रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले १८ वर्षको प्रतीक्षापछि पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि-२०२५ जितेको छ।
मंगलबार राति भारतको अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको आईपीएल १८औँ संस्करणको फाइनल खेलमा पन्जाब किग्संलाई ६ रनले हराउँदै आरसीबीले उपाधि हात पारेको हो।
यसअघि सन् २००९, २०११ र २०१६ मा पनि आईपीएलको फाइनल खेलेको आरसीबी चौथो प्रयासमा उपाधि चुम्न सफल भएको हो।
उता ११ वर्षपछि फाइनलमा पुगेर पनि पन्जाब दोस्रोपटक उपाधिबाट वञ्चित भएको छ। पन्जाबबले सन् २०१४ मा पहिलोपटक फाइनल खेलेको थियो।
तर जित वा हार जे भए पनि दुवै टोलीले ठूलो राशिको पुरस्कार पाएका छन्।
विजेता आरसीबीले भारु २० करोड पुरस्कार पाएको छ भने पराजित पन्जाब किंग्सले १२ करोड ५० लाख रुपैयाँ प्राप्त गरेको छ।
साथै आईपीएल २०२५ मा सबैभन्दा धेरै रन बनाउने गुजरात टाइटन्सका साई सुदर्शनले ओरेन्ज क्याप पाएका छन्।
उनले १५ खेलको १५ इनिङमा ७५९ रन बनाए। यसमा एक शतक र छ अर्धशतक पनि छन्।
सोही टोलीका प्रसिद्ध कृष्णले सबैभन्दा धेरै २५ विकेट लिएर पर्पल क्याप पाएका छन्।
आईपीएलको सबैभन्दा सफल टोलीमध्ये एक मुम्बई इन्डियन्सका सूर्यकुमार यादव सबैभन्दा मूल्यवान् खेलाडी बनेका छन्।
यस्तै राजस्थान रोयल्सका वैभव सूर्यवंशी सिजनको सुपर स्ट्राइकर बनेका छन्।
सात खेलका सात इनिङमा वैभवले २०६.५५ को स्ट्राइक रेटमा २५२ रन बनाए।
चेन्नई सुपर किंग्सले आईपीएल-२०२५ को फेयर प्ले अवार्ड प्राप्त गरेको छ।
Shares

प्रतिक्रिया