ad ad

खेल


एमेच्योर सदभावलाई उपाधि, प्रो भुवन सात स्ट्रोकले पराजित

एमेच्योर सदभावलाई उपाधि, प्रो भुवन सात स्ट्रोकले पराजित

नेपालखबर
चैत १५, २०८० बिहिबार १८:३३, काठमाडौँ

प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकले पराजित गर्दै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको उपाधि हात पारेका छन्।

बिहीबार भएको अन्तिम दिन ३–अन्डर ६९ को स्कोरसहित समग्रमा १४–अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि जितेका हुन्।

यो सिजन सद्भावले जितेको दोस्रो उपाधि हो। यसअघि उनले सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए। जारी सिजन दुई उपाधि जित्ने उनी एक्ला खेलाडी हुन्।

अन्तिम १८ होलको सुरूवातमा प्रो भुवनले ३–ओभर ७५ को खराब प्रदर्शन गरे। समग्रमा ७–अन्डर २ सय ८१ सहित दोस्रो भए। प्रोतर्फ भने उनी पहिलो हुँदै १ लाख ४० हजार हात पारे।

एमेच्योर खेलाडीहरूको दबदबा रहँदा अर्का एमेच्योर विजय श्रेष्ठ आइन्हाउस र प्रो निरज तामाङले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। उनीहरूले समग्रमा ४–अन्डर २ सय ८४ मा खेल सकाए। आज विजयले १-अन्डर ७१ र निरजले २-अन्डर ७० को प्रदर्शन गरे। प्रोतर्फ दोस्रो भएका निरजले ९६ हजार प्राप्त गरे।

समग्रमा इभन–पार २ सय ८८ मा खेल सकाएका दिनेश प्रजापति प्रोतर्फ तेस्रो भए। उनले आज ३-ओभर ७५ मा खेल सकाए। तेस्रो भएका उनले ७२ हजार नगद हात पारे।

यसैगरी समग्रमा ४-ओभर २ सय ९२ सहित सञ्जय लामा र धन बहादुर थापाले प्रोतर्फ संयुक्तरुपमा चौथो स्थान बाँडे। सञ्जयले २-ओभर ७४ र धनले १-अन्डर ७१ को स्कोर निकाले। उनीहरूले जनही ५४ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे।

रवि खड्काले आज २-ओभर ७४ को स्कोर सहित समग्रमा ५-ओभर २ सय ९३ सहित छैटौं स्थानमा प्रतियोगिता सकाए। छैटौं भएका उनले ४२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे।

यसैगरी समग्रमा ७-ओभर २ सय ९४ सहित रामे मगर र भुवन कुमार रोक्काले संयुक्तरुपमा सातौं स्थान बाँडे। दुवैले आज २-ओभर ७४ मा खेल सकाए। उनीहरूले जनही ३७ हजार २ सय ५० नगद हात पारे।

धरानका दुई प्रो युवराज भुजेल र बलभद्र राईले समग्रमा ११-ओभर २ सय ९९ सहित नवौ स्थान बाँड्दा जनही ३२ हजार नगद हात पारे। युवराजले आज ८-ओभर ८० र बलभद्रले ४-ओभर ७६ मा खेल सकाए।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .