प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ। विराटनगर स्थित दिल्ली पब्लिक स्कुलको मैदानमा झापा जिल्लालाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो।
मोरङले झापाको २० अङ्क विरुद्ध ३१ अङ्क हासिल गर्दै प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको हो। कोसी प्रदेशका १३ टिमको सहभागिता रहेको प्रतियोगितामा मोरङले उपाधि सँगै ट्रफी , मेडल र १ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने झापाले उपविजेताको ट्रफी , मेडल र ५० हजार नगद पुरस्कारमा चित्त बुझाएको छ।
फुटबलमा चार खेल
कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोसी प्रदेश खेलकुद महोत्सव-२०८१ को दोस्रो दिनमा प्रदेशस्तरीय महिला फुटबलका चार खेल भएको छ। झापा , मोरङ , सुनसरी र धनकुटा विजयी भएको छ।
प्रथम कोसी खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा झापा , मोरङ ,सुनसरी र धनकुटाको जिल्ला टोली विजयी भएको छ। दिल्ली पब्लिक स्कुलको मैदानमा सम्पन्न प्रथम खेलमा तेह्रथुम जिल्ला टोलीलाई ०- गोल गर्दै झापा विजयी भएको हो।
झापाको जितमा जेनिफर मगरले २, सिम्रन राई, मंजिला योङ्गहाङ्ग, रेणु लिम्बू र खुस्मा राईले एक-एक गोल गरे।
त्यस्तै, दोस्रो खेलमा खोटाङलाई ०१ गोल गर्दै मोरङ विजयी भएको छ। मोरङको लागि रेसना राईले खेलको १५ औँ मिनेटमा निर्णायक गोल गरे। तेस्रो खेलमा सुनसरीले सोलुखुम्बुलाई ३-० गोलले पराजित गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। सुनसरीको लागि जुनु लिम्बूले २ र सुमित्रा राईले १ गोल गरे।
चौथो खेलमा ओखलढुङ्गा विरुद्ध अन्तिम समयमा गोल गर्दै धनकुटाले खेल आफ्नो पक्षमा पार्यो। धनकुटाका लागि खेलको अन्तिम समयमा वुमन अफ द म्याच अनिशा राईले गोल गर्दै धनकुटालाई विजयी बनाइन्।
कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले फागुन १३ देखि १८ गते सम्म चल्ने खेलकुद महोत्सवमा हालसम्म एथलेटिक्सका स्पर्धाहरू, डोरी तान र पुरुष कबड्डी प्रतियोगिता सम्पन्न भैसकेको जानकारी दिए।
महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, पुरुष कबड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबल टेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराँते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरी तान लगायतको खेलकुद प्रतियोगिता समावेश छन्।
Shares

प्रतिक्रिया