फुटबल स्टार क्रिस्टियानो रोनाल्डो युट्युबमा पनि जोडिएका छन्। सामाजिक सञ्जाल फेसबुक, एक्स र इन्टाग्राममा लोकप्रिया फ्यान फलोइङ बनाएका रोनाल्डो बुधबार (२१ अगस्ट, २०२४) बाट युट्युबमा जोडिएका हुन्।
उनले युट्युब च्यानलको नाम ‘यूआर क्रिस्टियानो’ राखेका छन्। उनले युट्युब च्यानल खोलेको २४ घण्टा नपुग्दै १ करोड ५० लाख बढीले सब्सक्राइब गरेका छन्।
आफूले युट्युब च्यानल खोलेकोबारे रोनाल्डोले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

‘लामो पर्खाइ सकिएको छ। मेरो युट्युब च्यानल यहाँ छ। मेरो नयाँ यात्रामा जोडिनुहोला,’ युट्युब च्यानलको लिंक सेयर गर्दै उनले भनेका छन्, ‘तपाईंहरूलाई मेरो तर्फबाट ठूलो सरप्राइज छ। अब मसँग पनि नयाँ युट्युब च्यानल भयो।’
उनले जानकारी गराएलगत्तै समर्थकहरू उत्साहित भएका छन्।
समर्थकहरू यति धेरै उत्साहित बनेका छन् कि, अहिले पनि घण्टामै लाख बढी सब्सक्राइब भइरहेको छ। उनले युट्युब च्यानल खोलेको १७ घण्टा भयो। यो समाचार तयार पार्दासम्म उनीसँग १ करोड ५३ लाखबढी सब्सक्राइबर छन्।

१० लाख सब्सक्राइबर पुगेपछि युट्युबले प्रदान गर्ने गोल्डेन बटन समेत उनले पाइसकेका छन्। उक्त बटन आफ्ना छोरा/छोरीहरूलाई देखाउँदै गरेको भिडिओ पनि उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
जहाँ उनका छोराछोरीहरू उत्साहित हुँदै खुसी भएको देखिन्छ। सँगसँगै उनी सबैभन्दा छिटो १ लाख सब्सक्राइबर पुर्याउने रोनाल्डो पहिलो व्यक्ति भएका छन्।
अहिलेसम्म उनको च्यानलमा लामा र छोटा गरेर १९ वटा भिडिओ अपलोड भएको देखिन्छ।
अब उनी १ करोड सब्सक्राइबर पुगेपछि युट्युबले दिने डायमन्ड बटनका लागि समेत योग्य भइसकेका छन्।
रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडीसमेत रहेका पोर्चुगिज स्टार रोनाल्डो यतिबेला भने साउदी अरेबियाको क्बल अल नासरमा आबद्ध छन्।
Shares

प्रतिक्रिया