आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजमा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्डविरुद्ध खेल्दैछ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिलमा हुने खेल दिउँसो पौने चार बजे सुरु हुनेछ।
सिरिजको पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाली टोली सोही लयलाई कायम राख्ने योजनामा छ।
नेदरल्यान्ड भने सिरिजमा पहिलो खेल खेल्न लागेको हो। नेदरल्यान्ड सुखद सुरुवातको योजनामा छ।
लिग २ सिरिजमा नेपाल र नेदरल्यान्ड सन् २०२४ को फेब्रुअरीपछि भेट्न लागेका हुन्। यसअघि नेपालको घरेलु मैदान कीर्तिपुरमा भएको सिरिजमा नेपालले नेदरल्यान्डलाई १ खेलमा पराजित गर्दा १ खेलमा हार भोगेको थियो।
लिग २ मा १३ खेल खेलेको नेपाल ३ खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँड्दै ८ अंकसहित तालिकाको सातौँ स्थानमा छ।
उता लिगको २० खेलमध्य १२ खेलमा जित, ६ खेलमा हार र २ खेलमा अंक बाँडेको नेदरल्यान्ड २६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया