आठौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप २०८२ अन्तर्गतका विजेताले शनिबार नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
नेपाल स्केटिङ तथा स्केट बोर्डसंघद्धारा वार्षिकरुपमा आयोजना हुने गरेको सो च्याम्पियनशिपमा महिला खुलातर्फ खुसी विक प्रथम, लेमन मगर दोस्रो र समिक्षा राईले तेस्रो स्थान प्राप्त गरिन्।
यस्तै खुला पुरुषतर्फ गजेन्द्र बर्देवा प्रथम, शरद राई दोस्रो र वसन्त राई तेस्रो भए।
यस्तै पुरुष जुनियरतर्फ अभिषेक परियार प्रथम, अंकित विक दोस्रो र अविनाश कुमाल तेस्रो भएको स्केटिङ तथा स्केट बोर्डसंघका महासचिव सत्य थापाले बताए।
खुलातर्फको प्रतियोगिताका प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपियाँ पुरस्कार पाएका थिए। यस्तै जुनियरतर्फ प्रथमले १० हजार, दोस्रोले पाँच र तेस्रोले तीन हजार रुपियाँ पुरस्कार हात पारेका छन्।

तीनवटै विधाका विजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्डका अध्यक्ष अच्युत खनाल, संघका सल्लाहकार तथा प्रशिक्षक दिलिपराज बराललगायतले नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र वितरण गरेका थिए।
यसअघि शनिबारै विहान सो च्याम्पियनशिप २०८२ को उद्घाटन गर्दै राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ओलम्पिकमा जित्ने गरेर तयारी गर्न खेलाडीलाई आग्रह गरेका थिए।
प्रमाणपत्र वितरण गर्दै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ पनि ओलम्पिक कमिटीको सदस्य संघ भएकोले अब नेपाल स्केटिङ तथा स्केट बोर्डअन्तर्गतका खेलाडीले विभिन्न तहका प्रतियोगितामा सहभागी हुने अवसर पाउने बताए।
सो च्याम्पियनशिपअन्तर्गत शुक्रबार विभिन्न प्रदेशहरुबाट छनौट चरणका खेलहरु भएका थिए। सोही छनौट चरणबाट प्रत्येक समूहबाट १६/१६ जना फाइनल चरणका लागि छनौट भएका थिए । सोही १६÷१६ जना खेलाडीबाट शनिबारको च्याम्पियनशिपबाट विजेता भएका थिए।
Shares

प्रतिक्रिया