राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद र पर्यटनको उर्वर भूमि भएकाले सबैखाले दौडको सम्भावना रहेको बताएका छन्।
विश्व म्याराथनको साझा संस्था एसोेसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स) म्याराथनका पदाधिकारीहरूसँग आइतबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
‘सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौडहरू सफलतापूर्वक भइरहेका छन्,’ पौडेलले भने, ‘हाम्रो भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्नसक्छ भन्ने मेरो विश्वास छ।’ यसमा एम्सजस्ता अन्तर्राष्ट्रिय छाता संगठनहरूले प्रोत्साहन गरुन् भन्ने अपेक्षा रहेको उने उल्लेख गरे।
उनले भने, ‘विश्व शान्ति, भाइचारा र सद्भावका लागि खेलको ठूलो महत्व छ, त्यसमा पनि दौड संस्कृतिले स्वस्थ, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्दछ भन्ने मेरो विश्वास छ।’
नेपालले पनि खेलकुद्को विकासका लागि प्रयत्न गरिरहेको र सरकारले खेलकुदमा वर्षेनी लगानी बढाइरहेको बताउँदै उनले निजी क्षेत्रबाट पनि खेलकुदमा आकर्षण बढ्दै गएको बताए।
राष्ट्रपति पौडेलले एम्सको बोर्ड बैठकका लागि नेपाललाई छनौट गरेकोमा धन्यवाद दिदै खेलकुद् र पर्यटनलाई जोड्नेगरी ‘नेपाल हेरिटेज रन काठमाडौँ २५ के रेस’ भएको थाहा पाउँदा खुसी लागेको बताए।
Shares

प्रतिक्रिया