ad ad

खेल


क्रिकेट संघलाई एनआरएनएको १० लाख सहयोग, पारस भन्छन्- आगामी १० वर्षमा टेस्ट राष्ट्र बन्ने

क्रिकेट संघलाई एनआरएनएको १० लाख सहयोग, पारस भन्छन्- आगामी १० वर्षमा टेस्ट राष्ट्र बन्ने

नेपालखबर
माघ ६, २०८० शनिबार १५:३६, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रूपैयाँ सहयोग गरेको छ।

काठमाडौँमा आयोजित एक समारोहबीच एनआरएनएका अध्यक्ष डा. बद्री केसीसहित पदाधिकारीले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको सहयोगको लागि क्यानमार्फत् हौसलास्वरूप १० लाख रुपैयाँ प्रदान गरेका हुन्।

समारोहमा एनआरएनएले टी-२० विश्वकप-२०२४ क्रिकेट प्रतियोगितामा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान पनि गरेको छ। क्यानका सचिव पारस खड्का, व्यवस्थापक एवं पूर्वकप्तान विनोद दास, कार्यकारी सदस्य सुदीप शर्मालगायत क्यान पदाधिकारी कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा क्यानका सचिव एवं पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेटमा गैरआवासीय नेपालीको साथको आवश्यकता रहेको बताए नेपाल विश्वकपमा छनोट भइसकेपछि धेरैले क्यानसँग जोडिन खोजेको र यो कुरालाई एनआरएनले बलियो बनाइदिएको खड्काको भनाइ थियो।

‘यो सहकार्यले विदेशमा हुर्किरहेको नयाँ पुस्ताले नेपालको प्रतिनिधित्व गर्नेछ,’ उनले भने, ‘क्रिकेटका गतिविधिहरूमा साझेदारी बलियो बनाउन विश्वभरका नेपालीलाई जोड्न जरुरी छ।’

अब राष्ट्रिय क्रिकेट मात्र होइन, जिल्ला र स्थानीय संरचनालाई पनि सहयोग गर्नुपर्ने उनको भनाइ थियो। क्रिकेटले देश, खेलाडीका साथै पर्यटन प्रवर्द्धनमा पनि योगदान गरेको उनले बताए ।

उनले भने, ‘यो खेललाई कसरी स्थापित गर्ने भन्नेमा सबैको ध्यान होस्। एनआरएनएको सहकार्यबाट राम्रो नतिजा निकाल्न सक्छौं। यो सहकार्यलाई अर्को चरणमा लैजान क्यानले पनि बोर्ड बैठकबाट छलफल चलाउनेछ। नेपाललाई टेस्ट राष्ट्र बनाउन सबैको सहयोग आवश्यक छ। अबको १० वर्षमा टेस्ट राष्ट्र बनाउने भनेर मात्र हुँदैन। सबैको हातेमालो आवश्यक छ।’

संसारभर बस्ने नेपालीको सहयोग आउने च्यानल बनाउन क्यान तयार रहेको र ट्रस्ट बनाएर जान सकिने भन्दै उनले यसबाट घरेलु क्रिकेटको विकास हुने बताए। महिला क्रिकेट पनि क्यानको प्राथमिकतामा रहेको जानकारी पनि उनले दिए।

एनआरएनए युवा उपाध्यक्ष एवं खेलकुद प्रतिष्ठानका रोशनकुमार थापाले विदेशमा रहेका ७० लाखभन्दा बढी नेपालीको मन क्रिकेटमा हुने र नेपालले जितेमा खुसी हुने बताए। ‘नेपालको प्रतिनिधत्व गरेर जाँदा नेपालले अन्य राष्ट्रलाई जित्यो भन्दा गर्वले छाति फुल्छ,’ उनको भनाइ थियो। 

एनआरएनए अध्यक्ष बद्री केसीले नेपाललाई चिनाउने क्यानसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .