‘अब आउने खेलाडीलाई मेरो गोल मोटिभेसन बनोस् र यो कीर्तिमान तोडोस् भन्ने चाहन्छु।’ सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबविरुद्धको खेलमार्फत सयौं गोल पुरा गरेका च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने, ‘लिगमा मेरो लक्ष्य १ सय गोल हैन, अझै गोल गर्ने हो र क्लवलाई अझै माथि पुर्याउने हो।’
अरु गोल जस्तै सयौं गोललाई पनि सामान्य लिएको उल्लेख गर्दै उनले थपे, ‘कुनै बेला सुरेन्द्र तामाङ दाईहरुले बनाएको ५० गोल पुरा गर्ने बेलामा म निकै उत्साहित थिए। उहाँहरुले सोध्दा अब १०० गोल गर्छु भन्थे। तर अहिले त्यस्तो केही लागेको थिएन।’
उनले पुराना दिन सम्झँदै भने,‘५० गोल पुरा गर्दा उत्साहित थिएँ तर १ सय गोलमा त्यस्तो छैन। सय गोलले इतिहास बनाए जस्तो पनि लाग्दैन क्लबका लागि नै सोचिरहेको छु।’

ए डिभिजन लिगमा सय गोल पुरा गर्ने उनी पहिलो खेलाडी बनेका छन्। पुलिसविरुद्ध १–० ले पछि परेको खेलको १८ औं मिनेटमा उनले बराबरी गोल गरेका थिए। त्यहि उनको खेल जीवनको कोसेढुंगा बन्यो। हेमन्त थापामगरको फ्रि किकलाई विपक्षी गोलकिपर शत्रुधन चौधरीले नियन्त्रणमा लिन नसकेपछि नजिक रहेका सन्तोषले वान टचमा जाली चुमाउँदै किर्तिमान रचेका हुन्।
खेलको पाँचौं मिनेटमा नै निरकुमार राईको गोलबाट पुलिसले अग्रता बनाएको खेलमा सन्तोषले बराबरी गोल फर्काएका थिए। खेलको ४९ औं मिनेटमा सन्तोषले अर्को बराबरी गोल गरे। त्यो उनको १ सय एकौं गोल थियो। त्यसअघि सुमन लामाको गोलबाट पुलिसले ४१ औं मिनेटमा दोस्रो पटक अग्रता लिइसकेको थियो। खेलको ९० मिनेटपछि १०० लेखिएको जर्सी लगाएका उनलाई च्यासलका अन्य खेलाडीहरुले उचालेर बधाई दिएका थिए।

खेलपछि नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापाले भने, ‘भाग्य नै भन्नुपर्छ होला, उनले सय गोल पुरा गर्न हाम्रै खेल कुरे जस्तोपनि लाग्दैछ। नेपाली खेलाडीका लागि यो ठुलो उपलब्धी हो।’
९६ गोलबाट लिगको सुरुवात गरेका कप्तान सन्तोषले सुरुवातको २ खेलमा ३ गोल गर्दै यो संख्यालाई ९९ पुर्याएका थिए। पहिलो खेलमा संकटाविरुद्ध २ र दोस्रोमा मछिन्द्रविरुद्ध १ गोल गरेका उनले त्यसयताका दुई खेलमा गोल गर्न सकेका थिएनन्। २ खेलमा च्यासल पराजित भएपछि धेरैले उनलाई ‘नर्भस ९९’ अर्थात् दबाबका कारण क्लबकै प्रदर्शनमा असर परेको अनुमान लगाएका थिए।
लिगमा ५० गोल पुरा गर्नेमा सन्तोषसँगै राष्ट्रिय टोलीका पूर्व खेलाडी बसन्त थापा, रमेश बुढाथोकी, सुरेन्द्र तामाङ र जेविश पाण्डे छन्। सन्तोषले स्कुले जीवनदेखि ‘ए’ डिभिजन लिग खेल्न थालेका हुन्। २०६० असार १० गते संकटाविरुद्ध ३–२ ले पराजित भएको लिगको खेलमा सन्तोषले ‘डेब्यु’ गोल गरेका थिए। ‘आज बिहान उठ्दा पनि टोलीलाई कसरी जिताउने भन्ने नै सोचेको थिएँ र ९० मिनेटको सिठ्ठी बजेपछि ला खेल त बराबरी भयो भन्ने लाग्यो’ पुलिसको खेलपछि उनले भने। जारी लिगमै मछिन्द्रसँगको गोल भने सम्झनलायक रहेको उनले सुनाए ।
दाजुभाई एउटै क्लबमा
सन्तोष र उनका दाजु बालगोपाल एउटै क्लवमा छन्। दाजु प्रशिक्षक र भाई कप्तान। २०६० मा सँगै क्लब करियर सुरु गरेका भाइको खेलबाट दाई पनि खुसी छन्। सन्तोषबारे उनका दाजु तथा च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले नम्बर ९ मा स्ट्राइकरमा हुनुपर्ने क्षमता अहिले सन्तोष बाहेकको नेपाली खेलाडी नरहेको दावी गर्दै आएका छन्।
उनले भने,‘परिवारको सदस्य भएको नाताले निकै खुसी लागेको छ। उसलाई त्यस्तो केही नलागे पनि उसको १ सय गोलबाट हामी निकै उत्साहित छौं। यो कीर्तिमान पूरा गर्न अन्य खेलाडीले धेरै मिहिनेत गनुपर्छ। सन्तोषलाई पनि १६ वर्ष लाग्यो यो कीर्तिमान पूरा गर्न भने अन्य खेलाडीलाई गाह्रो छ।
थ्रीस्टारबाट सन्ताेषले डेब्यु गर्दा र गोल गर्दा म बेन्चमा थिए। भाईले कीर्तिमान बनाउँदा खुसी छु। सन्तोषलाई त्यस्तो केही नलाग्न सक्छ तर हाम्रो परिवार र नेपाली फुटबलको लागि निकै ठूलो कुरा हो। नेपाली फुटबलमा स्ट्राइकरको निकै कमी छ क्लबहरुले पनि विदेशी खेलाडी नै खोजिरहेको छन्, त्यसैले उसको यो कीर्तिमान तोडिन निकै समय लाग्न सक्छ।’
लिगमा सन्तोषले गरेका गोलहरु
२०६०ः थ्रीस्टार ६ गोल
२०६१ः एपीएफ ६ गोल
२०६२ः थ्रीस्टार ९ गोल
२०६३ः थ्रीस्टार ११ गोल
२०६६ः ६७ थ्रीस्टार १९
२०६८ः मनाङ १६ गोल
२०६९ः थ्रीस्टार १७ गोल
२०७०ः थ्रीस्टार ९ गोल
२०७५ः च्यासल ३ गोल
२०७६ः च्यासल अहिलेसम्म ५ गोल

प्रतिक्रिया