खेल


खेलाडीलाई २ करोड ९७ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने सरकारको निर्णय

खेलाडीलाई २ करोड ९७ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने सरकारको निर्णय

फाइल फोटो


नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १८:२, काठमाडौँ

मन्त्रिपरिषदको बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषदले अनुमोदन गरेसँगै १९औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्।

आईसीसी मेन्स टी–ट्वान्टी वर्ल्ड कप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ।

१५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पार्नेछन्।

१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन्।

प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्याले १ लाख ९५ हजार प्राप्त गर्नेछन्।

एसियन गेम्समा रजत विजेता कराते टिमले कुल २५  लाख ३५ हजार प्राप्त गर्नेछन्।

एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णु दक्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्नेछन्। यसरी कबड्डी टिमले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्नेछन्।

यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन्।

लामो समयदेखि सरकारले घोषणा गरेको पुरस्कार प्रदान गर्न खेलाडीहरूले बारम्बार गरेको अनुरोधलाई प्रमुख एजेन्डा बनाएर यसको लागि धैरै मिहिनेत गर्न परेको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताए। यसको लागि मन्त्री श्रेष्ठले अर्थ मन्त्रालय र नेपाल सरकारलाई लाई पनि धन्यवाद दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .