ad ad

खेल


पाँचौँपटक एसियाडमा भलिबल टोली, वरीयता सुधार मुख्य लक्ष्य (भिडिओ/तस्बिर)


लक्ष्मी जि.सी
भदौ ५ , काठमाडौँ

चीनको हाङ्झाउमा हुने १९औँ एसियन गेम्समा पुरुष भलिबल टोली लगातार दोस्रोपटक सहभागी हुँदै छ। यसअघि चारपटक एसियन गेम्स खेले पनि नेपाली टोलीले त्यति ठूलो उपलब्धि भने हासिल गर्न सकेको छैन। नेपालले पहिलोपटक सन् १९७८ मा थाइल्यान्डको बैंककमा भएको ८औँ एसियाडमा सहभागिता जनाएको थियो। त्यसपछि सन् १९८२ मा भारतको दिल्लीमा भएको नवौँ एसियाडमा सहभागी भएको थियो। त्यसयता १९८६ मा दक्षिण कोरियामा भएको १०औँ एसियन गेम्स खेलेको थियो।

त्यसपछि एसियाडमा सहभागी नभएको नेपाली टोली ३२ वर्षपछि इन्डोनेसियाको जकार्तामा भएको १८औँ एसियन गेम्समा सहभागी भएको थियो। त्यतिबेला नेपाली टोली १५औँ वरीयतामा आएको थियो। एसियाडमा पुरुष भलिबलका खेल असोज २ गते सुरु हुनेछन्। एसियाडमा नेपाली टोली एसियाली पावरहाउस इरानसँगै बहराइन रहेको समूह बीमा छ। 

इरान विश्व वरियताको दसौँ तथा एसियाली वरीयताको दोस्रो स्थानमा छ। बहराइन भने विश्व वरीयतामा ७७औँ स्थानमा छ। 

प्रशिक्षणको सुरुवातमा भन्दा अहिले टोलीमा सुधार आइरहेको तर अनुभवका लागि सके विदेशमा, नभए स्वदेशमा विदेशी टोली बोलाएर मैत्रीपूर्ण खेल खेल्न पाए अझै सुधार हुने कप्तान मानबहादुर श्रेष्ठ सुनाउँछन्।

एसियाडका लागि टोलीले दुई महिनादेखि प्रशिक्षण गरिरहेको छ। एसियन गेम्सका लागि अहिले हप्तामा १० सेसनमा टोलीले प्रशिक्षण गरिरहेको छ। एसियाडका लागि टोलीले तीन सेसनमा पावर ट्रेनिङ, चार सेसन टेक्निकल र तीन सेसन कार्डियो तथा स्टेङन्थलाई मिक्सअप गरेर फिजिकल र टेक्निकल प्रशिक्षण भइरहेको छ। माथिल्लो वरीयताका टोलीसँग खेल्दै अघि जाँदा धेरै अनुभव लिन सकिने टोलीका प्रशिक्षक जगदीश भट्ट सुनाउँछन्।

स्पाइकर मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको पुरुष टोली त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा दैनिक प्रशिक्षणका लागि पुग्ने गर्छन्। टोलीलाई विदेशी प्रशिक्षण जोन डे ब्रान्ट र सहायक प्रशिक्षक जगदीश भट्टले प्रशिक्षण दिइरहेका छन्। यसअघिको एसियाडमा टोलीका सदस्य रहेका मानबहादुरको कप्तानीमा पहिलोपटक एसियाड खेल्दै छ। यसलाई मानबहादुरले ठूलो अवसरका रूपमा लिएका छन्। यसअघि नेपाली टोली १५औँ वरीयतामा आएको थियो। तर यसपटक वरीयता सुधार्दै शीर्ष १२ मा रहने योजनामा रहेको कप्तान श्रेष्ठ सुनाउँछन्। त्यसका लागि टोलीले केही सुधार गर्नुपर्ने प्रशस्त ठाउँ छन्। 

यसअघि घरेलु मैदानमा भएको काभा च्यालेन्ज कपमा नेपाली टोलीले ७ खेल खेल्न पाएको थियो। एसियाड अघि अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलका लागि पहल भइरहेपनि अहिले सम्म अनिश्चित छ। 

सहभागिताका लागि मात्रै नै सही ठुला प्रतियोगिता खेल्न जानुअघि अन्तराष्ट्रिय टोलीसँग खेल्न पाउने हो भने खेलाडीको मनोबल अझै बढ्ने थियो। यसका लागि राखेप र भलिबल संघले पहल गर्न ढिला गर्नु हुदैन। 

भिडिओ/तस्बिर : सरोज नेपाल

भदौ ५, २०८० मंगलबार १३:१५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .