ad ad

खेल


निजी क्षेत्रको लगानीमा देशमै पहिलोपटक क्रिकेट रंगशाला बन्दै, रुपन्देहीमा गरियो शिलान्यास

निजी क्षेत्रको लगानीमा देशमै पहिलोपटक क्रिकेट रंगशाला बन्दै, रुपन्देहीमा गरियो शिलान्यास

तस्बिर: सरोज नेपाल


नेपालखबर
जेठ ३०, २०८० मंगलबार १०:५७, काठमाडौँ

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ४० करोड खर्चमा एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम बन्ने भएको छ। निजी क्षेत्रको लगानीमा नेपालमा पहिलोपटक क्रिकेट स्टेडियम बन्न लागेको हो। 

अस्ट्रेलियामा बसोबाररत विनोद कुँवर र सुदीक्षा गौतमले तिलोत्तमा वडा नम्बर १७ स्थित पूर्व दरखसवामा स्टेडियम बनाउन लागेका हुन्। 

सोमबार हिन्दूधर्मअनुसार स्टेडियमको शिलान्यास गरिएको हो।

एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद र चिफ अप्रेटिङ अफिसर सुदिक्षा गौतमले झण्डै ५ बिघा जग्गा किनेर मैदान निर्माण प्रक्रिया अगाडि बढाएका हुन्। गत दुई साता झन्डै ८ सय ट्रक माटो हालेर जग्गा सम्याउने काम सम्पन्न गरिएको छ। पञ्चवर्षीय योजनामा निर्माण गर्न लागिएको स्टेडियम पहिलो वर्ष ५ हजार दर्शक क्षमताको बनाइने छ। 

प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाइने छ। एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रंगशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आइटी ट्रेनिङ इन्स्टिच्युट हो।  पूर्वक्रिकेटर शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बासडरका रुपमा छन्। होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टरको जिम्मेवारी शक्ति गौचनलाई दिएको छ। रंगशाला कम्पाउन्डमा चार तलाको भवन बनाई १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने लक्ष्य राखिएको छ। 

यूएईमा लामो समय बसेर अबुधाबीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठकले एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा हुनेछन्।

तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाँणले आफूहरुले गर्नुपर्ने सबै सहयोग गर्ने बताए। मैदान निर्माणमा तिलोत्तमा नगरपालिकाको सम्पूर्ण साथ र सहयोग रहन्छ, खाँणले भने। 

त्यस्तै क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले यो एउटा ठूलो उद्देश्य रहेको बताएका छन्।

‘यो एउटा ठूलो उद्देश्य हो। यसमा आफ्ना जिल्ला क्रिकेट संघको पूर्ण साथ रहन्छ यो योजना पूरा पनि हुनेछ’, मल्लले भने। 

यता नेपाली क्रिकेटका पूर्वस्पिनर तथा मैदानका ब्रान्ड एम्बासडर शक्ति गौचनले क्रिकेट खेलको विकासका लागि मैदान निर्माण आफ्नो सपना रहेको बताए।

‘म एकेडेमी सञ्चालन गर्दा सधैं एउटा मैदानको आवश्यकता महसुस गरेको थिए। यो एउटा मेरो सपना थियो। देवदहमा हामीले मैदान निर्माण गर्‍यौँ, आर्थिक कारण गतिशीलता पाउन सकेन। म कर्ममा विश्वास गर्छु। मैदान र एकेडेमी भएमा प्रतिभा धेरै राम्रो हुन्छ’, शक्तिले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .