लाखको चेक बाउन्स भएको भन्दै अदालतमा आचार्यले मुद्दा दायर गरेका थिए।
अदालतमा आफूले दिएको गण्डकी विकास बैंकको २ लाख नगदी चेक आफ्नै भएको गुरुङले पुष्टि गरेका छन्। राष्ट्रिय खेलकुद परिषदले दिनुपर्ने पैसा पठाउन ढिला गरेकोले आफूले पैसा नभए पनि चेक काटिदिएको गुरुङले बयान दिएका थिए।
सोही क्रममा होटललाई साफ खेलको महिला सहायक कोच अरुणा गुरुङले उसले पाउनुपर्ने रकम दिइसकेको कारण अदालतले जाहेरवालालाई कुनै क्षतिपूर्ति दिनु नपर्ने देखिएको फैसलामा जनाएको छ।
तर गत वर्ष माघ १० मै गुरुङ जेल बसेर माघ २२ मा २ लाख नगद धरौटी राखी छुटेकोले १० दिन जेल सजाय पूरा भएको अदालतले आफ्नो फैसलामा भनेको छ।
उच्च अदालत पोखराले गत कात्तिक १७ गते यो फैसला गरे पनि गत पुस २७ गते फैसलाको पूर्णपाठ आएको हो।
गुरुङले दिएको उक्त चेक आचार्यले ०७६ असोज १३ गते भुक्तानी पाउने गरी कुमारी बैंकमा सटही गर्न जाँदा पर्याप्त रकम नभएपछि चेक बाउन्स भएको थियो।
यस्ताे छ फैसला







प्रतिक्रिया