समुन्द्री सतहबाट दुई हजार मिटरभन्दा माथि उचाईमा सुदूरपश्चिमको अछाममा रामारोशन स्काई रन २०२६ आयोना हुने भएको छ।
नेपाल एडभेन्चर रनिङ फेडेरेसनको आयोजनामा अछामको रामारोशन गाउँपालिकामा पहिलोपटक स्काई रनिङ आगामी असार ३ गते हुने लागेको हो। प्रसिद्ध पर्यटकीय तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रामारोशन क्षेत्रमा स्काई रनिङ हुने भएको छ।
एडभेन्चर रनिङ फेडेरेसनले मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा पत्रकार सम्मेलन गर्दै नेपालमा पहिलोपल्ट २८ किलोमिटरको स्काई रनिङ हुने जानकारी दिएको हो। समुन्द्री क्षेत्रको दुई हजार ५० मिटरदेखि तीन हजार ८ सय ५० मिटर उचाईमा उक्त दौड हुने भएको छ। स्काई रनिङ च्यालेन्जमा पुरुष र महिला विधामा प्रतिष्पर्धा हुनेछ।
साथै, स्थानीय युवालाई प्रोत्साहन गर्न पाँच किलोमिटर सामुदायिक दौड पनि आयोजना हुने नेपाल एडभेन्चर रनिङ फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी दिए। उक्त दौड रामेखण्डबाट सुरु भई जिङ्गाले ताल, लामादह ताल, रोशन पाटन हुँदै तीन हजार ८२० मिटर उचाइमा रहेको चाँखाटप र किनिमिनी पाटनलगायतका प्रमुख प्राकृतिक स्थलहरू पार गर्दै पुनः रामेखण्डमै पुगेर टुङ्गिनेछ। धावकहरूको सुरक्षा र सुविधाका लागि ६ वटा वाटर पोइन्ट र ६ वटा चेक पोइन्टको व्यवस्था गरिएको छ। उक्त दौडमा एक सय जना धावकले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
पर्यटन प्रवर्धन गर्ने उद्देश्यले विदेशी धावकलाई पनि ल्याउने एडभेन्चर रनिङ फेडेरेसनका अध्यक्ष कुँवरले जानकारी दिए। २८ किमी दौड पूरा गर्नेलाई फिनिसर मेडल प्रदान गरिने भएको छ। नेपालका लागि ओलम्पिकमा पदक जित्नसक्ने खेल नै एडभेन्चर रनिङ रहेको र यसलाई सरकारले पनि प्रोत्साहित गर्नुपर्ने अध्यक्ष कुँवरले बताए। त्यसैले पनि फेडरेसनले एडभेन्चर रनिङ प्रतियोगितालाई विकास गर्दै लगेको उनको भनाइ छ।
सुदूरपश्चिममा पहिलोपल्ट एडभेन्चर रनिङ हुन लागेको उनले बताए। २८ किलोमिटर स्काई रनिङ च्यालेन्जको पुरुष तथा महिला दुवै विधामा च्याम्पियनले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
दोस्रो र तेस्रो स्थानका धावकले क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। शीर्ष १० स्थान हासिल गर्ने धावकहरूलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ। पाँच किलोमिटर सामुदायिक दौडतर्फ पुरुष तथा महिला दुवै विधाका शीर्ष तीन विजेताले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन्।
प्रतियोगिताको दर्ता शुल्क दुई हजार ५०० रुपैयाँ तोकिएको छ भने स्थानीय सहभागीका लागि निशुल्क गरिएको छ। खेलका लागि दर्ता गर्ने पहिलो ३० जनालाई काठमाडौं–रामारोशन–काठमाडौं निशुल्क यातायात सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ।
सहभागी सबैलाई रामारोशनमा आवास, भोजन तथा अछामभित्र तोकिएको स्थानबाट आवतजावतको सुविधा दिइनेछ। उक्त प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका तथा साँफेबगर नगरपालिकासँगको सहकार्यमा हुन लागेको हो। यस कार्यक्रमको मुख्य उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ।
Shares

प्रतिक्रिया