नेपालले बुधबार राति नेदरल्यान्ड्सलाई पराजित गर्दा खेलका नायक बने आरिफ शेख। अलराउन्डर प्रदर्शन गरेका आरिफले एक दिवसीय करिअरकै उत्कृष्ट प्रदर्शन गरे।
खेलमा ‘प्लेयर अफ द म्याच’ बनेका आरिफले ९९ बलमा ७८ रन बनाए। उनले ७ चौका र २ छक्का प्रहार गर्दा नेपाल जितनजिक पुगेको थियो।
२७ वर्षका आरिफले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध नै ‘डेब्यु’ गरेका थिए। सन् २०१८ को अगस्ट १ मा भएको उक्त खेलमा ३ बलको सामना गरेका आरिफ शून्य रनमै क्याचआउट भएका थिए।
आरिफको ‘डेब्यु’ खेलमा नेपाल नेदरल्यान्ड्ससँगै पराजित भएको थियो। त्यतिबेला नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पूरा गर्न पनि नेपाल चुकेको थियो।
बुधबार खेलेका ५ खेलाडी ७ वर्षपहिलेको उक्त टोलीमा पनि सामेल थिए। आरिफसँगै दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने खेलेका थिए।
१९० रनको लक्ष्य पछ्याएको नेपाल ४२औँ ओभरको अन्तिम बलअघि नै १३४ रन बनाउँदा अलआउट भएको थियो। तर नेदरल्यान्ड्सविरुद्ध त्यतिबेला डेब्यू गरेका आरिफ ७ वर्षपछिको खेलमा भने निर्णायक बने।
टी–२० मा पनि आरिफले सन् २०१८ को जुलाइमा नेदरल्यान्ड्सविरुद्ध नै डेब्यू गरे पनि उक्त खेल खराव मौसमका कारण निर्णय हुन सकेन। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १७४ रन बनाउँदा रोकिएको खेल रद्द भएको थियो। त्यतिबेला बलिङ नगरेका आरिफले दोस्रो इनिङ्स नहुँदा ब्याटिङको पनि मौका पाएनन्।
अहिलेसम्म एकदिवसीय ५९ खेल खेल्दा उनले ५० इनिङ्समा ब्याटिङ गरेका छन्। ६ खेलमा उनको ब्याटिङ गर्ने पालो आएन। एकदिवसीयमा उनले १ हजार २०३ रन बनाएका छन्।
औसतमा प्रतिखेल २७.३४ रन छ। शतक प्रहार गर्न नसकेका उनले ८ अर्धशतक बनाएका छन्। ४ खेलमा उनी शून्य रनमै आउट भएका छन्।
यसअघि आरिफले ओमानविरुद्ध ६६ रन बनाएका थिए। यो नै उनको हालसम्मकै सर्वाधिक रन थिए। अमेरिका र वेस्ट इन्डिजविरुद्ध समान ६३ रन बनाएका उनले पपुवा न्युगिनीविरुद्ध नटआउट ५९ रन बनाएका थिए। नामिवियाविरुद्ध ५०, स्कटल्यान्डविरुद्धको ५१ र युएईविरुद्धको ५२ रन उनका सम्झन लायकका प्रदर्शन हुन्।
लामो समय क्रिजमा टिक्नसक्ने खुबीका कारण आरिफ टोलीमा नियमित पर्दै आएका छन्। टी–२० मा भन्दा पनि उनले एकदिवसीय क्रिकेटमै बढि मौका पाउनको कारण पनि उनको सुस्त ब्याटिङ नै हो।
तर पछिल्लो समय उनले आफूलाई अलराउन्डर प्रदर्शनमा पनि अगाडि बढाएका छन्। नेदरल्यान्ड्सविरुद्ध ७ ओभर बलिङ गरेका आरिफले ३५ रन खर्चिए।
पाँचौँ ब्याटरका रुपमा आएका आरिफले आफ्नो कीर्तिमानी प्रदर्शनमा कप्तान रोहित पौडेल र उपकप्तान दिपेन्द्रसँझ साझेदारी गरेका थिए। नेपालले ६८ रन बनाउँदा १६ औँ ओभरमा भीम सार्कीलाई गुमाएपछि रोहितसँग आरिफ क्रिजमा पुगेका थिए।
तर ५५ रनको साझेदारी गरेका रोहित र आरिफको तालमेल नमिल्दा रोहित ३१औँ ओभरमा रनआउट हुन पुगे। रोहित २३ रन बनाएर आउट भए। जतिबेला नेपालले १२३ रन मात्रै बनाएको थियो।
तर त्यसपछि आरिफले दीपेन्द्रसँग ९ रनको साझेदारी गर्दै आउट भए। त्यसपछि नेपाललाई मात्रै १४ रन आवश्यक थियो। त्यसपछि आएका गुल्शनले ४ बलमा ११ बनाउँदा नेपालले जित सुनिश्चित गर्यो। विजयी छक्का प्रहार गर्नुपहिले गुल्शनले एक चौका प्रहार गरेका थिए। दीपेन्द्र ३ रनमा नटआउट रहे।
आईसीसी लिग–२ अन्तरगतकै शृंखलाको पहिलो खेलमा स्कटल्यान्डविरुद्ध भने आरिफले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। नेपालले हालसम्मकै उच्च लक्ष्य पूरा गरेको खेलमा आरिफले १५ बलमा जम्मा ७ रन बनाएका थिए। आरिफले ३ ओभर बलिङ गर्दा १७ रन खर्चिएका थिए।
दीपेन्द्र पनि २३ बल खेलेर ८ रनमै आउट भएको उक्त खेलमा करण केसी नायक बने। जुन खेल नेपालले अन्तिम बल अघि मात्रै एक विकेटले जितेको थियो। तर पहिलो खेलमा नचलेका आरिफ र दीपेन्द्र दोस्रो खेलमा निर्णायक बने।
यो जितसँगै नेपालले १४ खेलबाट १० अंक जोडेको छ। नेपाल अन्तिमको युएईभन्दा एक स्थान माथि छ। अब नेपालले स्कटल्यान्ड र नेदरल्यान्डसँगै एक एक खेल खेल्नेछ।
Shares

प्रतिक्रिया