खेल


डियगो म्याराडोनाः जसले नेपालीलाई अर्जेन्टिनाको फ्यान बनाए

डियगो म्याराडोनाः जसले नेपालीलाई अर्जेन्टिनाको फ्यान बनाए

नेपालखबर
मंसिर १०, २०७७ बुधबार १८:३५,

सन १९८४। नेपालको पहिलो टेलिभिजनका रुपमा नेपाल टेलिभिजको स्थापना भयो। त्यसको दुईवर्ष पछि देशका विभिन्न ठाउँमा नेपालीहरुले 'ब्याक एण्ड ह्वाइट'मा नेपाल टेलिभिजनको स्वाद लिन थालिसकेका थिए।

मेक्सिकोमा १९८६ मा फिफा विश्वकप आयोजना भएको थियो। सो विश्वकप नेपाल टेलिभिजनले रेकर्ड गरेर देखाएको थियो। जसका कारण पहिलोपल्ट नेपालीहरुको घरघरमा विश्वकप हेर्न पाए।

त्यही विश्वकपमा सनसनी मच्चाएका थिए, डियगो म्याराडोनाले। जसले हालसम्म पनि ठूलो संख्यामा नेपालीलाई अर्जेन्टिनाको फ्यान बनाईदिए।

उनको कप्तानीमा अर्जेन्टिनाले मेक्सिकोमा भएको १९८६ को विश्वकप जितेको हो। चारवर्षपछिको अर्को विश्वकपमा उनकै कप्तानीमा अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गरेको थियो। 

Image

छोटो कदका यी खेलाडीको कप्तानीमा अर्जेन्टिना १९८६ को विश्वकपमा सहभागिता जनाएको थियो। जसको क्वार्टरफाइनल खेलका लागि म्याराडोना जति चर्चित छन् त्यति जिस्काइन्छन् पनि।

क्वार्टरफाइनलमा अर्जेन्टिना र इंग्ल्याण्ड पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएका थिए। दोस्रो हाफको ६ मिनेट बित्दा पेनाल्टी बक्सभित्रबाट म्याराडोनाले जम्प गर्दै टाउको नजिकै आएको बललाई हातले हानेर पोस्ट भित्र छिराएका थिए। तर रेफ्रिले हातले हानेको नदेखेपछि त्यो गोलले मान्यता पायो।

त्यसबेला म्याक्सिकन एक फोटोग्राफरले भने म्याराडोनाले हातले बल हानेको तस्बिर खिच्न भ्याएका थिए। पछि म्याराडोनाले उक्त गोल ‘थोरै टाउकोले र थोरै इश्वरको हातले’ सम्भव भएको प्रतिक्रिया दिए। सोहीकारण म्याराडोनालाई हालसम्म पनि ‘ह्यान्ड अफ गड’ उद्धरणले पनि जिस्काइन्छ।

तर सोही खेलको ६० औं मिनेटमा उनले गरेको गोललाई सायदै कसैले भुल्नेछन। उक्त गोल शताब्दीकै उत्कृष्ट गोलमा चुनिएको थियो। मैदानको मध्यभागबाट बल अघि बढाउँदै म्याराडोनाले इंग्ल्याण्डका पाँच खेलाडीलाई छलाएर सनसनीपूर्ण गोल गरेका थिए।

अझै पहिलोपल्ट टेलिभिजनमा विश्वकप हेर्दैगर्दा अर्जेन्टिनाले विश्वकप नै उचालेपछि नेपालीहरुको मनमा म्याराडोना र यही दक्षिण अमेरिकी राष्ट्र बस्न सफल भएको थियो।

१९९० को विश्वकपमा पनि म्याराडोनाले अर्जेन्टिनालाई फाइनलसम्मको यात्रा तय गराएका थिए। तर फाइनलमा वेष्ट जर्मनीसँग पराजित हुँदै अर्जेन्टिना लगातार विश्वकप जित्नबाट भने चुक्यो।

१९९४ मा अमेरिकामा भएको विश्वकप खेल्न पुगेका म्याराडोना डोपिङ परीक्षणमा असफल भएका थिए। त्यसबेला अमेरिका र फिफाले षडयन्त्र गर्दै म्याराडोनालाई विश्वकपबाट निकालेको भन्दै नेपाली समर्थनले काठमाडौंमा जुलुस निकाल्नुका साथै भित्तेलेखन गरेको धेरैले अझै सम्झन्छन।

70 facts about Argentina legend Diego Maradona | Goal.com

अद्भुत खेलाडी
म्याराडोना फुटबलले पाएको एक सुन्दर उपहार हुन। फुटबलका असाधारण यी खेलाडी आफ्नो जीवनकालमा जति चर्चित भए उति बदनाम पनि। यसैकारण उनलाई फुटबलको त्रुटिपूर्ण आइकन मानिन्छ।

उनले आफ्ना समर्थकहरुलाई भगवानको हात (ह्यान्ड अफ गड)काण्डका कारण आक्रोसित त बनाए नै नसालु पदार्थ र व्यक्तिगत संकटको दलदलले पनि फसे।

६० वर्ष अघि ब्यूनस एयर्सको शहरमा जन्मिएका म्याराडोना आफ्नो बाल्यकालको गरिबीबाट छुटकारा पाएर फुटबल स्टार बन्न पुगे। जसलाई केहीले ब्राजिलका पेलेभन्दा ठूलो मान्छन।

४९१ खेलमा २५९ गोल गरेका यी अर्जेन्टिनी स्टारले २० औं शताब्दीको महान खेलाडीका लागि भएको भोटमा ब्राजिली लिजेन्ड पेलेलाई पछि पारेका थिए। तर पछि फिफाले मतदानको नियम नै परिवर्तन गर्दै दुबै खेलाडीलाई २० औं शताब्दीको महान खेलाडी घोषणा गर्यो।

म्याराडोनाले कलिलो उमेरदेखि नै विलक्षण प्रतिभा देखाएका थिए। उनकै उत्कृष्ट प्रदर्शन मद्दतमा लस सेबोलेटिसको टोली १३६ खेलमा अपराजित रहेको थियो। त्यस्तै प्रदर्शनपछि १६ वर्ष १२० दिनमा म्याराडोना राष्ट्रिय टोलीमा पर्न सफल हुनुभयो।

छोटो र भड्किलो, केवल ५ फिट, ५ इन्चका म्याराडोना एक विशिष्ट एथ्लेटिक्स हुने स्वभावका भने थिएनन। उनमा गतप् थिएन। तौल बढी हुन्थ्यो। तर उनको कौशल, दुरदर्शिता, बलमा नियन्त्रण र ड्रिब्लिङ क्षमता अघि सबै कमजोरीहरु फिक्का देखिन्थे।

अर्जेन्टिनाका लागि ९१ खेल खेल्दै ३४ गोल गरेका छन्। उनले १९८२ देखि लगातार चार विश्वकपमा सहभागिता जनाए।

Time he took a break: Footballing world worried about Diego Maradona after  he requires medical treatment

दुईपटक सर्वाधिक महँगा खेलाडी
म्याराडोनाले दुई पटक सर्वाधिक महँगो खेलाडीको कीर्तिमान रचे। १९८२ मा अर्जेन्टिनी क्लब बोका जुनियर्सबाट बार्सिलोनामा ३ मिलियन पाउन्ड र त्यसको दुईवर्षपछि नेपोलीमा ५ मिलियन पाउण्डमा अनुबन्ध हुँदा त्यसबेला फुटबल खेलाडीलाई तिरिएको सर्वाधिक रकम थियो।

उनी हेलिकोप्टरबाट नेपोलीको मैदानमा उत्रिदा स्टाडियो सान पाउलोमा ८० हजार दर्शकले उनको स्वागत गरेका थिए। इटालीमै उनले आफ्नो क्लब करिअरको उत्कृष्ट फुटबल खेले। नेपोलीबाट उनले दुई लिग र एक यूएफा कपको उपाधि समेत जिते।

तर पछि उनी लागुऔषध कोकिन प्रयोग गर्न थाले। परिणाम स्वरुप १९९१ मा उनलाई फुटबलबाट १५ महिनाको प्रतिबन्ध लगाइयो। यस्तै १९९४ को विश्वकपमा पनि उनलाई लागु औषध प्रयोग गरेको भन्दै घर फर्काइयो।

१९९७ मा तेस्रो पटक पनि ड्रग टेस्टमा पोजिटिभ पाइएपछि उनले ३७ वर्षे उमेरमा फुटबल करिअरबाटै बिट मारे।

कोकिनको तलतल र मदिरा पिउने बाँनीकै कारण उनलाई स्वास्थ्यमा पनि विभिन्न समस्याहरु देखिन थालेका थिए। एक समय उनको शरिरको वजन १२८ केजी पुगेको थियो। २००४ मा उनी हृदयाघातबाट जोगिएका थिए।

यी सबको बाबजुद पनि म्याराडोनालाई अर्जेन्टिनाले २००८ मा प्रशिक्षक नियुक्त गर्यो। २०१० को विश्वकपमा उनको प्रशिक्षकमा अर्जेन्टिना क्वार्टरफाइनलसम्म पुगेको थियो। जर्मनीसँग क्वार्टरफाइनलमा ४–० गोलअन्तरले पराजित भएपछि उनले राजीनामा दिएका थिए।

बुधबार राति भने म्याराडानाले हृदयाघातकै कारण आफ्नो घरमा अन्तिम श्वास फेरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .