खेल


भारतीय मैदानमा एक-अर्कासँग भिड्ने छन् सावित्रा र अनिता

भारतीय मैदानमा एक-अर्कासँग भिड्ने छन् सावित्रा र अनिता

लक्ष्मी जि.सी
माघ ७, २०७६ मंगलबार १२:५६,

गत संस्करण एउटै क्लबबाट मैदान उत्रेका नेपाली खेलाडीद्वय सावित्रा भण्डारी साम्बा र अनिता बस्नेत भारतीय महिला लिग खेल्न मंगलबार भारत प्रस्थान गरेका छन्।

नेपाली राष्ट्रिय महिला टोलीमा प्रभावशाली प्रदर्शन गर्दै आएका स्ट्राइकर साम्बा र मिडफिल्डर अनिताले अघिल्लो संस्करणको आई लिगमा सेथु एफसीलाई च्याम्पियन बनाएका थिए।

तर यसपटक उनीहरु दुई फरक क्लबबाट खेल्दैछन्। संयोग कस्तो भने साम्बा र अनिता पहिलो पटक प्रतिद्वन्द्वीका रुपमा मैदानमा उत्रिन लागेका छन्।

नेपाली राष्ट्रिय टोलीमा त उनीहरु सँगै खेल्छन् नै, मालदिभ्समा भएको फुटसल र गत संस्करणको आई लिगमा पनि यी खेलाडी एउटै क्लबमा थिए। यसपटक उनीहरु आआफ्नो टोलीलाई जिताउने लक्ष्य लिएर भारततर्फ लागेका छन्।

‘दोस्रो पटक पनि हामी आई लिगमा सहभागी हुँदैछौँ, गतवर्ष सेथुलाइ च्याम्पियन बनाएका थियौँ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साम्बाले भनिन्, ‘खेलमा मैले अनितालाई धेरै मिस गर्नेछु। मैदानभित्र र बाहिर हामी छलफल गरेर अगाडि बढ्थ्यौँ। तर, यो पटक फरक क्लबमा छौँ। हाम्रो लक्ष्य आफ्नो टोलीलाई लिग च्याम्पियन बनाउने हो।’

यद्यपि यसले उनीहरुमा अझ उत्साह थपेको छ। ‘हामी एक अर्कालाई धेरै मिस गर्नेछौँ। तैपनि अहिले उत्साहित छौँ,’ उनले थपिन्।

यो संस्करण साम्बाले गोकुलम केरला एफसीलाई रोजेकी छन्। ‘गतवर्षपनि गोकुलमबाट प्रस्ताव आएको थियो तर मैलै सेथुलाई रोजेकी थिएँ,’ नेपालखबरसँगको कुराकानीमा उनले भनिन्, ‘यो संस्करण सेथु र गोकुलमसँगै अन्य क्लबले पनि प्रस्ताव गरेका थिए। तर, म गोकुलम गएँ। दुईपटक एउटै क्लबको प्रस्ताव दुई पटक अस्वीकार गर्न मन लागेन।’

अनिता भने पुरानै क्लब सेथु एफसीमा रहने छिन्। ‘सेतु गत संस्करणको लिग च्याम्पियन पनि हो, त्यसैले पुरानै क्लमा जाने निर्णय गरेँ,’ उनले भनिन्, ‘मैदानबाहिर हामी साथी हौं तर मैदानमा एकअकाविरुद्ध मैदान उत्रनेछौँ। निकै उत्साहित पनि छौँ।’ आईलिगमा एक पटकमा एक जना मात्र विदेशी खेलाडी मैदानमा उत्रन पाउँछन्। त्यसैले पनि फरकफरक क्लब रोजेको उनले बताइन्।

उनीहरुले क्लबसँगका सम्झौताबारे भने खुलाउन चाहेनन्। अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक व्यावसायिक रुपमा खेल्ने साम्बा र अनिता पहिलो नेपाली महिला खेलाडी समेत हुन्। यस अघिपनि अनिता र सावित्राले सँगै माल्दिभ्सको फुटसल लिग खेलेका थिए।

गतवर्षको लिगमा ६ खेलमा पहिलो रोजाइमा मैदान उत्रेकी साम्बाले ३ ह्याट्रिकसहित १५ गोल गर्दै सनसनी मच्चाएकी थिइन्।

आई लिग बिहीबारबाट सुरु हुँदैछ। सेथु एफसी लिगमा छनोट भइसकेको छ भने गोकुलमले छनोट चरणको एक खेल खेल्न बाँकी छ। लिगमा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। राउन्ड रोबिनपछि दुई समूहका शीर्ष दुई टोलीले अन्तिम चारमा स्थान बनाउने छन्।

भारतीय फुटबल महासंघले सन् २०१६ बाट आयोजना गर्दै आएको महिला आई लिगको यो पाँचौ संस्करण हो।

गत संस्करण भारतको लुथियानास्थित गुरु नानक स्टेडियममा भएको फाइनलमा मणिपुर पुलिस स्पोर्टस् क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेथुले उपाधि हात पारेको थियो। फाइनल खेलमा साम्बाले २ गोल गरेकी थिइन्। प्रतियोगितामा अनिताले भने १ गोल गरेकी थिइन्। एक मात्र विदेशी खेलाडी मैदानमा उत्रिन पाउने नियमका कारण उनले धेरै खेल्ने मौका पाएकी थिइनन्।

तर, यसपटक भने बेग्लाबेग्लै क्लबबाट खेल्ने भएकाले उनीहरु दुवैलाई आई लिगमा छाउने अवसर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .