दक्षिण अफ्रिकाले समूह ‘बी’ को विजेताको रुपमा आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा खेल्ने भएको छ।
समूह ‘बी’ को अन्तिम खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।
दक्षिण अफ्रिकासँगको हारले भने इङ्ल्यान्ड समूह चरणका सबै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ।
समूह ‘बी’बाट दक्षिण अफ्रिकासँगै अष्टे«लियाले सेमिफाइनल खेल्ने भएको छ। समूह चरणका तीन खेलमा अपराजित रहेको दक्षिण अफ्रिका ५ अंकमा शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो।
एक खेलमा जित र दुई खेलमा अंक बाँडेको अस्टे«लिया ४ अंकमा दोस्रो स्थानमा रहँदै अन्तिम चार खेल्ने पक्का भएको हो। समूह बीबाट एक खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको अफगानिस्तान ३ अंकसहित तेस्रो स्थानमा रह्यो।
पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर ब्याटिङ गरेको इङल्यान्ड ३८.२ ओभरमा १७९ रन बनाउँदा अलआउट भयो।
जो रुटले बनाएको ३७ रन नै इङल्यान्डका लागि सर्वाधिक रह्यो। जोफ्रा आर्चरले २५, वेन डुकेटले २४ रन थपे। इङल्यान्डले १८ रन अतिरिक्त पाएको थियो।
इङ्ल्यान्डलाई कम स्कोरमा रोक्न मार्को जानसेन र वुयान मुल्डरले समान ३ विकेट लिए। केशव महाजनले २ विकेट आफ्नो नाममा गरे।
इङ्ल्यान्डले दिएको १ सय ८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
रासि चान डेर डुसेन ७२ रनमा नटआउट रहे। हेनरिच क्लासेनले ६४ र रयान रिकेल्टोनले २७ रन थपे। जोफ्रा आर्चरले २ तथा आदिल रासिदले एक विकेट झारे।
समूह ए को अन्तिम खेलमा आज भारत र न्युजिल्यान्ड खेल्दैछन्। यसअघि नै सेमिफाइनलमा पुगिसकेका दुई टोलीबीचको खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।
यी दुई टोलीबीचको खेल युएईमा दिउँसो पौने ३ बजे सुरु हुनेछ। यो खेलपछि च्याम्पियन्स ट्रफीको सेमिफाइनल समिकरण पूरा हुनेछ।
समूह बीबाट बंगलादेश र आयोजक पाकिस्तान समूह चरणबाटै बाहिरिसकेका छन्।

प्रतिक्रिया