खेल


एनपीएल: जनकपुरले लुम्बिनीलाई जितका लागि दियो १३७ रनको लक्ष्य

एनपीएल: जनकपुरले लुम्बिनीलाई जितका लागि दियो १३७ रनको लक्ष्य

एनपीएलमा आइतबार जारी खेलमा जनकपुर र लुम्बिनी। तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २३, २०८१ आइतबार १०:३७, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार जारी पहिलो खेलमा जनकपुर बोल्ट्सले जितका लागि लुम्बिनी लायन्ससामु १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रनको योगफल तयार पारेको छ। 

अघिल्ला तीन खेलमा कमजोर बलिङ र फिल्डिङका कारण हार भोगेको लुम्बिनीले तेस्रो खेलमा खराब ब्याटिङका कारण लय गुमाएको थियो। तर अहिले जारी चौथो खेलमा केही हदसम्म लुम्बिनीको बलिङ देख्न पाइएको छ। एनपीएलमा लुम्बिनीले पहिलोपटक विपक्षीको ९ विकेट लिएको हो। तर फिल्डिङमा देखिएको समस्या भने खासै सुधार हुन सकेको छैन।

एनपीएलमा डेब्यु खेल खेलिरहेका अविशेष गौतमले १३औँ ओभरमा लगातार तीन विकेट लिँदै लुम्बिनीलाई ठूलो राहत दिए। उनले १३औँ ओभरको दोस्रो बलमा २४ रन बनाएका लाहिरु मिलान्थलाई विकेट किपर अर्जुन साउदको हातबाट आउट गराए।

सोही ओभरको चौथो बलमा हर्ष ठाकेरलाई १ रन बनाउँदा दुर्गेश गुप्ताको हातबाट क्याच आउट गराए। ओभरको अन्तिम बलमा जेम्स निसमलाई पनि विकेट किपरको हातबाट आउट गराउँदै लुम्बिनीलाई राहत दिएका थिए। पाचौँ ओभरमा बलिङमा आएका अविशेषले आफ्नो पहिलो ओभरमा नै १३ रन खान पुगे। पूरै चार ओभर बलिङ गरेका अविशेषले २० रन दिए।

कप्तान रोहित पौडेल र सादविन जफरले समान दुई विकेट झारे। सन्दीप जोराले एक विकेट आफ्नो नाममा गरे। 

जनकपुरले पहिलो विकेटका रूपमा छैटौँ ओभरको तेस्रो बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो। १० बलमा २ चौका र १ छक्का हानेका आशिफ १६ रन बनाउँदा साद विन जफरको बलमा विवेक यादवको हातबाट क्याच आउट हुन पुगे। 

कप्तान अनिल शाह ४५ रन बनाउँदा सन्दीप जोराको बलमा विवेक यादवको हातबाट क्याच आउट भए। उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए। 

कप्तान रोहितले १६औँ ओभरको दोस्रो बलमा मोहम्मद मोहसिनले ३ र चौथो बलमा शेर मल्ललाई शून्य रनमै एलबीडब्लु धरापमा पारेका थिए। 

शुभ कंसाकार २२ रनमा नटआउट रहे। 

लुम्बिनीले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। 

एनपीएलमा चौथो खेल खेलिरहेको लुम्बिनी पहिलो जितको खोजीमा छ। तीन खेलमा अपराजित जनकपुर सोही लयलाई कायम राख्ने दाउमा छ। 

लुम्बिनीले शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध खेलेको टोलीबाट आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ। जनकपुरले भने अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad