ad ad

खेल


राष्ट्र र क्लबका लागि मैदान उत्रने खेलाडी कोरोनाविरुद्ध परोपकारी कार्यमा

राष्ट्र र क्लबका लागि मैदान उत्रने खेलाडी कोरोनाविरुद्ध परोपकारी कार्यमा

लक्ष्मी जि.सी
बैशाख २६, २०७७ शुक्रबार ११:५५,

नेपालमा कोरोना भाइरस (कोभिड—१९) का कारण ४५ दिनदेखि नेपाल लकडाउनमा छ। यसले कतिको दैनिक जीवनमा प्रत्यक्ष असर पर्न थालेको छ। डेढ महिनाअघि लकडाउन सुरु भए पनि कोरोना संक्रमितको संख्या बढ्न रोकिएको छैन।

लकडाउनले विपिन्नको अवस्था झन् कठिन हुँदैछ। कठिन अवस्थामा रहेकाहरुलाई सहयोग गर्न सामाजिक संघसंस्था र व्यक्तिहरु अग्रसर भइरहेछन्। अरुको भलाइका लागि सहयोग गर्ने सूचीमा नेपाली खेलाडीहरु पनि छन्।

देश र क्लबका लागि मैदानमा उत्रँने खेलाडी कोरोनाका कारण उत्पन्न कठिन परिस्थितिविरुद्ध परोपकारी कार्यमा अघि सरेका हुन्। १३ औं दक्षिण एशियाली खेलकुद (साग) २०७६ मंसिरमा सम्पन्न भएको थियो। पदक विजेता खेलाडीलाई सरकारले ५ महिनापछि वैशाखको पहिलो साता बल्ल पुरस्कार रकम प्रदान गर्यो। केही पदक विजेता खेलाडीहरु त्यी रकमको हिस्सा कठिन अवस्थामा रहेकाहरुलाई सहयोग गरिरहेछन्।

ज्यालादारी गर्नेहरुको दैनिक जीवनमा असर पर्न थालेपछि कठिनाइमा परेकाहरुलाई सहयोग गर्न खेलाडीहरु स्वस्फुर्त सक्रिय भएका हुन्।

खानाको प्याकेट लिएर आश्रममा मण्डेकाजी
सागका दोहोरो स्वर्णपदक विजेता कराँतेका मण्डेकाजी श्रेष्ठ मध्यपुर ठिमीको स्थानीय क्लबसँग मिलेर राहत वितरण गरिरहेछन्।

लकडाउनमा सबैलाई घरमै बस्न सुझाव दिँदै उनी भन्छन्, ‘सुरुमा लकडाउनलाई पूर्ण पालना गर्दै १०–१५ दिन घरमा बसेँ। तर पछि धरैलाई खान लाउन समस्या भएको सञ्चारमाध्यमबाट सुनेँ। कपितय पैदल हिँडेर घर जान लागेको देख्दा साह्रै मन दुख्यो। अनि यस्तो बेलमा केही गर्नपर्छ भनेर सहयोग गर्न निस्किएँ।’

monday kaji shrestha 1सहयोग सामग्री आश्रमलाई हस्तान्तरण गर्दै कराँते खेलाडी मण्डेकाजी श्रेष्ठ।

स्थानीय जनता क्लब र रोटरी क्लब काठमाडौंसँग मिलेर मण्डेकाजी वृद्धाश्रम, बालआश्रमसहितका स्थानमा सहयोग गरिरहेछन्। ‘सुरुमा सानो ठिमीमा रामहरि श्रेष्ठ र मेरो नेतृत्वमा एउटा मिटिङ भयो। पछि जनता क्लब र रोटरी क्लब काठमाडौ पनि हामीसँगै जोडिन आउनुभयो। अहिले थुप्रैले सहयोग गरिरहनु भएको छ। हामीले वृद्धाश्रम, बाल आश्रमहरुमा प्योकट खाना प्रदान गरिरहेका छाैं।’

सरकारले ढिलो गरी प्रदान गरेको सागको पुरस्कार राशीले केही सहयोग गर्न पाइएको उनी बताउँछन्। ‘त्यही पुरस्कारबाट आएको रकमको केही हिस्सा समाज सेवामा लगाइरहेछु। खेलाडीको ठाउँबाट पनि केही गर्नपर्छ भनेर सहयोग गरिहेको हो।’

सरकारले सागमा स्वर्ण विजेतालाई ९ लाख, टिम स्पर्धामा स्वर्णलाई ६ लाख र एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो। कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य दोहोरो स्वर्ण विजेता हुन्। उनीहरुले २२ लाख पाएका थिए।

सागकै दोहोरो स्वर्णधारी तेक्वान्दोकी आयशा शाक्यले पनि आफूले पाएको पुरस्कार रकमबाट कीर्तिपुर नगाँउ बस्ने ३५ जना दृष्टिविहिनलाई खाद्यान्न सहयोग गरेकी छन्। उनले चामल १० केजी, दाल १ केजी, तेल १ लिटर, नुन केजी, चाउचाउ ४ वटा र भुजिया १ केजी वितरण गरेका छिन्।

aayashaआयशा शाक्या कीर्तिपुरका दृष्टिबिहीनलाई सहयोग सामग्री हस्तान्तरण गर्दै।

सागमै टेबलटेनिस खेलमा महिला टिम इभेन्ट्समा कास्य पदक जितेकी एलिना महर्जनले पुरस्कार बापत पाएको रकमको ५० प्रतिशत सहयोगमा लगाएकी छन्। कठिन अवस्थामा रहेकाहरुलाई उनले चामल, दाल, चिउरा, नुन, तेल वितरण गरेकी छिन्। ‘मेरो सहयोग करिब करिब २ सय परिवारलाई पुग्यो होला’, उनी भन्छिन्।

सागमै कराँतेमा स्वर्ण पदक जित्ने अनु अधिकारी पनि आफूले पाएको रमकबाट असाहयलाई सहयोग गरिरहेकी छिन्। उनले टोखास्थित शारीरिक रुपमा अशक्त परिवारलाई खाद्यान्न वितरण गरेकी हुन्। अधिकारी भन्छिन्,‘यो समयमा हामीलाई त खान समस्या भएको छैन तर कतिपय गरिब र अशक्तहरु धेरै समस्या छन्। त्यो देखेर केही गरौं भनेर सहयोग गरेकी हुँ। मैले जति सक्छु त्यति सहयोग गर्छु।’

सन् १९९८ मा एसियाली खेलकुदमा रजत पदक जितेकी तेक्वान्दो खेलाडी सविता राजभण्डारी अहिले अमेरिका बसोबास गर्छिन्। काठमाडौंमा अप्ठ्यारोमा परेका नेपालीलाई उनले पनि यतिबेला सहयोग गरिरहेकी छिन्। उनी र श्रीमान् किशोर श्रेष्ठले दैनिक ज्यालादारी गर्ने पीडित परिवारलाई खाद्य सामाग्री प्रदान गरेका छन्। उनीहरुले काठमाडौं महानगरपालिका वडा ११ का २ सय पीडित परिवारलाई राहत उपलब्ध गराएका हुन्।

alina maharjanटेबल टेनिस खेलाडी एलिना महर्जन अप्ठ्यारोमा परेकाहरुलाई खाद्यान्न वितरण गर्ने तयारीमा।

क्रिकेटर भन्छन्, ‘सेवा नै उत्तम कर्म’
राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कोरोना राहतका लागि सरकारले स्थापना गरेको कोषमा १ लाख रुपैयाँ सहयोग गरेका थिए। राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकर यतिबेला मानव सेवा आश्रम भक्तपुर शाखामा सहयोग गरेका छन्। उनी भन्छन्, ‘आफ्नो तर्फबाट सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ। मानव भएर जन्मेपछि यहाँबाट केही लानु त छैन, त्यसैले सेवा नै गर्नु उत्तम कुरा हो।’ आर्थिक होस् वा स्वयंसेवा जे भए पनि गर्न उनले सबैमा आग्रह गरे।

खेलाडी मात्र होइन खेल संघहरुले पनि सहयोग गरिरहेका छन्। नेपाल गल्फ संघले काठमाडौंमा ५२ क्याडीलाई खाद्यान्न प्रदान गरेको थियो। त्यस्तै गल्फ संघको सहयोग र कास्की जिल्ला गल्फ संघको संयोजनमा पोखराको हिमालयन गल्फ कोर्षमा कार्यरत क्याडी तथा कोर्ष कर्मचारी गरी ३७ जनालाई राहत प्रदान गरियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि विभिन्न क्लबमा व्यवसायिक फुटबल खेलेका विदेशी खेलाडीहरुलाई पनि खाद्यन्न सामाग्री प्रदान गरेको थियो। एन्फाले खेलाडी, प्रशिक्षक, रेफ्री, पदाधिकारी वा जिल्ला पदाधिकारीहरुलाई सहयोग गर्नुपर्ने हुनसक्ने भन्दै थप सहयोगका लागि समिति नै बनाएर तथ्याङ्क संकलन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .