ad ad

खेल


एनएसएल : चितवनको पहिलो जित, विरगञ्ज अंकविहीन

एनएसएल : चितवनको पहिलो जित, विरगञ्ज अंकविहीन

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १९:४०, काठमाडौँ

एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको तेस्रो खेलमा आएर जितको स्वाद लिन पाएको छ। 

यो नै एनएसएलमा चितवनको पहिलो जित हो। यसअघिको पहिलो संस्करणमा जित विहिन बन्दै चितवनले एनएसएल यात्रा सकाएको थियो। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबार भएको खेलमा एफसी चितवनले विरगंज युनाइटेडमाथि २–१ को जित निकालेको हो। 

लिगमा चितवनले पहिलो जित दर्ता गर्दा विरगञ्जले भने अंकको खाता समेत खोल्न सकेको छैन। 

चितवनले यसअघि एक खेलमा बराबरी र एक् खेलमा हारको सामना गर्नु परेको थियो। चितवनले लिगको दोस्रो खेलमा काठमाडौँसँग १–१ को बराबरी गर्दै अंक बाँडेको थियो। पहिलो खेलमा भने पोखरा थन्डर्ससँग १–० को हार बेहोरेको थियो। एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार भोगेको चितवनले अंक तालिकामा ४ अंक जोडेको छ। 

यता विरगञ्जले भने लिगमा लगातार दोस्रो हार व्यहोरेको हो। विरगञ्ज पहिलो खेलमा धनगढी एफसीसँग २–१ ले हार भोगेको थियो। अंकविहीन वीरगन्ज तालिकाको पुछारमा छ। 

खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको चितवनले दोस्रो हाफमा अर्को गोल थप्यो। 

चितवनको जितमा विमल घर्तिमगर र टोरिक जेब्रिनले गोल गरे। विरगञ्जका एकिन्स केल सफरको गोल शान्त्वना बन्न पुग्यो। 

खेलको ६८ औं मिनेटमा टोरिक जेब्रिनको गोलमा चितवनले २–१ को अग्रता लियो। विरगञ्जका डिफेन्डरलाई विट गर्दै टोरिकको प्रहार गोलरक्षक दिप कार्कीले जोगाउन सकेनन्। 

त्यसअघि खेलको ५५ औं मिनेटमा विलियम ओपुकुको कर्नरमा एकिन्स केल सफरको हेडर गोलमा विरगञ्ज खेलमा फर्किएको थियो। 

पहिलो हाफको २९औं मिनेटमा विमल घर्तिमगरको गोलमा चितवनले अग्रता बनाएको हो। 

अष्टे«लियाबाट आइकोनिक खेलाडीका रुपमा एनएसल खेल्न फर्किएका विमलले विरगञ्जका गोलरक्षक दिप कार्कीलाई छलाउँदै अघि बढाएको बलमा विमलले सहज गोल गरेका थिए। 

त्यसअघि २३ औं मिनेटमा टोरिक जेब्रिनको फ्रिकीक प्रहार विरगञ्जका गोलरक्ष्क दिप कार्कीले पञ्च गर्दै बचाए। 

३२ औं मिनेटमा राफिक अमिनुको प्रहार विरगञ्जका गोलरक्षक दिपले बचाए। ४१ औं मिनेटमा चितवनका टोरिक जेब्रिनको कर्नर गोलरक्षक दिपले पन्च गर्दै जोगाए। 

लिगमा भोलि शनिबार दुई खेल हुनेछन्। शनिबारको पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्स भिड्नेछन्। सो खेल भने दिउँसो साढे १ बजे सुरु हुनेछ।

दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसी खेल्नेछन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .