नेपालमा रुचाइएको ई–स्पोर्ट्स पब्जीको बहुप्रतिक्षित प्रतियोगिता २०२५ पब्जी मोबाइल नेपाल सिरिजको ग्रान्ड फिनाले आधिकारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको ओपन क्वालिफायर भदौ १० गतेदेखि सुरु भएको थियो।
कुल पाँच हजार अमेरिकी डलरको पुरस्कार राशि राखिएको यसपटकको शृंखलामा देशभरिबाट ११ हजारभन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोलीले डिसेम्बर २०२५ मा हुने पब्जी मोबाईल स्टार च्यालेन्जमा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन्।
स्थानीय समुदायलाई ध्यानमा राखेर आयोजना गरिएको यस ई–स्पोर्ट्स प्रतियोगिताले नयाँ पुस्ताका गेमरहरूलाई आफ्नो प्रतिभा देखाउन र प्रतिस्पर्धात्मक अनुभव लिन एक वास्तविक प्लेटफर्म उपलब्ध गराएको छ।
साथै यस वर्ष पहिलो पटक फ्रान्चाइज स्टाइलको फर्म्याट अपनाइएको छ, जसअन्तर्गत शीर्ष १६ टोलीले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नुको साथै प्रख्यात गेमिङ क्रिएटर र कन्टेन्ट पर्सनालिटीहरूसँग सहकार्य गर्ने विशेष अवसर समेत पाउनेछन्। यसले प्रतिस्पर्धात्मक अनुशासनलाई इन्फ्लुएन्सर–केन्द्रित सहभागितासँग मिसाउनेछ।
प्रतियोगीहरूको क्षमता, रणनीति र टोलीगत समन्वयलाई परिक्षण गर्न प्रतियोगिता विभिन्न चरणमा विभाजित गरिएको छ। यसअनुसार ओपन क्वालिफायर अगस्ट २६ देखि ३१ सम्म भएको थियो। त्यसैगरी राउन्ड अफ १२८ सेप्टेम्बर ३ देखि ४, राउन्डअफ ६४ सेप्टेम्बर ५ देखि ६, प्लेअफ सेप्टेम्बर १९ देखि २१ र ग्रान्ड फिनाले सेप्टेम्बर २२ देखि २४ सम्म भएको थियो।
समावेशिताप्रति ऐतिहासिक कदम चाल्दै पब्जी मोबाईलले यसपटकको फाइनलमा नेपालमै पहिलोपटक गर्ल्स ओन्ली शो–म्याच आयोजना गरेको छ।
यस विशेष प्रदर्शनीमा १६ वटा महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ। सहभागी टोलीहरूले रु. २५,००० नगद पुरस्कार पाउनेछन्। यस कदमले ई–स्पोर्ट्स प्रतिभामा लैंगिक विभेद नहुने सन्देश दिनुका साथै नेपालमा बढ्दो गेमिङ समुदायभित्र अझ व्यापक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य बोकेको छ।
Shares

प्रतिक्रिया