हिमालयन शेर्पा क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा शुक्रबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा टाइब्रेकरमा गोर्खा ब्वाइज रुपन्देहीलाई ५–४ गोल अन्तरले पराजित गर्दै शेर्पा अन्तिम ४ मा पुगेको हो। योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। शेर्पाले अब फाइनल प्रवेशका लागि आइतबार रुस्लान थ्रिस्टारको सामना गर्नेछ।
टाइब्रेकरमा सुजित बुढाथोकीको प्रहार विफल भएपछि गोर्खा ब्वाइजको सेमिफाइनल पुग्ने सपना अधूरै रहेको हो। सुजितको प्रहार शेर्पाका गोलरक्षक टेकेन्द्र थापाले उत्कृष्ट बचाउ गरे।
निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। दुवै टोलीले गोल गर्ने सुन्दर मौका बनाए पनि फिनिसिङमा चुक्न पुग्दा स्कोर बनाउन सकेनन्।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा शनिबार आयोजक सुदुरपश्चिम–११ र विभागीय एपीएफ भिड्नेछन्।
प्रतियोगिताको उपाधि विजेताले २१ लाख १ हजार तथा उपविजेताले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया