खेल


च्याम्पियन्स लिग : युभेन्टस र रियललाई प्रस्ट जित आवश्यक

च्याम्पियन्स लिग : युभेन्टस र रियललाई प्रस्ट जित आवश्यक

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १०:५२,

युरोपियन च्याम्पियन्स लिग फुटबलमा शुक्रबार राति उपाधि दाबेदार दुई ठूला क्लबले पुनरागमनको चुनौती सामना गर्दै छन्।

इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब रियल मड्रिड पहिलो लेगमा पछि परेका छन्।

शुक्रबार राति दोस्रो लेगमा रियल मड्रिडले इङ्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दै छ। सिटीको इत्तेहाद स्टेडियममा रियल आफ्ना नियमित कप्तान सर्जियो रामोसविनै उत्रिनुपर्नेछ। प्रतिबन्धका कारण रामोसले यो खेल गुमाउनेछन्।

जिदानको प्रशिक्षणमा उपाधिमा ह्याट्रिक गरेको रियल गत सिजन अन्तिम १६ बाटै घर फर्किनुपरेको थियो। गत सिजन रियलसँग जिदान थिएन। यसपटक जिदान फर्किए पनि गत सिजनकै नतिजा व्यहोर्नुपर्ने सम्भावना रियलसँग बढी छ।

पहिलो लेगमा मड्रिड आफ्नै मैदानमा २–१ ले पछि परेको छ। राति पौने १ बजे हुने खेलमा रियलले कम्तीमा २-० गोलको अन्तरमा हराउनैपर्ने अवस्था छ। जुन नतिजा सिटीविरुद्ध रियललाई सहज छैन।
रियलले घरेलु लिग जितिसकेको छ भने सिटीले दोस्रो स्थानमा रहँदै घरेलु लिग टुङ्ग्याएको छ।

मड्रिड र सिटी इत्तेहादमा तेस्रो पटक भिड्न लागेका हुन्। यसअघि सन् २०१२/०१३ मा समूह चरणमा १–१ को बराबरी खेलेका थिए। २०१५/१६ मा सेमिफाइनलको पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो।

रियलकै पूर्वस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित इटालियन क्लब युभेन्टसकाे पनि अवस्था उस्तै छ। पहिलो लेगमा पछि परेको युभेन्ट्सले शुक्रबार राति सोही समयमा फ्रेन्च क्लब लियोनको सामना गर्दै छ।

यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा लियोनले १–० को अग्रता बनाएको छ। क्वार्टरफाइनल प्रवेशका लागि युभेन्टसलाई कम्तीमा २–० को जित आवश्यक पर्छ।

लियोन घरेलु लिगमा कमजोर प्रदर्शन गर्दै आगामी सिजनका लागि च्याम्पियन्स लिगका लागि समेत छनोट हुनसकेन। उता युभेन्टस घरेलु लिग सिरि–ए को विजेता हो।

युभेन्ट्सको मैदानमा लियोनले दुई पटक सामना गरेको छ। २०१४ अप्रिलमा युरोपा लिगमा युभेन्टसले २–१ को नित निकालेको थियो। २०१६ को नोभेम्बरमा भएको च्याम्पियन्स लिगमा १–१ को बराबरी भएको थियो।

यस्तै नतिजा शुक्रबार राति निस्किए युभेन्टस अन्तिम १६ बाटै बाहिरिनेछ। तर युभेन्ट्सले गत सजिन पनि यस्तै कठिन चुनौती पन्छाउँदै अन्तिम १६ बाट अघि बढेको थियो।

एथ्लेटिको मड्रिडसँग पहिलो लेग २–० ले पराजित भएको युभेन्ट्स दोस्रो लेगमा ३–० को जित दर्ता गर्दै क्वार्टरफाइनलमा पुगेको थियो।

उपाधि होडमा बलियो मानिएको युभेन्ट्सलाई कम्तीमा २ गोलको अन्तरमा प्रस्ट जित आवश्यक पर्छ।

कोरोना संक्रमणका कारण पछि धकेलिएका लिगमा चार खेल बाँकी छन्। शनिबार राति बार्सिलोना र नापोली तथा वायर्न म्युनिख र चेल्सी भिड्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad