ad ad

खेल


वाफपछि एकैपटक साफ खेल्दै महिला फुटबल टोली

वाफपछि एकैपटक साफ खेल्दै महिला फुटबल टोली

लक्ष्मी जि.सी
असार २३, २०८१ आइतबार ९:११, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आगामी कात्तिक १ देखि १४ गतेसम्म घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप खेल्दैछ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय टोली लेबनानमा हुने भनिएको सेडास महिला कप खेल्ने योजनामा थियो। तर भिसा र टिकटको प्रक्रिया अघि बढाएपछि पनि नेपालले अन्तिम समयमा प्रतियोगिता नखेल्ने निर्णय गर्‍यो। 

इजरायल–प्यालेस्टाइन युद्धको कारण नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो। सेडास कपपछि नेपालले भुटानमा बंगलादेश सम्मिलित त्रिकोणात्मक सिरिज खेल्न प्रस्ताव राखेको थियो। तर, समय अभावको कारण देखाउँदै भुटानले प्रतियोगिता आयोजना गर्न मानेन। 
भुटानले पनि प्रतियोगिता आयोजना गर्न अस्वीकार गरेपछि महिला टोली साफ अघि प्रतियोगिताविहीन हुने भएको छ।

पर्याप्त तयारीको अभावमा नेपाली टोली फिफा विन्डोमा पनि खेलविहीन हुने भएको छ। नेपालमा हुने साफ च्याम्पियनसिप खेल्ने टोलीहरू फिफा विन्डोमा व्यस्त हुँदा महिला टोली भने प्रशिक्षणविहीन हुने सम्भावना पनि उत्तिकै छ। 

सेडास नखेल्ने निर्णय गर्नु र भुटान प्रतियोगिताका लागि तयार नहुँदा शुक्रबार बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई घर फर्काएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार, समय अभावको कारण देखाउँदै भुटानले प्रतियोगिता गर्न नमान्दा महिला टोली खेलविहीन हुन पुगेको हो। तर पनि एन्फाले अन्य टोलीसँग मैत्रीपूर्ण खेलका लागि प्रस्ताव राखेपनि सबै टोली फिफा विन्डोमा व्यस्त हुने हुँदा नेपालले अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भवना कम छ। 

यद्यपी प्रयास भने भइरहेको स्रोतको दाबी छ। लेवनानको प्रतियोगितामा मात्र ध्यान दिनु र भुटानमा खेल्ने आशामा अन्य देशसँग छिटो प्रस्ताव गर्न नसक्दा महिला टोली अभ्यासमा मात्र सीमित हुन पुगेको हो। 

सेडासका लागि एन्फाले २२ सदस्यीय अन्तिम टोलीको घोषणा गरेपनि भुटानमा प्रतियोगिता खेल्ने आशामा १ खेलाडी थप गरेको थियो। तर अन्तर्राष्ट्रिय अभ्यास खेलको अन्यौलतामा एन्फाले एक महिनाका लागि खेलाडीलाई घर फर्काएको छ। 

गत (२०८०) फागनुमा साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिप पछि कुनै खेल खेल्न पाएको छैन। वाफमा नेपाल जोर्डनसँग टाइब्रेकरमा पराजित हुँदै उपविजेतामा नै सिमित भएको थियो। 

यो पटकको साफ च्याम्पियनसिपमा नेपाल सहज समूहमा परेको छ। यद्यपी नेपालले सेमिफाइनल र फाइनलमा भने पुरानै प्रतिद्धन्दी भारत र बंगलादेशमध्य एकलाई पाउनेछ। 

नेपाल रहेको समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटान छन्। समूह ए मा साफको सर्वाधिक विजेता भारत र साविक विजेता बंगलादेशसँगै पाकिस्तान छन्। अर्को एक टोलीको भने टुङ्गो लाग्न बाँकी छ। समूह ए मा दक्षिण एसिया बाहिरको एक टोलीलाई सहभागिता गराउने निर्णय साफले गरेको छ। 

यो पटकको साफ च्याम्पियनसिपमा सात टोलीले स्पर्धा गर्नेछन्। साफको ६ संस्करणमा नेपाल ५ पटक फाइनलमा पराजित भएको छ।

अघिल्लो संस्करण भारतलाई सेमिफाइनलमा नै हराएर साफमा ऐतिहासिक जित निकालेको नेपाल उपाधिको हकदार थियो। जुन हार भारतका लागि १२ वर्षे इतिहासमा पहिलो हार थियो। तर फाइनलमा बंगलादेशसँग स्तब्ध हुन पुग्यो। त्यो हारले महिला टोलीमाथि थुप्रै प्रश्न उठेको थियो। 

तर अबका संस्करण नेपालका लागि थप चुनौतीपूर्ण हुँदै जानेछन्। एन्फाले समयमा नै सही ठाउँमा पर्याप्त लगानी गर्न नसक्नु, महिला टोलीलाई व्यस्त राख्न नसक्नु र अन्तराष्ट्रिय टोलीको मात्र भर पर्दा महिला टोलीले लिनुपर्ने उचाइ हासिल गर्न सकेका छैनन्। त्यसका लागि एन्फाले घरेलु मैदानमा नै अन्तराष्ट्रिय अभ्यास खेलको व्यवस्था गर्न र फिफा वरियतामा बलिया टोलीसँग पहुँच पुर्याउन आवश्यक भइसकेको छ। 

नेपालको महिला फुटबलमा यस्तै अवस्था रहने हो भने एकदिन भुटान, पाकिस्तान, मालदिभ्स र श्रीलंका पनि नेपालका लागि चुनौती बन्न सक्नेछन्। 

० ० ० ० ० ०
दुई वर्षअघि (२०७९) घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि एकपटक उपविजेतामा नै सीमित भएको थियो। 

त्यसोत दक्षिण एसियाली प्रतियोगितामा नेपाल स्थायी उपविजेता टोली हो। तर हरेक प्रतियोगिता अघि नेपाली टोलीलाई उपाधि दाबेदारको रुपमा हेरिने गरेको छ। तर फाइनलमा नेपाल सँधै पराजित हुँदै आएको छ। 

ठूला प्रतियोगितामा सहभागिता जनाउँदा स्वर्ण पदकको आशा गर्ने एन्फा त्यसका लागि लगानी गर्न भने चुकिरहेको छ। 

पर्याप्त प्रशिक्षण र अन्तर्राष्ट्रिय एक्स्पोजरबिना महिला टोलीले विभागीय टोलीमा गरेको अभ्यासका भरमा नै नतिजा दिँदै आएका छन्। 

महिला फुटबलमा लगानी गर्न आनाकानी गर्ने तर प्रतिफलको मात्र आशा गर्नु महिला टोलीमाथि अन्याय गर्नु हो। एक समय नेपालले सहजै पराजित गर्दै आएको बंगलादेश, भुटानजस्ता देश अहिले वर्षभरी प्रशिक्षण र अन्तर्राष्ट्रिय खेलमा व्यस्त छन्। 

अघिल्लो संस्करणको उपाधि जितेपछि बंगलादेश अझै आक्रामक रुपमा तयारीमा जुटेको छ। घरेलु मैदानमा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको पनि आयोजना गरिरहेको छ। भारत, बंगलादेश, भुटान आफ्नो वरियताभन्दा माथिका टोलीसँग खेल्न व्यस्त छन्। 

तर नेपालको महिला टोली व्यक्तीगत प्रशिक्षणमा मात्र भर पर्दै आएका छन्। राष्ट्रिय टोलीका केही सदस्य वर्षको एक सिजन भारतीय लिगमा व्यस्त रहे। अर्की फरवार्ड सावित्रा भण्डारी साम्बा यूरोपियन लिग खेल्न व्यस्त छिन्। यी बाहेकका खेलाडी भने क्लबको प्रशिक्षणमा मात्र भर पर्दै आएका छन्। 

० ० ० ० ० ०
वाफपछि एन्फाले घरेलु प्रतियोगिताको नाममा पहिलो चरणको महिला लिग आयोजना गर्‍यो। कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा महिला लिगको पहिलो चरण सकिएपछि दोस्रो चरण अझै सुरु हुन सकेको छैन। 

यसअघि राष्ट्रिय महिला लिगको नाममा हुँदै आएको लिगलाई एन्फाले नयाँ नाम दिदैँ एन्फा महिला फुटबल लिग÷च्याम्पियनसिप राखेको थियो। 

२०७८ मा डबल राउण्ड रोविनमा महिला लिग गर्ने भनिए पनि पहिलो चरणमात्र हुन सक्यो। दोस्रो चरणको लिग आयोजना गर्न नसकेको एन्फाले पहिलो चरणको अंक तालिकाको आधारमा नै विजेता घोषणा गरेको थियो। 

यो पटक पनि दोस्रो चरणको महिला लिग जेठदेखि असारसम्म हुने भनिएपनि अहिलेसम्म कहिले हुन्छ भन्ने केही टुङ्गो लागेको छैन। 

पहिलो चरणबाट छनोट भएका तीन प्रदेश, तीन विभागीय टोली र एक अन्तर्राष्ट्रिय क्लबको सहभागिता गराइ सात टोलीबीच दोस्रो चरणको लिग गराउने एन्फाले बताएको थियो। 

तर अहिले एन्फाले नेपालका ए, बी र सी डिभिजन क्लबका महिला टोलीलाई सहभागी गराउने विवादास्पद निर्णय गरेको छ।

जहाँ नेपालका तीन डिभिजनका क्लबले महिला टोली बनाएर ल्याए दोस्रो चरणमा सिधै प्रवेश पाउनेछन्। ती क्लबले ल्याउने महिला टोलीमा पहिलो चरणमा छनोट हुन नसकेका प्रदेशका खेलाडीलाई समावेश गर्न बाटो समेत खोलिदिएको छ।

यस्तोमा पहिलो चरणको छनोट खेलेका प्रदेशका क्लबमाथि भने अन्याय हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .