ad ad

खेल


मेस्सी र रोनाल्डोमध्ये को महान्?

अन्त्य हुँदै मेस्सी–रोनाल्डो स्पर्धाको युग, तथ्यांकको आधारमा को अगाडि?
मेस्सी र रोनाल्डोमध्ये को महान्?

साइमन कुपर
जेठ २०, २०८० शनिबार २१:३३,

शनिबार राति लियोनल मेस्सीले पीएसजीमा आफ्नो अन्तिम खेल खेल्दैछन्, सानो क्लब क्लेरमोन्टविरुद्ध। उनी त्यहाँबाट बिदा हुन अधीरतापूर्वक प्रतीक्षामा रहेका देखिन्छन्। 

उनको करिअरको प्रमुख लक्ष्य गत डिसेम्बरमै पुरा भयो। अर्जेन्टिनाले विश्वकप जित्यो। यसले उनको सारा जाँगर रित्याएको जस्तो देखिन्छ। हालै अनुमति नलिई एक दिनका लागि साउदी अरब गएको भन्दै पीएसजीले उनलाई जरिवाना तिरायो। पेरिसका फुटबल प्रशंसकहरु उनीविरुद्ध हुटिङ गर्छन्। गत सप्ताहन्त उपाधि जितेको उपलक्ष्यमा आयोजित कन्सर्टमा पनि उनी सहभागी भएनन्।

जुन २४ मा उनी ३६ वर्ष लाग्नेछन्। बार्सिलोना फर्केर उनले आफ्नो उच्च तहको करिअरमाका एउटा अन्तिम तह थप्न सक्नेछन्। अथवा उनी साउदी अरबको लिगमा आफ्ना चिरप्रतिद्वन्द्वी ३८ वर्षीय क्रिस्टियानो रोनाल्डोसँग भेट्न पुग्नेछन्। बुढा खेलाडीहरु बिसाउने चौतारी बनेको साउदी अरबको लिगमा ३८ करोड डलर तलब उनको प्रतीक्षामा रहेको चर्चा छ।

मेस्सीको निर्णय जेसुकै होस्, फुटबल इतिहासको सबैभन्दा ठूलो व्यक्तिगत प्रतिद्वन्द्विता अन्त्य हुँदैछ। उनीहरुको लामो करिअरका आधारमा मापन गर्दा मेस्सी र रोनाल्डो फुटबल खेलले देखेको सबैभन्दा उपलब्धिपूर्ण खेलाडी हुन्। उनीहरुको आपसी प्रतिस्पर्धाले दुवैलाई अझ गतिलो खेलाडी बनायो। जुन प्रतिस्पर्धा नहुँदो हो त त्यो सम्भव हुने थिएन। हाम्रो पुस्ताका फुटबल प्रशंसकहरु उनीहरुको खेल कौशल हेर्न पाएर धन्य भए। यहाँ उनीहरुको समग्र करिअरलाई अंकका आधार तुलना गर्ने प्रयास हुनेछ।

मेस्सी र रोनाल्डो एउटै टोलीका सदस्य हुन सक्थे। सन् २००३ मा मेस्सी बार्सिलोनाको युवा एकेडेमीका स्टार थिए। त्यतिबेला क्लबले १८ वर्षका रोनाल्डोलाई स्पोर्टिङ लिस्बनबाट किन्न खोजेको थियो। तर, मागेको मूल्य बार्सिलोनाले नदिएपछि रोनाल्डो म्यान्चेस्टर युनाइटेड गए। ‘एक करोड ८० लाख युरो ज्यादा रकम भयो भन्ने हामीलाई लाग्यो,’ त्यतिबेलाका बार्सिलोनाका कार्यकारी प्रमुख फेरान सोरियानोले पछि स्विकारे। 

मेस्सीभन्दा रोनाल्डो २८ महिना जेठो हुन्। तर, उनीहरु आफ्नो उत्कृष्ट विन्दुमा लगभग एकै पटक पुगे। २००७ मा ब्राजिलका काकाले बालोन डिओर अर्थात् विश्वको उत्कृष्ट फुटबलरको उपाधि जिते। दोस्रो मत पाउने खेलाडी रोनाल्डो थिए भने तेस्रो स्थानमा मेस्सी। दुवै जना पहिलो पटक पोडियममा पुगेका थिए।

एक वर्षपछि रोनाल्डोले बालोन डिओर जिते। उनका एजेन्ट होर्खे मेन्डेसले सानदार बुफे आयोजना गरे। मे २००९ मा मेस्सीले बार्सिलोनालाई च्याम्पियन्स लिग जिताए र आफू शीर्षमा उक्लिए। त्यो वर्ष उनले बालोन डिओर जित्दा उनको परिवारले सस्तो पिज्जा बाँड्यो। 

त्यही बर्खामा यी दुई खेलाडी स्पेनी लिगका प्रत्यक्ष प्रतिस्पर्धी बने। किनभने रियल मड्रिडले रोनाल्डोलाई युनाइटेडबाट किन्यो, मेस्सीको जवाफका रुपमा। त्यसपछिका नौ वर्ष उनीहरुले स्पेनमा कडा प्रतिस्पर्धा गरे। जुन उनीहरुको खेलजीवनको सर्वश्रेष्ठ समय थियो। 

एक महान् खेलाडीलाई अर्को महान् खेलाडीसँग कसरी दाँज्ने? गोलको संख्या गिन्ती गर्नु कच्चा तरिकाजस्तो लाग्छ। तर, फुटबलको ध्येय गोल नै हो। आधुनिक प्रतिरक्षालाई तोड्नु यो खेलको सबैभन्दा महत्वपूर्ण र कठिन काम हो। गोलका हिसाबले रोनाल्डो अलिकति अगाडि छन्। तर, पेनाल्टीका कारण मात्र। विरोधीहरुले ‘पेनाल्डो’ भन्ने गरेका रोनाल्डोले पेनाल्टीमार्फत १५२ गोल गरेका छन्। उनले प्रहार गरेका ८४ प्रतिशत पेनाल्टीलाई गोलमा परिणत गरेका छन्। मेस्सीले भने ७८ प्रतिशत कन्भर्जन रेटका साथ १०८ गोल मात्र गरेका छन्। रोनाल्डोको जम्मा गोल ८०३ छ भने मेस्सीको ७५८।

तर, पेनाल्टीलाई छाड्ने हो भने मेस्सी रोनाल्डोभन्दा थोरैले अगाडि छन्। उनले ६६० गोल गर्दा रोनाल्डोको गोल संख्या ६५७ छ। यद्यपि मेस्सीको करिअर छोटो छ।

गोल सहायतालाई पनि गिन्ती गर्ने हो भने फैसला स्पष्ट हुन्छ– मेस्सी रोनाल्डोभन्दा महान् खेलाडी हुन्। रोनाल्डो मात्र उत्कृष्ट गोलकर्ता हुन्। मेस्सी उत्कृष्ट गोलकर्ताका साथै गज्जबका मौका सर्जक पनि हुन्। मेस्सीले लामो समयदेखि रोनाल्डोभन्दा ज्यादा एसिस्ट गर्दै आएका छन्। तर, उनीहरुबीचको फरक २०१५ देखि अझ बढ्यो। त्यतिबेला रोनाल्डो तीस लागेका थिए र उनको देब्रे घुँडामा समस्या आउने चेतावनी दिइएको थियो। त्यसयता उनले आफूलाई पेनाल्टी एरियामा मात्र घुमिरहने गोलयन्त्रमा बदले।

मेस्सीले जम्मा ३७६ एसिस्ट गर्दा रोनाल्डोले २५५ एसिस्ट गरेका छन्। पेनाल्टी गोलबाहेक गोल र एसिस्टको हिसाब गर्ने हो भने मेस्सीको १०३६ र रोनाल्डोको ९१२ छ।

विगतका अरु सबै महान् खेलाडीभन्दा मेस्सी र रोनाल्डो फरक छन्, शिवाय, १९५० र ६० को दशकमा रियल मड्रिडको नेतृत्व गरेका अल्फ्रेडो डि स्टेफानो। उनीहरुले आफ्नो उत्कृष्ट लयलाई करिब २० वर्ष कायम राखे। यसको मुख्य कारण उनीहरुको करिअर उचित समयमा सुरु भयो। यी दुई खेलाडी उदाउनुअघि फुटबललाई यसरी बदलिएको थियो, जसले सुपरहिरोहरुलाई फाइदा गर्थ्यो।

यसको कारण थियो टेलिभिजन। १९९० को दशकअघि सीमित खेल मात्र टीभीमा प्रत्यक्ष प्रशारण हुन्थ्यो। तुलनात्मक हिसाबले तलब पनि कम थियो। उत्कृष्ट खेलाडीहरु रकस्टारजसरी बाँच्थे। उनीहरुमा आफ्नो करिअरलाई दीर्घकालसम्म टिकाउने सोच हुन्नथ्यो। 

जर्ज बेस्ट जँड्याहा थिए। योहान क्राइफ नबिसाइ चुरोट तान्थे। डिएगो म्याराडोना कोकिनका लती थिए। त्यसपछि रुपर्ट मर्डोक र सिल्भियो बर्लुस्कोनीजस्ता धनाढ्यहरुले दर्शकबाट पैसा लिएर फुटबल देखाउने च्यानलहरु ल्याए। अचानक क्लबहरु टेलिभिजन सामग्री उत्पादक बने। र, स्टार खेलाडी अमूल्य सामग्री बन्न पुगे। क्लबहरुले स्टार खेलाडीहरुसँग नयाँ सम्झौता प्रस्ताव गरे– व्यावसायिक खेलाडीले जसरी खायौ, तालिम गर्‍यौ र खेल्यौ भने तिमीहरुलाई ठूलो धनराशि दिन्छौँ। मेस्सी र रोनाल्डोले त्यो प्रस्ताव स्विकारे।

फुटबलले स्टारहरुलाई जोगाउन आफनो नियम परिवर्तन गर्‍यो। फाउल गर्नेलाई रेफ्रीले दमन गरे, पछाडिबाट जुध्न प्रतिबन्ध लाग्यो। फाउलमा रेफ्रीको आँखा नपरे पनि क्यामराको आँखामा परिन्छ कि भनेर डराउनुपर्ने भयो। मेस्सीले २००५ मा भनेका थिए, ‘व्यावसायिक फुटबलमा केही पनि हुँदैन, किनभने रेफ्री हुन्छन्। स्कुलमा पो हो त साँच्चैको लात्ती खाइने।’ २००८ तिर जब उनी र रोनाल्डो अन्तर्राष्ट्रिय निधिका रुपमा चिनिए, तब उनीहरुलाई थप रक्षा गर्न थालियो।

यहीबेला पोषण र तालिम पनि सुधार भयो। प्राकृतिक रुपमै बढी प्रतिभावान् मेस्सीले भने शरीर कमजोर हुन थालेपछि मात्रै आफ्नो ख्याल राख्न थालेका हुन्। ३० वर्षको उमेरमा उनले भनेका थिए, ‘थुप्रै वर्ष मैले खराब खान्की खाएँ– चकलेट, सफ्ट ड्रिंक, सबथोक। त्यसैले खेल्दाखेल्दै मलाई बान्ता हुन्थ्यो। अहिले म अलि राम्ररी आफ्नो ख्याल राख्न थालेको छु। माछा, मासु र सलाद खान्छु।’ 

रोनाल्डो सुरुदेखि नै घरमै घण्टौँ अभ्यास गर्थे। २०१६ मा उनले आफ्नो यसै कठोर खानपानको नियमलाई अझ कडा बनाए। त्यसपछि उनको तौल ८२ किलोबाट ७९ किलोमा घट्यो र गुमेको गति केही हदसम्म फेरि प्राप्त गरे। 

यति लामो समयसम्म उनीहरु टिकिराख्न सके। त्यसको आंशिक कारण उनीहरुले एकअर्कालाई दिएको उत्प्रेरणा पनि हो। विश्वको एक नम्बर खेलाडी बन्न उनीहरु सदा प्रतिस्पर्धारत रहे। फ्रान्सेली स्ट्राइकर केलियन एम्बाप्पे उत्कृष्ट खेलाडीहरुले आफूलाई एकअर्कासँग दाँजिरहने बताउँछन्। 

‘तपाईं आफूलाई सधैँ खेलको उत्कृष्ट व्यक्तिसँग दाँजिरहनुहुन्छ। जसरी एउटा बेकरले आफूलाई उत्कृष्ट बेकरसँग दाँज्छ। मलाई लाग्छ, मेस्सीले रोनाल्डोलाई राम्रो खेलाडी बनाए र रोनाल्डोले मेस्सीलाई। मेरो लागि उनीहरु इतिहासकै उत्कृष्ट दुई खेलाडी हुन्। तर, एकअर्काबिना उनीहरु १५ वर्षभन्दा लामो समय अरुभन्दा यति अगाडि हुन्थेनन्। सायद कुनै न कुनै विन्दुमा उनीहरुले प्रयास छाडिदिन्थे। तर, एउटै लिगमा उत्तिकै राम्रो खेलाडी हुँदा उत्प्रेरणा अधिकतम रह्यो,’ उनी भन्छन्।

२०१८–१९ को सिजनमा युरोपको टप स्कोररको प्रतिस्पर्धामा एम्बाप्पे आफैँ थिए। तर, मेस्सीले उनलाई उछिनिरहन्थे। ‘म दुई गोल हान्थेँ, उनी तीन गोल गर्थे। म तीन गोल गर्थेँ, उनी चार गोल हान्थे। म यति पागल भएँ कि मैले उस्मान (डेम्बेले, बार्सिलोनाका खेलाडी र एम्बाप्पेका साथी) सँग कुरा पनि गरेँ– ‘सकिँदैन त! के उनी जानीजानी यस्तो गरिराखेका छन्? मैले कति गोल गरेँ भनेर उनी हेर्छन्?’

डेम्बेलेले एम्बाप्पेलाई जवाफ दिए, ‘हेरिरहन्छन् नि तिमीलाई!’

त्यो सिजन मेस्सी युरोपको उच्च गोलकर्ता बने। उनले ३६ गोल हाने, एम्बाप्पेको भन्दा तीन गोल बढी।

मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा टेनिसका रोजर फेडेरर र राफेल नाडालको प्रतिस्पर्धाको समानान्तर छ। जुन लगभग उही समय र उत्तिकै लामो समय चल्यो। सुरुमा फेडेरर अरुको तुलनामा अत्यन्तै राम्रा थिए। त्यसैले आफूजत्तिकै खुबी भएका नाडाल, नोभाक जोकोभिच र कहिलेकाहीँ एन्डी मुर्रेजस्ता खेलाडीको बानी पर्न उनलाई समय लाग्यो। तर उनी भन्छन्, ‘कहिलेकाहीँ आफैँलाई प्रशंसा गरिन्छ। तर, शीर्ष स्थानमा आफू मात्रै छैन भन्ने थाहा पाउँदा म आनन्द महसुस गर्छु। तपाईंलाई प्रतिस्पर्धी आवश्यक पर्छ। मलाई अझ राम्रो खेलाडी बनाएकोमा यी खेलाडीहरुप्रति कृतज्ञ छु।’

यसविपरीत १९८३ मा जब ब्योन बोर्गले २६ वर्षको उमेरमै अनपेक्षित रुपमा टेनिस छाड्ने घोषणा गरे, तब जोन म्याकेनरोले आफू लुटिएको महसुस गरे। म्याकेनरोले भने पनि, ‘हामीले अझै खेलेको भए भन्ने भइरह्यो। मलाई थाहा छ, उनले मलाई राम्रो खेलाडी बनाएका थिए। आशा छ, मैले पनि उनलाई राम्रो बनाएँ। मैले उनलाई खेलमा फर्काउने कोसिस पनि गरेँ।’ 

मेस्सी र रोनाल्डोले भने हप्तैपिच्छे एकअर्कालाई महान् बन्न बाध्य पारिरहे।

तर, चाहँदैमा उत्कृष्ट खेल देख्न पाउनुमा आफ्नै खालको निरसता हुन्छ। लागुऔषध दुर्व्यवसनी म्याराडोनालाई हेर्दा फुटबल खेलाडीले आफूभित्रको मान्छेसँग गरेको संघर्ष पनि देखिन्थ्यो। तर, मेस्सी र रोनाल्डोको स्थिरता यान्त्रिकजस्तो लाग्न पुग्यो। यी दुवैसँग नभएको एउटै कुरा थियो– रोचक व्यक्तित्व। सायद आफूलाई महान् खेलाडी बन्न समर्पित गरेको व्यक्तिका लागि त्यस्तो व्यक्तित्व विकास गर्नु असम्भव थियो।

२००८ देखि २०२१ सम्म प्रदान गरिएको १३ बालोन डिओरमध्ये मेस्सीले सात र रोनाल्डोले पाँच जिते। उनीहरुबाहेकका एक मात्र विजेता रियलका लुका मोर्डिच (२०१८) थिए। उनीहरुभन्दा अगाडिका कुनै पनि खेलाडीले यो उपाधि तीन पटकभन्दा ज्यादा जितेका थिएनन्। २०१९ मा च्याम्पियन्स लिगको ड्रमा रोनाल्डोसँगै बसेका मेसीले भने, ‘यो एकदम सुन्दर प्रतिस्पर्धा थियो, खासगरी उनी म्याड्रिडमा हुँदा।’ सुनिरहेका रोनाल्डोले थपे, ‘म उत्सुक थिएँ। किनभने हामीले यो मञ्चमा १५ वर्षदेखि सेयर गरिरहेका छौँ। उनले र मैले। फुटबलमा कहिल्यै यस्तो भएको छ कि छैन, मलाई थाहा छैन। र, हाम्रो सम्बन्ध पनि राम्रो छ। हालसम्म हामीले सँगै डिनर गरेका छैनौँ। तर, भविष्यमा गर्ने आशा मलाई छ।’ त्यसपछि उनी हाँस्दै छेउ लागे, सायद आफ्नो सुझावको उत्ताउलोपनबाट लज्जित हुँदै।

वास्तवमा उनीहरुले साथमा कहिल्यै डिनर नगर्न सक्छन्। उनीहरुको प्रतिस्पर्धालाई फेडेरर र नाडालको जस्तो प्रेमले गाँसेको छैन। फेडेररको विदाइ खेलमा उनी र नाडाल सँगै रोएका थिए। त्यस्तै महिला टेनिसका क्रिस एभर्ट लोइड र मार्टिना नाव्रातिलोभा पनि राम्रा साथी थिए। जो करिअर समाप्त भएको दशकौँपछि पनि एकअर्कालाई राति अबेर फोन गर्थे। तथापि, मेस्सीले सबैभन्दा बढी सम्मान गर्ने समकालीन खेलाडी रोनाल्डो नै हुन्। तर, यसको मतलब उनी रोनाल्डोलाई आफूसमान ठान्छन् भन्ने होइन।

मेस्सीले हमेसा फुटबल इतिहासमा आफ्नो ठाउँ बनाउने कोसिस गरे। करिअरको सुरुवातमै उनले सचेततापूर्वक आफ्नो जीवनको समग्र उपलब्धिहरुको रचना गर्न थाले। थुप्रै खेलाडी अस्वीकार गर्छन् तर फुटबल व्यक्तिगत खेल पनि हो। मेस्सीले आफ्नो महानतालाई गोल, व्यक्तिगत अवार्ड र टिमले जितेका ट्रफीका आधारमा मापन गरे। उनको करिअरको यो तथ्यांकीय मूल्यांकन उनलाई चित्त बुझ्नेछ। ३० ननाघुन्जेल आफ्ना प्रशिक्षकहरुसँग उनको अव्यक्त सम्झौता थियो– टिमले ५–० ले नै जितिरहे पनि उनलाई सब्स्टिच्युट नगर्ने। आंशिक रुपमा उनी आफ्नो व्यक्तिगत कीर्तिमानका लागि पनि यो गरिरहेका थिए। कहिलेकाहीँ आफ्नै कीर्तिमान तोड्नका लागि। २०१९ मा मेस्सीले आफ्नो ६ सयौँ क्लब गोल गरेपछि फेडेररले भने, ‘यी नसुनिएका संख्या हुन्। अहिले हामी बास्केटबलमा पनि यही भइरहेको देख्छौँ। सारा कीर्तिमान भंग हुँदैछन्। मानिसहरु आफूप्रति सचेत हुँदैछन् र अझ व्यावसायिक बन्न झन् जोड लगाइरहेका छन्।

समग्रमा मेस्सीले ४२ टिम ट्रफी जितेका छन् भने रोनाल्डोले ३४।

उत्कृष्ट खेलाडीहरुको तुलना विगतका महान् खेलाडीहरुसँग पनि हुने गर्छ। रोनाल्डोभन्दा पनि अगाडि मेस्सीको प्रमुख प्रतिद्वन्द्वी सायद म्याराडोना थिए। मेस्सी म्याराडोनाको छायासँग लडिरहेका थिए। क्लबमा त उनले म्यारोडानालाई चाँडै पछि पारे। तर, म्यारोडोनाले जस्तो अर्जेन्टिनालाई विश्वकप जिताउन उनले १६ वर्षदेखि प्रतिस्पर्धा गरिरहेका थिए। गत वर्षको डिसेम्बर १८ मा कतारमा विश्वकप उचालेसँगै उनको करिअर पूर्ण भयो।

पोर्चुगल बाहिरिएपछि रोनाल्डो सो प्रतियोगिताबाट रुँदै घर फर्केका थिए। त्यसैको असरस्वरुप उनी शीर्ष तहको फुटबलबाट पनि बाहिरिए। म्यान्चेस्टर युनाइटेड छाडेर उनी साउदी अरबको अल नासर गए। 

तथापि, कतारलाई रोनाल्डोमाथि मेस्सीको अन्तिम विजयका रुपमा प्रस्तुत गर्नु गलत हुन जान्छ। थोरै संख्यामा खेल भएका थिए। ३७ वर्षको उमेरको खेल हेरेर रोनाल्डोबारे फैसला गर्नु पनि उचित हुँदैन। किनभने विगतका विरलै महान् खेलाडीले यो उमेरमा विश्वकप खेलेका छन्। त्यसमाथि पोर्चुगलमा मात्र एक करोड बासिन्दा छन्, जबकि अर्जेन्टिनामा साढे चार करोड। रोनाल्डोले आफ्नो मुलुकलाई पहिलो ठूलो उपाधि जिताउन सहयोग गरे, युरो २०१६।

तैपनि अर्जेन्टिनाको विजय उल्लेखनीय हो। किनभने युरोपबाहिरका अरु कुनै टोली गत पाँच विश्वकपमा शीर्ष तीनमा समेत पुगेका थिएनन्। पश्चिम युरोपका ६ अलग मुलुक र क्रोएसियाले ती स्थान ओगटेका छन्। यो विश्वकपमा चौथो स्थानमा पुगेको मोरक्कोका समेत प्रायः खेलाडी युरोपमै जन्मेका वा हुर्केका थिए। त्यसैले मेस्सी खास छन्, उनले युरोपका उत्कृष्टलाई हराए।

ऐतिहासिक परिप्रेक्ष्यमा हेर्ने हो भने यी दुई खेलाडी विगतका सबै खेलाडीभन्दा उच्च दर्जाका देखिन्छन्। त्यसो त २०१९ मै खेल्न छाडेको भए पनि यिनै माथि हुने थिए। रोनाल्डोलाई दोस्रो भनेर होच्याउनु बेकार छ। अरु जुनसुकै युगमा भए पनि रोनाल्डो सर्वोच्च स्थानमा हुने थिए। केभिन किगान, एलेन साइमनसन र माइकल ओवेन तीनै जनाले युरोपको उत्कृष्ट खेलाडीका रुपमा बालोन डिओर जितेका थिए। किगान र साइमनसनले युरोपबाहिरको खेलाडी त्यो उपाधिका लागि योग्य नभएका बेला जितेका थिए। ती कुनै पनि खेलाडी रोनाल्डोको स्तरका थिएनन्। तीन पटकका विजेता मिसेल प्लाटिनी समेत सायद त्यो स्तरका थिएनन्।

मेस्सी र रोनाल्डोले खेलेको हरेक खेल विश्वभर प्रत्यक्ष प्रशारण भयो। आंशिक रुपमा यसकारण पनि तिनले आफ्ना सबै समकालीनहरुलाई छायामा पारे। क्यामरुन, जापान वा बुल्गेरियाका उत्कृष्ट खेलाडीहरुले टीभीको जमानाअघि खेलेको भए आआफ्नो मुलुकमा तिनलाई महान् खेलाडीका रुपमा पूजा गरिन्थ्यो। तर, मेस्सी र रोनाल्डोको तुलनामा ती मध्यमस्तरीय देखिए।

तर, एकछिनलाई कल्पना गरौँ, मेस्सी र रोनाल्डो जन्मिएकै छैनन्। त्यसो भएको भए युरोपको सबैभन्दा ठूला लिगहरुको कुरा गर्ने हो भने १९८० यताको उच्च गोलकर्ता रोबर्ट लेवान्डोस्की (पोल्यान्ड र बार्सिलोना) तथा करिम बेन्जेमा (फ्रान्स र रियल मड्रिड) हुने थिए।

उनीहरुको पेनाल्टीबाहेकको गोलको ढाँचा हेर्दा लेवान्डोस्की र बेन्जेमा विगतका महान् खेलाडीहरुभन्दा राम्रा देखिँदैनन्। तर, उनीहरु लामो समय खेल्न सफल भए। दुवै जना अझै गज्जबले गोल गरिरहेका छन्। लेवान्डोस्की ३४ र बेन्जिमा ३५ पुगे। दुवैले आफ्नो निकै राम्रो ख्याल राखेका छन्। उनीहरुको घरमै जिम छ, लेवान्डोस्कीको त सुत्न सिकाउने प्रशिक्षक पनि छन्। उनी खाना पनि उल्टो क्रममा अर्थात् डिजर्टबाट सुरु गर्छन्।

बेन्जेमाले गतवर्षको बालोन डिओर जिते। मेस्सी र रोनाल्डोको युगमा यो निकै ठूलो उपलब्धि हो। यसको अर्थ के हो भने हाल ३५ मुनिका कुनै पनि खेलाडीले यो उपाधि जितेका छैनन्। यो क्रम यस वर्ष पनि जारी रहने सम्भावना छ। किनभने गत वर्ष विश्वकप जितेका मेस्सीले आठौँ बालोन डिओर जित्ने अपेक्षा गरिएको छ। त्यसैले नयाँ पुस्ताको हातमा सम्भवतः २०२४ मा मात्रै यो उपाधि पुग्नेछ।

यसका दुई दाबेदारमा २४ वर्षीय एम्बाप्पे (पीएसजी र फ्रान्स) र २२ वर्षीय एर्लिङ हाल्यान्ड (म्यान्चेस्टर सिटी र नर्वे) छन्। दुवैले रोनाल्डो र मेस्सीलाई त्यही उमेरमा सजिलै पछि पारेका छन्। मेस्सी र रोनाल्डोले आफ्नो प्रतिभालाई गोलमा परिणत गर्न केही समय लगाएका थिए। तथापि एम्बाप्पेलाई थाहा छ, उनी यी दुईजति राम्रा खेलाडी होइनन्।

‘यो कुरा थाहा पाउने म मात्र होइन,’ उनी हाँस्दै भन्छन्, ‘सबैलाई थाहा छ। उनीहरुभन्दा राम्रो गर्छु भन्नु भनेको अंहकार वा निश्चयभन्दा पनि परको कुरा हो। त्यो सचेतनाको कमी हो। यी खेलाडीहरु अतुलनीय छन्। तिनले तथ्यांकका सारा नियम भत्काएका छन्।’

तथापि, मेस्सी र रोनाल्डोको प्रतिस्पर्धालाई एम्बाप्पे र हाल्यान्डको प्रतिस्पर्धाले टक्कर दिन सक्छ। यदि उनीहरुले यही लय आउँदो १५ वर्ष कायम राखे भने। तर, युवा गोलकर्ताहरुको सूची नियाल्दै जाँदा एक खेलाडीको नाम अलग देखिन्छः ब्राजिली रोनाल्डो नाजारियो। हो, उनले सुरुवाती गोल ब्राजिल र नेदरल्यान्ड्समा गरेका थिए। तर, १९९० को दशकमा ती क्लब पनि बलियै थिए, आजको फ्रान्सेली लिगजत्तिकै, जहाँ एम्बाप्पे गोल गर्छन्।

१९९७ मा रोनाल्डो नाजारियो २१ वर्षको उमेरमा बालोन डिओर जित्ने सबैभन्दा कान्छो खेलाडी बने। तर, त्यसपछि खाना र जमघटप्रतिको उनको प्रेमको कारण हुनसक्छ, उनी कमजोर भए र अनेक पटक घाइते भए। त्यसपछि पनि तन्दुरुस्त हुँदा र ज्यादा मोटो नहुँदा उनी उत्कृष्ट थिए, जुन विश्वकप २००२ मा देखियो। घाइते नभई आजको व्यावसायिक युगमा खेलेको भए उनी कतै मेस्सीभन्दा उत्कृष्ट त हुँदैनथे?

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .