नेपाल प्रिमियर लिगले पहिलो विजेता पाउन अब मात्रै एक दिन बाँकी छ। शुक्रबारको प्रतीक्षापछि शनिबार एनपीएलको पहिलो संस्करणको विजेता टोली टुंगो लाग्नेछ।
एउटै एनपीएलमा जनकपुर र सुदूरपश्चिम भने तेस्रोपटक भिड्दै छन्। यसअघि नै दुईपटक यी टोलीबीच खेल भइसकेको छ।
यो एनपीएलमा तीनवटा खेल भने पुरानै प्रतिस्पर्धीबीच भइसकेको छ। जनकपुर र सुदूरपश्चिम, जनकपुर र कर्णाली तथा चितवन र कर्णालीबिच दुईदुई पटक प्रतिस्पर्धा भयो।
रोचक त यो भयो कि, दुईपटक प्रतिस्पर्धा गर्दा कुनै पनि टोलीले नतिजा उल्ट्याउन सकेनन्।
जनकपुर दुईपटक सुदूरपश्चिमसँग पराजित भयो। कर्णाली दुईपटक जनकपुरसँग हार्यो। सुदूरपश्चिम र जनकपुरजस्ता फाइनल पुगेका टोलीलाई लिग चरणमा पराजित गरेको चितवनले दुईपटक कर्णालीलाई जित्न सकेन।
दोस्रो भेटमा यी कुनै पनि टोलीले पहिलो हारको बदला लिन सकेनन्।
सुदूरपश्चिमविरुद्ध जनकपुरलाई मौका
सुदूरपश्चिमविरुद्ध जनकपुर दोस्रोपटक हार्यो। जनकपुरले पहिलो खेलमा भन्दा दोस्रो खेलमा निकै सुधार गरे पनि हार टार्न सकेन।
लिग चरणमा जनकपुरलाई हारको स्वाद चखाउने टोली नै सुदूरपश्चिम बन्यो। जनकपुरका लागि त्यो हार २ अंकको नोक्सानीमा मात्रै सीमित बनेन। एनपीएलकै खराब ब्याटिङको कीर्तिमानमा दर्ज भयो।
पहिलो एनपीएलमा सबैभन्दा कम रनमा अलआउट हुने टोलीमा जनकपुरको नाम लेखियो।
१२४ रनको लक्ष्य पछ्याएको जनकपुरले सुदूरपश्चिमविरुद्ध पूरै ओभर पनि क्रिजमा बिताउन सकेन। ८ ओभरअघि नै अलआउट भयो।
सुदूरपश्चिमविरुद्ध ५१ रनमा अलआउट हुँदा जनकपुरका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान अनिल साह, शुभ कंसाकार, शेर मल्ल शून्य रनमा आउट भए।
आसिफ शेख, लाहिरु मिलान्था, हर्ष ठाकर, जेम्स निसम र ललित राजवंशीले पनि १० रन कटाउन सकेनन्। जोशुवा ट्रोम्प एक्लो खेलाडी बने जसले सर्वाधिक १३ रन बनाए।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले ३३ रन बनाउनु नै सर्वाधिक रन थियो। सैफ जैवले २१, ब्रान्डन म्यामुलेन ११ र इसान पाण्डेले १७ रनज बनाएका थिए। दीपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भएपछि सुदूरपश्चिमले सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। तर त्यही सामान्य लक्ष्य जनकपुरलाई भारी पर्यो। अन्तिम खेलमा जनकपुर चितवनसँग पराजित भयो।
अरु ५ टोलीलाई पराजित गर्दै सिधै पहिलो क्वालिफयरमा स्थान बनाएको थियो। क्वालिफायरमा जनकपुरले लिग चरणमा भन्दा सुधार त गर्यो, तर नतिजा बदल्न सकेन।
पहिलो खेलमा पहिले फिल्डिङ गरेको जनकपुरले दोस्रो खेलमा ब्याटिङ गर्यो। कप्तान अनिल साहले यो खेल गुमाए। अनिलको स्थानमा आसिफसँग लाहिरु मिलान्थालाई ओपनिङमा पठायो।
पहिलो खेलमा दोहोरो अंकमा रन बनाउने ट्रम्प दोस्रो खेलमा टिममा परेनन्। उनको स्थानमा मोहमद मोसिनलाई उतार्यो। अनिलले चोटका कारण गुमाएपछि उनको स्थानमा आकाश त्रिपाठीले मोका पाए। टोलीमा दुई खेलाडी बदलिए तर नतिजा बदल्न सकेन।
बदलिएका मोसिन ३ रनमै आउट हुँदा त्रिपाठी ४ रनमा नटआउट रहे। शेर मल्ल र किशोर महतोबाहेक सबैले दोहोरो अंकमा रन बनाए।
यो खेलमा पनि ओपनर मिलान्था १२ र आसिफ ११ रनमा आउट भए।
तर जेम्स निसमले २३ बलमा ४५ रन बनाएपछि १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर यो लक्ष्य मात्रै दुई विकेटको क्षतिमा पूरा गर्दै सुदूरपश्चिमले लिग चरणकै नतिजा दोहोर्यायो। ओपनर विनोद भण्डारीले अविजित ५८ रन प्रहार गरे। पहिलो खेलमा पनि जनकपुरविरुद्ध उनले नै सर्वाधिक ३३ रन बनाएका थिए। विनोद प्लेयर अफ द म्याच पनि भए।
सैफ जैव ३२ रनमा र ब्रान्डन २५ रनमा आउट भएपछि आएका कप्तान दीपेन्द्रले नटआउट २० रन बनाए। ललित र किशोर बाहेक सबै बलर विकेटबिहिन भए। यी दुईले भने एक एक विकेट लिए। पहिलो खेलमा कीर्तिमानी खराब हार व्यहोरेको जनकपुरले दोस्रो मौकामा पनि नतिजा बदल्न सकेन।
अब उसलाई तेस्रो मौका छ। तर लगातारको सहज जितले सुदूरपश्चिम उत्साहित छ। लिगकै नतिजा क्वालिफायरमा दोहोर्याइसकेको सुदूरपश्चिम यही लयलाई कायम राख्दै ह्याट्रिक जितसहित एनपीएलको पहिलो उपाधि उचाल्न आतुर छ।
चितवनलाई २ पटक हरायो, जनकपुरलाई सकेन कर्णालीले
पहिलो संस्करणको एनपीएलमा हारको एउटा चक्र बन्न पुग्यो। सुदूरपश्चिमले जनकपुरलाई हराउने, जनकपुरले कर्णालीलाई र कर्णालीले चितवनलाई पराजित गर्ने। तर जनकपुर र सुदूरपश्चिम भने चितवनसँग पराजित हुने। दुईपटक भिड्दा पनि यही नतिजा दोहोरियो।
एनपीएलको एलिमिनेटरमा कर्णाली र चितवन भिडेका थिए। त्यतिबेला पहिले ब्याटिङ गरेको चितवनले कर्णालीलाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर कर्णालीले अन्तिम बलअघि नै लक्ष्य पूरा गर्यो। १६ वर्षका विपिन शर्माले लगातार ३ विकेट लिएपछि चितवनको ब्याटिङ धर्मराएको थियो।
तर चितवनले अन्तिम खेलमा जनकपुरलाई पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गर्यो। कर्णाली अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भए पनि प्लेअफमा पुग्यो।
प्लेअफमा फेरि यी दुई टोलीको भेट भयो। तर फेरि पनि चितवनमाथि कर्णाली नै हाबी भयो।
लिग चरणमा पहिले ब्याटिङ चितवनले गरेको थियो। एलिमिनेटरमा कर्णालीले पहिले ब्याटिङ गर्यो। कर्णालीका च्याड्विक वाल्टनले २३ बलमा नटआउट ४६ रन बनाएपछि कर्णालीले १७५ रनको चुनौती प्रस्तुत गरेको थियो।
चितवनले ९ विकेटको क्षतिमा १५४ रन मात्रै बनाउन सक्यो र क्वालिफायरमा पुग्न असफल भयो।
चितवनले हराएको जनकपुरसँग भने कर्णाली दोस्रोपटकमा पनि हार्यो। पहिलो खेलको तुलनामा यो खेलमा कर्णालीले जनकपुरमाथि दबाब बढाएको थियो।
लिग चरणमा कर्णालीले पहिले ब्याटिङ गर्दा १४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। कप्तान अनिल साह र आसिफ शेख चलेको खेलमा कर्णाली ८ विकेटले पराजित भएको थियो। त्यो पनि ५ ओभर बाँकी छँदै। त्यो खेलमा अनिलले ४२ बलमा अविजित ६२ रन प्रहार गरेका थिए।
क्वालिफायरको खेलमा अनिल थिएनन्। कर्णालीले पहिले ब्याटिङ नै गरेको थियो। तर लिग चरणमा जति रन बनाउन सकेन। ११९ रनको लक्ष्य प्रस्तुत गर्यो।
जवाफी ब्याटिङ थालेको जनकपुरको सुरुवात खराब थियो। ५० रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो। त्यसपछि आएका जेम्स निसमले खेलको नतिजा नै बदलिदिए।
कर्णालीका पक्षमा ढल्किसकेको खेलमा निसमले २ चौका र ५ छक्का प्रहार गरेपछि नतिजा नै बदलियो। उनी जनकपुरलाई जितका लागि २७ बलमा मात्रै २५ रन आवश्यक हुँदा बाहिरिए। जुन लक्ष्य शेर मल्लले एक छक्काको मद्दतमा अन्तिम ओभर अघि नै पूरा गरे।
यससँगै लिग चरणकै नतिजा चारै खेलमा दोहोरिए। कुनै पनि टोलीले बदला लिन सकेनन्। तर, एनपीएलको फाइनलमा उपाधिसहित बदला लिने अन्तिम मौका जनकपुरलाई छ। सुदूरपश्चिमलाई भने उपाधिको साथमा जितको ह्याट्रिक गर्ने अवसर छ।
Shares

प्रतिक्रिया