खेल


एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र कुवेत भिड्ने

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र कुवेत भिड्ने

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १७:१५, काठमाडौँ

घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि कुवेतसँग खेल्ने भएको छ। 

नेपाल र कुवेत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्नेछन्। सोही समयमा यूएई र ओमान मुलपानी मैदानमा भिड्नेछन्। दुवै सेमिफाइनल खेल शनिबार हुनेछ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारलाई ६८ रनले पराजित गरेको नेपाल समूह ए को विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। 

नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रन बनाउँदा अलआउट भयो। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा समेटिएको थियो।  

समूह ए बाट नेपाल समूह विजेता र ओमान समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरे। 

अपराजित रुपमा सेमिफाइनल पुगेको नेपालले चार खेलबाट सात अंक बनाएको छ। ओमानले तिन खेलमा जित र एक खेलमा हार भोग्दै ६ अंकमा समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। 

आजै भएको समूह बी को खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै समूह उपविजेताको रुपमा नेपालसँगको भेट पक्का गरेको हो। कुवेतसँग पराजित भएसँगै हङकङको सेमिफाइनल खेल्ने सपना अधुरै रहेको छ। 

कुवेतले दिएको २ सय ७३ रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४२ रन मात्र बनाउन सक्यो। 

मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रनको योगफल तयार पारेको थियो। 

समूह बी बाट यूएई समूह विजेता र कुवेत समूह उपविजेताको रुपमा अन्तिम ४ मा पुगेको हो। 

प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ। शीर्ष तीनमा रहने टोलीले भने एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .