जनकपुर बोल्ट्सका कप्तान अनिल शाहले पिचलाई दोष दिनुभन्दा पनि ब्याटरको सट सेलेक्सन राम्रो नहुँदा हार व्यहोर्नुपरेको बताए।
बल धेरै टर्न भएर आउट नभएको र सीधा आएको बलमा पनि आउट भएकाले हारको जिम्मेवारी ब्याटरले लिनुपर्ने उनी बताउँछन्।
बुधबारको खेलमा सुदूरपश्चिमसँग अनपेक्षित पराजय बेहोरेपछि जनकपुर बोल्ट्सका कप्ता शाहले पत्रकार सम्मेलनमा यो भनाइ राखेका हुन्। बुधबार जनकपुरले सुदूरपश्चिमसँग ७२ रनको फराकिलो अन्तरले पहिलो हार भोगेको छ।
सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रन बनाउँदा अलआउट भएको थियो। यसअघिका ४ खेलमा जनकपुर अपराजित थियो। पाँचौँ खेलमा आएर जनकपुरको अपराजित यात्रा मात्र तोडिएन, एनपीएलमा हालसम्मकै सबैभन्दा कम रनको रेकर्ड उसका नाममा रह्यो।
अनिलले आफ्नो ब्याटिङबाट सन्तुष्ट नरहेको पनि प्रस्ट पारे। ब्याटरले आफ्नो दिमागमा धेरै कुराहरू सोचे पनि खेल्न कठिन भएको उनको भनाइ छ।
सुरुदेखि नै मिडल अर्डरको राम्रोसँग परीक्षण हुन नपाएको अनुभव उनले सुनाए ।
कप्तान अनिलले आजको खेलमा मोहम्मद मोहसिनलाई विश्राम दिएर केही नयाँ प्रयोग गरिए पनि सफल नभएको उल्लेख गरे। पछिल्लो खेल र आज मिडल अर्डरसम्म ब्याटिङ आए पनि सफल हुन नसकेको उनको भनाइ छ। ब्याटिङलाई बलियो बनाउन आजको खेलमा तलसम्म ब्याटर राखेको उनी बताउँछन्।
Shares

प्रतिक्रिया