ad ad

खेल


वर्ष २०७६ तर्फ फर्केर हेर्दा नेपाली खेलकुद

वर्ष २०७६ तर्फ फर्केर हेर्दा नेपाली खेलकुद

लक्ष्मी जि.सी
चैत ३०, २०७६ आइतबार ८:३१,

वर्ष २०७६ नेपाली खेलकुदका लागि धेरै हिसाबले स्मरणीय रह्यो। 

देशकै प्रतिष्ठाका रुपमा रहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना र त्यसमा प्राप्त सफलताले नेपाली खेलकुदका थुप्रै कमजोरी ओझेल परे। सागमा ५१ स्वर्णसहित २ सयभन्दा बढी पदक जित्दै सन् १९९० पछि नेपाल यो वर्ष पहिलो पटक पदक तालिकाको दोस्रो स्थानमा रह्यो। राजधानी बाहेक पोखरा र जनकपुरमा पनि साग आयोजना गरिँदा त्यसले देशभित्र खेल रौनक विस्तार गरिदियो। साग मात्र होइन भलिबल, क्रिकेट र फुटबलमा नेपालको प्रदर्शनले वि.सं. २०७६ लाई स्मरणीय बनायो।

सागमा गौरिका सिंहले ४ स्वर्ण पदक जित्दै राष्ट्रको शिर उचो बनाइदिइन्। साग पदक तालिकामा कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले दोहोरो स्वर्ण पदक दर्ज भए।

आन्तिरिक रुपमा खेलाडीहरुका लागि प्रतिभा देखाउने अर्को ठाउँ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि यसै वर्ष भयो। बाँकेमा आयोजना भए पनि समग्रमा प्रदेश ५ ले आठौं राष्ट्रिय खेलकुदको आयोजना गरेको थियो। राष्ट्रिय खेलकूदका नाममा नयाँ भौतिक पूर्वाधार निर्माण र नेपालगन्ज रंगशालासहित अन्य पूर्वाधार पुनःनिर्माण भए।

फुटबलः सागमा लगातार दोस्रो स्वर्ण
२०७६ मंसिर २४ गते दशरथ रंगशालामा सागको अन्तिम स्वर्ण पदकको लागि निर्णय हुँदै थियो। नेपाल र भुटानबीच त्यो स्वर्णको लागि प्रतिस्पर्धा थियो। ‘फुटबलमा स्वर्ण जितेपछि मात्र अन्य स्वर्णको पनि महत्व बढ्छ’, राखेप सदस्य सचिव रमेशकुमार सिलवालले त्यति बेला भने। हुन पनि नेपाली टोली यु—२३ लगातार दोस्रो पटक स्वर्ण पदक जित्न सफल रह्यो। रंगशालामा प्रत्यक्ष उपस्थित दर्शक र टेलिभिजनमार्फत हेर्ने लाखौं नेपाली दर्शकले जीतको उल्लास मनाए।

football

नेपाली फुटबलका लागि यो वर्षको अर्को पाटो पनि छ। फुटबलको सिनियर टोलीको प्रदर्शन औषत मात्र रह्यो। विश्वकप छनोटका ५ खेल खेल्दा एउटामा मात्र जित निकाल्न सफल भयो। नेपालले चाइनिज ताइपेलाई २–० ले पराजित गर्नु नै पुरुष टोलीको एउटा सफलता हो। विश्वकप छनोट अन्तर्गत कै अष्ट्रेलिया र चाइनिज ताइपेविरुद्ध घरेलु मैदानमा हुने खेल कोरोना भाइरसका कारण अनिश्चित कालका लागि स्थगित छन्।

राष्ट्रिय महिला टोलीले लगातार उच्च प्रदर्शन गरे पनि च्याम्पियन भने बन्न सकेन। पहिलो पटकको सहभातिगामा ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेको महिला टोलीले यो वर्ष दुई वटा फाइनल खेल्यो। दुवैमा उपविजेताका रुपमा चित्त बुझायोे। भदौमा कीर्गिस्तानमा नादेझ्दा कपको फाइनलमा उज्वेविकस्तानसँग ३–२ ले पराजित भएको थियो। मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागको फाइनलमा नेपाल फेरि एक पटक भारतसँगै पराजित भयो। फाइनलमा नेपाल २–० ले पराजित भएको थियो। नेपालले साफ च्याम्पियनसिप र सागका कुनै पनि फाइनल भारतलाई हराउन सकेको छैन। सागको फाइनलमा पराजित भएपछि प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका थिए।

भलिबलमा सफलता
राष्ट्रिय खेल भलिबलका लागि महिला टोलीले यसपटक दोहोरो सफलता दिलायो। मंसिरमा १३ औं सागमा रजत पदक जितेको टोलीले कार्तिक अन्तिम साता बगंलादेशमा भएको एसियन भलिबल फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप भलिबलमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो। अरुणा शाहीको कप्तानीमा रहेको महिला टोलीले बंगलादेशमा कुनै पनि खेल नगुमाई च्याम्पियन बन्यो। यता घरेलु कोर्टमा भएको सागमा पनि स्वर्ण पदक नजिक पुगेर टोली अन्तिममा निराश हुन पुग्यो। यद्यपि सागमा महिला टोली पहिलो पटक फाइनल पुगेको हो। यसअघि तीन पटकको सहभागितामा नेपालले तीनै पटक कास्य पदक जितेको थियो। यसपटक फाइनलमा नेपाल भारतसँग ३–२ ले पराजित भएको थियो। नेपालले सेटमा भारतलाई हराएको यो पहिलो पटक हो।

क्यानको निलम्बन फुकुवा
करिब साढे ३ वर्ष नेतृत्वबिहीन रहेको नेपाल क्रिकेट संघ (क्यान) ले गत असोजमा नयाँ नेतृत्व पाउनु नेपाली क्रिकेटका लागि सुखद पक्ष हो। अन्तर्रािष्ट्रय क्रिकेट परिषद् (आईसीसी) ले बनाएको स्वतन्त्र कमिटीले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको केही सातापछि असोज २७ गते क्यानमाथिको निलम्बन फुकुवा गर्यो। क्रिकेट टोलीले यो वर्ष सुखद नतिजा दिलाउन नसके पनि संस्थागत रुपमा क्यान पुर्नस्थापित हुन पुगेको हो। क्यान निलम्बन फुकुवा भएको २४ घण्टा नबित्दै पारस खड्काले राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट राजनीनामा गर्दै धेरैलाई आश्चार्यमा पारेका थिए। पारसकै कप्तानीमा उपकप्तान रहेका ज्ञानेन्द्र मल्ल नयाँ कप्तानका रुपमा नियुक्त भए।

नेपालले क्रिकेटमा यो वर्ष ३१ अन्तर्राष्ट्रिय खेल खेल्यो। १४ खेलमा जित हासिल गर्दा १५ मा पराजित भयो। दुई खेलको नतिजा वर्षका कारण रद्द भए। राष्ट्रिय महिला टोलीले यो वर्ष ४ मात्र अन्तर्राष्ट्रिय खेल खेल्दा २ मा जित र २ हार भोग्यो।

यो वर्ष नै नेपालले घरेलु मैदानमा १४ वर्षपछि फस्ट क्लास क्रिकेट खेल्ने अवसर पायो। विश्वको पुरानो क्रिकेट क्लब एमसीसीले यो वर्ष नेपाल भ्रमण गरेसँगै नेपालले फस्ट क्लास क्रिकेट खेल्न पाएको हो। सो खेलमा नेपालका ९ खेलाडीले डेब्यु गरे। जुन खेल कप्तान ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेपछिको पहिलो प्रतियोगिता समेत थियो।

विश्वकपको यात्राको रुपमा समेत हेरिएको विश्वकप छनोट लिग–२ को यात्रा नेपालले यही वर्ष घरेलु मैदानबाट गरेको छ। अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजका दुवै खेलमा ओमानसँग पराजित भएको नेपालले अमेरिकालाई भने पराजित गर्यो। सोही खेल क्रममा त्रिवि क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो। त्रिवि क्रिकेट मैदान एकदिवसीय अन्तर्रािष्ट्रय खेल खेलिएको विश्वको १०९ औं मैदान हो।

लिग २ पछि नेपालले सिगांपुरमा एसिसि इष्टर्न रिजन क्रिकेट खेल्यो। सो प्रतियोगितामा लगातार खराब प्रर्दशन गर्दै बाहिरिएपछि नेपालको दोस्रो पटक विश्वकप टि–ट्वान्टी खेल्ने सपनामा तगारो लागेको हो।

यो वर्ष महिला क्रिकेटका लागि पनि सुखद वर्ष रह्यो। महिला खेलाडीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाए। महिला क्रिकेटको १२ वर्षे इतिहासमा महिला क्रिकेट टिमले साग क्रिकेटमार्फत् घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएका थिए। यही वर्ष साग क्रिकेटमा नेपालकी अन्जली चन्दले विश्व कीर्तिमान समेत कायम गरिन्।

यही वर्ष महिला क्रिकेटमा फ्रेन्चाइज लिग पनि पहिलो पटक आयोजना भयो। महिला च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेटमा पहिलो पटक ड्राफ्टबाट ५० खेलाडी छनोट गरिएको थियो। यसले विस्तारै महिला क्रिकेट लिग स्थापनाको संकेत दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .