ad ad

खेल


मेस्सी जान लागेको इन्टर मियामी : जहाँबाट बेकह्याम र हिगुइनले खेलिसकेका छन्

मेस्सी जान लागेको इन्टर मियामी : जहाँबाट बेकह्याम र हिगुइनले खेलिसकेका छन्

नेपालखबर
जेठ २५, २०८० बिहिबार १२:१९, काठमाडौँ

अर्जेन्टिनाका विश्वकप विजेता सुपर स्टार फुटबलर लियोनेल मेस्सी विश्व खेल जगतलाई चकित बनाउँदै अमेरिकी क्लब इन्टर मियामी जाने पक्का भएको छ।

साउदी अरेबियाको अल हिलालले राखेको कीर्तिमानी मूल्यको अनुबन्ध प्रस्तावलाई लत्याउँदै मेस्सी अब फ्रान्सेली क्बल पीएसजीपछि पहिलो पटक युरोपबाहिर व्यवसायिक फुटबल खेल्न जाँदैछन्। 

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेपछि अब मेस्सी पूर्वक्लब बार्सिलोना फर्किने सम्भावना सकिएको छ। फाइनान्सियल फेयर प्लेका कारण बार्साले मेस्सीलाई फेरि भित्र्याउन असफल भएको छ।

मेस्सीले बुधबार मात्रै आफू मेजर सकर लिग टिम इन्टर मियामीमा आवद्ध हुने संकेत गरेका थिए। मेस्सीले यही साता पीएसजीका लागि आफ्नो अन्तिम खेल खेलेका थिए। 

मुन्डो डेपोर्टिभो र स्पोर्ट न्यूजपेपरलाई दिएको एक अन्तर्वार्तामा मेस्सीले आफूले इन्टर मियामी जाने निर्णय लिएको बताएका छन्। तर अझै पनि १०० प्रतिशत निर्णयमा पुगिनसकेको उनले बुधबार बताएका थिए। 

उनले यदि बार्सिलोना फर्किने अवस्था रहँदैन भने आफूले युरोप छाड्ने निर्णय लिएको बताएका थिए। उनले उक्त अन्तरवार्तामा आफ्नो परिवारलाई पनि अधिक समय दिन चाहेको बताएका थिए। 

इन्टर मियामीका एकजना मालिक एवम् इङ्ग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामसँग मेस्सीले यसअघि नै पेरिसमा भेट गरिसकेका थिए। बेकह्यामले दुई पटक एमएलएस कप र एक पटक लस एन्जिल्स ग्यालेक्सीलाई जिताएका थिए। 

मेस्सी आकर्षक मूल्यमा आवद्ध हुन लागेको अर्जेन्टिनाकै स्टार फुटबलर गोन्जालो हिगुइन र इङ्ल्यान्डका डेभिड बेकह्यामले पनि खेलिसकेका छन्।

पीएसजीमा मेस्सी

सन् २०१४ को विश्वकपमा मेस्सीसँगै हिगुइनले अर्जेन्टिनाको अग्रपंक्ति सम्हालेका थिए। हिगुइनले सन् २०२० मा यो क्लबमा आवद्ध भएर २ वर्षसम्म व्यवसायिक फुटबल खेले। यो क्लब छाडेपछि ३५ वर्षीय उनले फुटबलबाट सन्यास लिइसकेका छन्।

उता बेकह्यामले पनि इङ्ल्यान्डपछि अमेरिका पुगेर यही क्लबाट खेलेका थिए। अहिले उनी यही क्लबका मालिक छन्। 

अर्कातिर इन्टर मियामी आवद्ध मेजर लिग सकरको अर्को क्लब न्यूयोर्क कसमसबाट ब्राजिलियन लिजेन्ड पेलेले पनि खेलिसकेका छन्। युरोपमा खेलेपछि धेरै स्टार फुटबलहरुको दोस्रो रोजाइ अमेरिकन फुटबल बनिरहेको छ।

तर पछिल्लो समय साउदी प्रो लिगले पनि स्टार फुटबलहरु तान्न थालेको छ। स्पेनिस क्लब रियल मड्रिड छाडेर करिम बेन्जेमा साउदी प्रो लिग च्याम्पियन अल इत्तिहादमा केही दिनअघि आवद्ध भएका छन्।

विश्वकप विजेता ब्राजिलिन लिजेन्ड पेलेले पनि ३४ वर्षदेखि ३७ वर्षसम्मको उमेरमा न्यूयोर्क कसमसबाट खेलेका थिए। उनले त्यसबेला दुई पटक उपाधि जितेका थिए।

पेले त्यसपछि सन् १९९४ को विश्वकप आयोजनाका लागि अमेरिकाको खेल दूतसमेत भएका थिए। यस्तोमा अर्का विश्व विजेता मेस्सी पनि मेजर लिग सकरमा जाने पक्का भएको हो। 

यसअघि मेस्सी साउदी अरबको क्लब अल हिलाल जाने व्यापक चर्चा थियो। उनको पुरानो क्लब बार्सिलोना पनि स्टार खेलाडीलाई पुन:भित्र्याउने प्रयासमा थियो।  तर अब यस्तो भएन, बुधबारदेखि सार्वजनिक भएका समाचार अनुसार मेस्सीबाट अमेरिकी फुटबल फ्यान खुसी हुन सक्नेछन्। 

यद्यपि बुधबार उत्तर अमेरिकाको फुटबल क्लब इन्टर मियामीले एक भिडिओ फेसबुकसहितका सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। जसबाट फुटबल फ्यानहरुले मेस्सी अब अमेरिकी मेजर सकर लिग खेल्ने अनुमान गरिएको थियो। 

इन्टर मियामीले हालेको उक्त भिडिओमा एक भित्तामा मेस्सी देखिन्थे। तर त्यहीबीच विभिन्न फुटबल अनलाइनहरुले मेस्सीको बार्सिलोना फिर्ताको सम्भावना सकिएको जनाउँदै उनी अब मियामीतिर लागेको समाचार सार्वजनिक गरे। 

अब नयाँ सिजनबाट मेस्सी इन्टर मियामीको जर्सीमा देखिने छन्। तर पनि यअसघि उनका पिताले बार्सिलोना नै फर्किने इच्छा राखेको बताएका थिए। तर आर्थिक समस्याका कारण बार्सिलोनाले लिन नसकेपछि मेस्सी अब इन्टर मियामीसँग जोडिएका छन्। अब यसको औपचारिक घोषणा मात्रै बाँकी छ।

मेस्सी अब यस क्लबका लागि खेलिसकेका कयौँ दिग्गज फुटबलरको पदचाप पछ्याउने छन्। यसअघि पेले, बेकह्याम र थिएरी हेनरी जस्ता फुटबलरले यो अमेरिकन क्लबबाट खेलिसकेका छन्। 

मेस्सीले सन् २०२१ मा पीएसजीसँग २ वर्ष लामो सम्झौता गरेका थिए। उनले १७ वर्ष लामो बार्सिलोनाको सहयात्रालाई टुंग्याउँदै पीएसजीसँग खेल्न पुगेका थिए। 

यही ३० जुनमा पीएसजीसँग मेस्सीको सम्झौता सकिँदैछ। यो सम्झौतालाई अघि बढाउन दुवै पक्ष तयार नभएपछि मेस्सी स्वतन्त्र भएका थिए। त्यहीकारण विश्वविजेता मेस्सी अब स्पेन र साउदी अरेबियाको प्रस्ताव त्यागेर अमेरिका लाग्दैछन्। 

बार्सिलोनामा मेस्सी

करिअर 
मेस्सीले बार्सिलोनाका लागि जम्मा ३५ उपाधि जितेका थिए। जसमा ४ च्यापियन्स लिग, १० स्पेनिश लिग, ७ कोपा डेल रे र ८ स्पेनिश सुपर कपको उपाधि छन्। 

उनले ७७८ खेलमा बार्साका लागि ६७२ गोल गरेका छन्। उनी बार्सिलोनाका लागि सर्वकालीन उच्च गोलकर्ता भएका छन्। 

उनले पीएसजीमा २ सिजन रहँदा जम्मा ३४ गोल गरेका छन्। उनले त्यहाँ लिग वानको उपाधि पनि उचालेका छन्। अब ७ पटक बालोन डी ओर उपाधि जितिसकेका उनले अमेरिकामा फुटबल करिअर कसरी अघि बढाउलान् हेर्न बाँकी छ। 

मियामीले गत साता मात्रै आफ्ना प्रशिक्षक फिल नेभिलेलाई बर्खास्त गरेको थियो। उनको नेतृत्वमा यो सिजन इन्टर मियामीले १० हजार र पाँच खेलमा जित दिलाएका थिए। अघिल्लो सिजनमा यो टिमले प्लेअफका लागि आफ्नो स्थान पक्का गरेको थियो। 

अमेरिकी फुटबल खेल्न पुग्ने मेस्सी मात्रै स्टार फुटबलर होइनन्। युरोपियन फुटबल खेलिसकेपछि दर्जनौँ स्टार फुटबलरले यसअघि अमेरिकी फुटबल खेलिसकेका छन्। 

थिएरी हेनरी, काका, डेभिड बेकह्याम, ज्लाटान इब्राहिमोभिक, वायने रोनी, आन्द्रे पिर्लो, बास्टियन स्वाइन्सटेइगेर, स्टेभेन जेर्राड, डेभिड भिल्ला, फ्रान्क लाम्पार्ड, ग्यारेथ बेल र लोर्नेजो इनसेनले अमेरिकी फुटबल खेलिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .