खेल


नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस च्याम्पियनसिप हुने

दुई प्रतियोगिताको पुरस्कार १ लाख २५ हजार
नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस च्याम्पियनसिप हुने

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १७:३१, काठमाडौँ

चेसमा नयाँ प्रयोगको रुपमा नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस प्रतियोगिता हुने भएको छ। हिमालयन चेस एकेड्मीले ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को रुपमा चैत १ गते आयोजना गर्न लागेको हो।

एकेडेमीको बार्षिकोत्सवको अवसरमा फ्रिस्टाइल चेस च्याम्पियन आयोजना गर्न लागेको एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूले बताइन्। पूर्वविश्व च्याम्पियन अमेरिकी ग्रान्डमास्टर बबी फिसरले परम्परागत चेसलाई रोचक बनाउने प्रयासस्वरुप फ्रिस्टाइल चेस सुरु गरेका थिए। यसैको प्रतियोगिता आयोजना गर्दै हिमालयन चेस एकेडेमीले नेपालमा फ्रिस्टाइल चेसलाई भित्र्याउने पहल गरेको हो।

‘परम्परागत चेस जेन जी (नयाँ पुस्ता) का लागि खासै रोचक भएन। सिद्धान्तअनुसार खेलिने चेसलाई नयाँपन दिँदै फ्रिस्टाइल चेसले रोचक बनाएको छ। त्यसैले हामीले पहिलोपल्ट नेपालमा फ्रिस्टाइल चेसको प्रतियोगिता आयोजना गर्न लागिएको हो।’

च्याम्पियनसिपका चिफ आर्बिटर याइशाष यासिर खम्बूकाअनुसार फ्रिस्टाइल चेस लिग कम नकआउटको आधारमा सञ्चालन गरिनेछ। सहभागि खेलाडीलाई चार समूहमा विभाजन गरी समूह चरणका खेल एकेडेमीको थापाथलीस्थित चेस हलमा गरिनेछ। समूह विजेता चार खेलाडी फाइनल्समा प्रवेश गर्नेछन्। उनीहरूले नकआउटको आधारमा चैत १ गते होटल रोयल सिंगीमा हुने फाइनल्समा प्रतिस्पर्धा गर्नेछन्।

एकेडेमीले आफ्नो बार्षिकोत्सव चैत १ गते शुक्रबार एकैसाथ दुई प्रतियोगिता आयोजना गर्दैछ। फ्रिस्टाइल च्याम्पियनसिपसँगै ‘हिमालयन ब्लिज कप’ आयोजना गर्न लागेको हो। फ्रिस्टाइलको शीर्ष चारमा स्थान बनाउन असफल खेलाडीसँगै अरु चेस खेलाडीले स्वीस प्रणालीको आधारमा हुने एक दिने ब्लिज कप खेल्नेछन्।

दुई प्रतियोगिताको कुल पुरस्कार १ लाख २५ हजार रुपयाँ रहेको छ। फ्रिस्टाइलको विजेताले २५ हजार, उपविजेताले ९ हजार ६ सय तथा सेमिफाइनलमा पराजित हुने २ खेलाडीले जनही ६ हजार ४ सय पाउनेछन्।

१६ स्पर्धासमावेश ब्लिज कपको विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय, तेस्रोले ६ हजार र चौथो हुनेले ४ हजार प्राप्त गर्नेछन्। ब्लिज कपमा शीर्ष १०, महिलासँगै गल्र्स र ब्वइजका यू ८, यू १०, यू १२, यू १४, यू १६ विजेता, एचसीए बेस्ट, ५० वर्षमाथिको भेट्रान, अनरेटेडतर्फका उत्कृष्ट, फिडे रेटिङ २००० र १७०० मुनिका उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउनेछन्।

एकेमेडीले एक वर्षभित्र सात प्रतियोगिता आयोजना गर्न लागेको हो। यसअघि उसले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप र हिमालयन डुओ गरी ५ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो।

बौद्धिक खेलको रुपमा परिचित चेसलाई नेपालमा प्रवद्र्धन र विकास गर्ने उद्देष्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई काठमाडौं महानगरपालिका ११, थापाथलीस्थित आफ्नै हलमा नियमित चेस ट्रेनिङ दिइरहेको छ। उसले गत पौषदेखि कौशलटारमा भक्तपुर शाखा सञ्चालनमा ल्याएको छ। 

भर्चुअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ। प्रत्येक वुधबार महिलालाई निशुल्क प्रशिक्षण दिइरहेको छ। स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad